शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हातहतियार बुझाउन प्रशासनको आग्रह, लमजुङमा १ हजार १ सय हतियार दर्ता

शुक्रबार, १८ चैत २०७८, ०९ : ४६
शुक्रबार, १८ चैत २०७८

स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्येनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । ३० वैशाखमा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले चैत्र मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरिएको छ । इजाजत प्राप्त व्यक्तिले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्तर्गत कारबाही हुने सूचनामा उल्लेख छ ।

स्थानीय तह निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता अपनाएको सुरक्षा समिति लमजुङले जनाएको छ । स्थानिय तह निर्वाचन नजिकिँदै गर्दा सम्बन्धित निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

विभिन्न समूहले गर्ने निर्वाचन विरोधी गतिविधिप्रति पूर्व सतर्कता अपनाउन समग्र जिल्लाको सुरक्षा व्यवस्था विशेष योजनासहित कडाइ गरिने सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ हजार १ सयभन्दा बढी हतियार दर्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप