बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् एकदिवसीय र त्रिदेशीय सिरिजमा नेपालले बनाएका नयाँ कीर्तिमान

शुक्रबार, १८ चैत २०७८, १६ : ३७
शुक्रबार, १८ चैत २०७८

घरेलु मैदानमा नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग एकदिवसीय क्रिकेट खेल्यो । पीएनजीले नेपाल विरुद्धको सिरिज क्लिन स्विप गर्‍यो । नेपाल सिरिजमा पराजित भएपनि नेपाली खेलाडीले केही नयाँ कीर्तिमान बनाउन सफल भए । यता त्रिदेशीय टी–ट्वान्टी सिरिजमा पनि नेपालले धेरै कीर्तिमान बनाउन सफल भयो । नेपाली खेलाडीले पनि आफ्नो नयाँ कीर्तिमान बनाउन सफल भए । नेपाल त्रिदेशीय सिरिजको फाइनलमा पुगि सकेको छ । नेपालले अब उपाधिका लागि मलेसियासँग खेल्नेछ । घरेलु मैदानमा नेपाली टोली र खेलाडीले बनाएका केही महत्त्वपूर्ण कीर्तिमानको हामी चर्चा गर्नेछौं । 

सन्दीप बने कम इनिङ्समा ५० विकेट लिने विश्वकै दोस्रो बलर

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दोस्रो एकदिवसीय खेलमा १३ औं ओभरको पहिलो बलमा चाल्र्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गर्दै उक्त सफलता हात पारेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरे ।

एक दिवसीयमा विश्व क्रिकेट इतिहासमा सर्वाधिक छिटो ५० विकेट लिने रेकर्ड श्रीलंकाका पूर्व क्रिकेटर स्पिनर अजान्था डन्डिसनको छ । उनले १९ खेलमा ५० विकेट लिएका थिए । उनले २००९ मा जिम्बाबेविरुद्ध उक्त सफलता हात पारेका थिए । सन्दीपले भारतीय पूर्व तीव्र गतिका बलर अजित अगरकरलाई पछि पारेका हुन् ।​ अगरकरले २३ खेलमा ५० विकेट पूरा गरेका थिए । 

कुशलद्वारा विश्व कीर्तिमान बराबर
नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बराबर गरेका छन् । कुशल त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत सोमबार भएको पपुवा न्युगिनी विरुद्धको खेलमा २० रन जोड्दै कुशल आउट भए । त्यसअघि सुरुवाती २ रन जोड्दा कुशलले १२ टी–टवान्टी अन्तर्राष्ट्रिय इनिङमा करिअरको ५ सय रन पूरा गरेका थिए ।

कुशलले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ५ सय रन पूरा गर्ने कीर्तिमान बराबर गरेका हुन् । कुशलले इङ्ल्यान्डका ब्याट्सम्यान डेविड मलान र अफगानिस्तानका हज्रतुल्लाह जजाईसँगको विश्व कीर्तिमान बराबर गरेका हुन् । कुशल अघि टी–ट्वान्टी अन्तर्राष्ट्रिय मलान र जजाईले पनि सुरुवाती १२ इनिङमा ५ सय रन पूरा गरेका थिए ।

करण टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा पाँच विकेट लिने पहिलो खेलाडी 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी नेपालबाट टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक र पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन् ।  पपुवा न्युगिनी (पीएनजी)लाई त्रिकोणात्मक सिरिजमा ३७ रनले नेपालले हराएको खेलमा करणले दुई कीर्तिमान आफ्नो नाममा गरेका हुन् । 

२०४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९ ओभर ४ बलमा १६६ रन बनाउँदै अल आउट भयो । करणले २० औं ओभरमा ह्याट्रिक र पाँच विकेट लिँदै दुई कीर्तिमान बनाए । यसअघि नेपालबाट टी–ट्वान्टी अन्तर्राष्ट्रिय कुनै पनि खेलाडीले ह्याट्रिक लिन सकेका थिएनन् । पाँच विकेट पनि लिन सकेका थिएनन् । करण टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको ५०औं खेलमा ५० विकेट पूरा गर्ने खेलाडी पनि हुन् ।

दिपेन्द्र टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी 

दीपेन्द्रसिंह ऐरीले नेपालबाट टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान बनाएका छन् । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सिरिजमा मलेसियाविरुद्ध २१ रन बनाउनेक्रममा उनले नयाँ कीर्तिमान बनाएका हुन् । 
उनले पूर्व कप्तान पारस खड्कालाई पछि छोड्दै टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । दीपेन्द्रले ३७ खेलमा ४ अर्धशतक ८६९ रन बनाएका छन् । यसअघि नेपालबाट टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पारसले ३३ खेलमा ७९९ रन बनाएका थिए । 

दिपेन्द्र र आदिलको नयाँ कीर्तिमान 
राष्ट्रिय टोलीका ब्याट्म्यान दिपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नयाँ कीर्तिमान बनाए ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनायो । 

तीव्र गतिका बलर नोसैना पोकनालाई १९ औं ओभरमा नेपालले कुल ३२ रन जोडेको थियो । जुन नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकै ओभरमा बनाएको सर्वाधिक रन हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियको एकै ओभरमा बनाएको चौथो धेरै रन हो ।

एकै ओभरमा ६ छक्का इङ्ल्यान्डका स्टुअर्ट ब्रोड र श्रीलंकाका अकिला धनन्जयले खर्चिएका छन् । सन् २००७ को टी–ट्वान्टी विश्वकपमा इङ्ल्यान्डका तीव्र गतिका बलर ब्रोडलाई भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले २०२१ मा स्पिनर अकिला धनन्जयलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

२०२० मा भारतीय शिवम दुबेले न्युजिल्यान्डविरुद्ध एकै ओभरमा ३४ रन खर्चेका थिए । दक्षिण अफ्रिका वेन पार्नेल, अफगानिस्तानका इजातुल्लाह दलतजजाई, भारतीय स्टुर्ट बिन्नी र नेदरल्यान्ड्सका म्याक्स ओडआउडले एकै ओभरमा ३२–३२ रन खर्चेका थिए । 

रोहितद्वारा पारसको कीर्तिमान भंग 
रोहित नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च व्यक्तिगत स्कोर बनाउने खेलाडी बनेका छन् । रोहितले पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको इनिङ खेले । यसअघि नेपालका लागि पारस खड्काले ११५ रन बनाएका थिए । उनले एकदिवसीय क्रिकेटमा आफ्नो शतक प्रहार गरेका थिए । 

सन् २०१२ मा ओपनर सुवास खकुरेलले १ सय १५ रनको इनिङ खेलेका थिए । रोहितले ९१ बलमा आफ्नो करिअरको पहिलो एकदिवसीय शतक प्रहार गरे । नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । 

उच्च साझेदारी, उच्च योगफल

रोहित र आरिफले पपुवा न्युगिनीविरुद्ध पाँचौं विकेटका लागि १०४ रनको शतकीय साझेदारी गरेका थिए । जुन एक दिवसीयमा नेपालको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि आइसिसी विश्वकप लिग–२ मा रोहित र आरिफले नै पाँचौं विकेटका लागि नेपाली एक दिवसीयको पहिलो शतकीय साझेदारी गरेका थिए ।

त्यस्तै नेपालले एकदिवसीय क्रिकेटमा २८६ रन बनाएको छ । नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालको ठूलो योगफल युएईविरुद्ध २०१९ मा तेस्रो एकदिवसीय खेलमा २५५ रन बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप