बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एक करोड ७७ लाख ३३ हजार बढी मतदान गर्न योग्य : निर्वाचन आयोग

सोमबार, १४ चैत २०७८, १७ : १०
सोमबार, १४ चैत २०७८

आगामी वैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन् । निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।

जसअनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाताहरू रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरु तोकिएको र उनीहरुको नामावली चैत्र १३ गतेको गोरखापत्रमा प्रकाशित गरिएको पनि बताए । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरुलाई निवेदन पेश गर्न पनि आह्वान गरेको छ ।

विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्रै निर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिइने पनि आयोगका प्रवक्ता पौडेलले स्पष्ट पारे । त्यसका लागि इच्छुक संस्थाहरुले १५ दिन भित्र विद्युतीय माध्यामबाट निवेदन दिन सक्ने व्यवस्था मिलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आयोगका प्रवक्ता पौडेलले भने- , ‘स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन पाउने अन्तिम मतदाता नामावली आयोगबाट मिति २०७८ चैत्र १३ गते स्विकृत भएको छ । सो बमोजिम ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी जम्मा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका छन । यसैगरी कूल १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र कायम भएका छन । स्थानीय तह निर्वाचन प्रयोजनका लागि नियुक्त हुने ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतको सूची मिति २०७८ चैत्र १३ गतेको गोरखापत्रमार्फत सार्वजनिक गरिसकिएको छ ।’

उनले थप भने-‘ स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनको पर्यवेक्षकका भाग लिन इच्छुक संस्थाहरुलाई निवेदन पेश गर्न चैत्र १२ र १३ गते सूचना आह्वान गरिएको छ । विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्रै पर्यवेक्षण गर्न अनुमति दिइनेछ । इच्छुक राष्ट्रिय संस्थाहरुले १५ दिन भित्र विद्युतीय माध्यामबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक पर्ने सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छपाई गर्ने गरी आयोगबाट मिति चैत्र १२ मा निर्णय भएको छ । सो बमोजिम उक्त केन्द्रलाई छपाई मेसिनलगायत पूर्वाधार तयारी हालतमा राख्न निर्देशन दिइएको छ । टोल फ्रि नम्बर ११०२ सहितको कल सेन्टर सञ्चालन गर्ने प्रयोजनका लागि आज मिति २०७८ चैत्र १४ गते उक्त कार्यमा खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम दिने कार्य सम्पन्न भएको छ । उक्त कल सेन्टर मिति २०७८ चैत्र १५ बाट संचालनमा आउनेछ ।’

यसैबीच, निर्वाचन आयोग, नेपालले मतपत्र छपाइका लागि मेसिनलगायतका सामग्रीहरु तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको पनि जनाएको छ । प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिहरूलाई आज (सोमबार) नै अभिमुखीकरण तालिम दिइएको बताए । निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप