बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई शर्माले यसरी सुनाए एमालेभन्दा काँग्रेस बलियो रहेको हिसाब

काँग्रेसले ४२१ पालिका प्रमुख सहजै जित्ने विश्वप्रकाशको विश्लेषण
सोमबार, १४ चैत २०७८, २१ : ०४
सोमबार, १४ चैत २०७८

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेभन्दा काँग्रेस बलियो रहेको हिसाब सुनाएका छन् । मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले एमालेभन्दा काँग्रेस बलिया रहेको डाटा प्रस्तुत गरेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमा एमाले बलियो भएको बताएपछि शर्माले आज बैठकमै ०७४ को निर्वाचनको डाटा प्रस्तुत गरेका थिए ।

‘सभापतिज्यू एमाले कसरी बलियो छ ? कुन तर्क र तथ्यले बलियो छ ?’ देउवालाई शर्माको प्रश्न थियो । त्यसपछि शर्माले बैठकमा ०७४ को निर्वाचनको गणित सुनाए । शर्माका अनुसार गत निर्वाचनमा एमालेले २९३ वटा स्थानीय तहमा प्रमुख जितेको थियो । काँग्रेसले एमालेको भन्दा २७ मात्र कम अर्थात २६६ स्थानीय तहको प्रमुख पद जितेको थियो ।

आसन्न स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मात्र भोट बढाउन सकेको अवस्थामा थप १५५ वटा पालिकामा प्रमुख जित्न सक्ने शर्माको हिसाब छ । त्यो अवस्थाका काँग्रेसले आसन्न निर्वाचनमा ४२१ पालिका प्रमुख जित्ने महामन्त्री शर्माको विश्लेषण बैठकमा सुनाए ।

यस्तै शर्माकाअनुसार ०७४ को निर्वाचन परिणाममा दोस्रो मत पाउनेमा एमालेभन्दा काँग्रेस बलियो छ । गत निर्वाचनमा काँग्रेस ३१९ वटा स्थानीय तहमा दोस्रो भएको थियो  भने एमाले २४५ मा दोस्रो भएको थियो । ७४ वटा स्थानीय तहमा एमालेभन्दा काँग्रेस अगाडि छ ।

उनले भने, ‘हामी एमालेभन्दा ७४ स्थानमा दोस्रो भएका छौं । दोस्रो हुनु भनेको पहिलो हुन नजिक हो । त्यसैले गणितीय रुपमा नेकपा एमालेभन्दा काँग्रेस बलियो छ ।’ २९३ पालिका प्रमुख जित्दाको एमाले र अहिलेको एमालेको अवस्था उस्तै नरहेको शर्माको भनाइ छ ।

‘२९३ पालिका प्रमुख एमालेले जित्दै गर्दा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि हुनुहुन्थ्यो । आज कहाँ हुनुहुन्छ उहाँहरु ?’ शर्माको प्रश्न छ, ‘दुई पूर्वप्रधानमन्त्री र एक पूर्व उपप्रधानमन्त्री त्यो २९३ प्रमुख जितेको पार्टीमा  हुनुहुन्न । अनि कसरी एमाले बलियो भयो ?’

यस्तै एमाले बलियो हुँदाको परिणाम के भयो भन्ने हिसाब किताब जनताले गरिरहेको शर्माले बताए । ‘एमाले बलियो हुँदा के भयो तीन वर्ष ? सत्तामा गइसकेपछि संविधान विरोधी एकपछि अर्को कर्म भएको छ । एमाले पहिलेको भन्दा खुइलीसक्यो’ उनी भन्छन् ।

एमाले पहिलेकै रुपमा छ भन्ने केपी ओलीको भाषणको भ्रममा पर्न नहुने शर्माले बताए । ‘हामीले चुनावी तालमेल गरेर जाने हो । तालमेल गरौं’ उनले भने, ‘तर तालमेल गर्दा एमाले बलियो छ, त्यसैले तालमेल हुन्छ भन्ने विल्कुल होइन । एमाले बलियो छैन, बलियोको भ्रम दिन एमाले सफल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप