बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा भागबण्डा मिलाउन सत्तापक्षलाई सकस

बिहीबार, २४ चैत २०७८, १० : ०७
बिहीबार, २४ चैत २०७८

स्थानीय निर्वाचन नजिकिँदै गर्दा  कपिलवस्तुमा गठबन्धन दलहरूभित्र आ–आफ्नो दाबी गर्ने क्रम बढेको छ  । केन्द्रले ५ दलीय गठबन्धन गर्ने  निर्देशन दिए पनि कपिलवस्तुका केही स्थानीय तहमा आ–आफ्नो ढिपीका कारणले गठबन्धन सहज ढङ्गले बन्न सकिरहेको छैन ।

जिल्लाका १० स्थानीय तहमध्ये ६ वटा नगरपालिका मुख्यतः नेपाली काँग्रेसको दाबी रहेको छ । नेपाली काँग्रेसले विगतमा जितेका र जनाधार भएका ठाउँ नछाड्ने मनसाय देखाएको छ । यद्यपि यो विषयमा औपचारिक रूपमा टुङ्ग्याउनका लागि अझै समय लाग्ने नेताहरू बताउँछन् ।

पाँच दलीय गठबन्धनको जिल्ला संयन्त्रमा नेपाली काँग्रेसका सभापति नै रहेका छन् । संयन्त्रको निर्देशनअनुसार स्थानीय तहमा पनि संयन्त्र गठन गरी गठबन्धनको अवस्था बुझ्ने र मिलाएर ल्याउनको लागि काम भइरहेको नेताहरूले बताएका छन् ।

नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कमाल मुसलमानले  जिल्ला पालिकास्तरमा छलफलका लागि पठाएको र त्यसका आधारमा २५ गते बैठक बसेर टुङ्ग्याउने रातोपाटीलाई  बताए ।

काँग्रेसले विगतमा सबैभन्दा धेरै स्थानीय तह जितेको थियो । कपिलवस्तुमा अहिले पनि काँग्रेसले ५ वटा नै नगरपालिको मेयरमा दाबी गरेको छ । यहाँ एमालेसँग भिड्ने प्रमुख दाबेदार नेपाली काँग्रेस नै हो ।

अर्कोतिर  काँग्रेसले जितेका ठाउँमा पनि गठबन्धनभित्रका दलहरूले पनि दाबी गरेका छन् भने कतिपयमा त्रिपक्षीय दाबीसमेत रहेको देखिन्छ । जसले गठबन्धनभित्रको ढिपी आ– आफ्नो जस्तै देखिएको जिल्लास्तरका नेताहरू बताउँछन् ।

कपिलवस्तु नगरपालिका

जिल्लाको पुरानो नगरपालिका रहेको कपिलवस्तुमा नेपाली काँग्रेस प्रमुख शक्ति रहेको हो । अहिले पनि नेपाली काँग्रेसका मेयर छन् । यहाँ स्वाभाविक रूपमा नेपाली काँग्रेसले दाबी गठबन्धनभित्र गर्नेछ । गठबन्धनभित्र नै जसपाले यहाँ आफ्नो दाबी गरेको छ । गत  निर्वाचनमा जसपा नेपाली काँग्रेससँग थोरै मतको अन्तरले मात्र पराजित भएको थियो ।

यदि गठबन्धन मिलेमा यहाँ एमाले लाई सहज रूपमा पराजित गर्न सक्ने जसपाका केन्द्रीय सदस्य नारायण खनालले बताए । यहाँ एमालेसँग प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र जसपाका धेरै नेताहरू मेयरका आकाङ्क्षी देखिएका छन् ।

कृष्णनगर नगरपालिका

यो नगरपालिका विगतमा स्वतन्त्ररुपमा रजतप्रताप शाहले जितेका थिए भने उपमेयर माओवादीले जितेको थियो । अहिले यहाँका मेयर शाह नेपाली काँग्रेस प्रवेश गरेका छन् । काँग्रेसको जनाधार बलियो भएकोले  काँग्रेसको मेयरमा दाबी छ । उता नेकपा माओवादीको पनि दाबी छ ।

माओवादीले अहिले नै उपप्रमुख जितेको र अहिले प्रमुखमा आफ्नो दाबी रहेको एक जिल्ला स्तरका नेताले रातोपाटीलाई बताए । गठबन्धनभित्र माओवादी र काँग्रेसले प्रमुखमा दाबी गरेका छन् भने अन्य दललाई वडातिर दिएर मिलाउन खोजेका छन् ।

बाणगंगा नगरपालिका

यो नगरपालिका नेपाली काँग्रेसले जितेको थियो । अहिले पनि नेपाली काँग्रेसको प्रमुख दाबी रहेको छ । तर, यहाँ गठबन्धनभित्र माओवादी र जसपाले पनि विगतको मतका आधारमा पाउनुपर्ने माग गरेका छन् । यद्यपि गठबन्धनभित्रको कुन दललाई  कसरी लैजाने भन्ने निर्णय जिल्ला संयन्त्रले गर्नु भन्दा अगाडि नगरपालिको संयन्त्रले मिलाउने नेताहरूले बताएका छन् ।

बुद्धभूमि नगरपालिका

बुद्धभूमि नगरपालिका यसअघि नेपाली काँग्रेसले जितेको थियो । अहिले पनि काँग्रेस नै प्रमुख दाबेदार हो । यहाँ माओवादीको पनि दाबी रहेको छ । माओवादीले विगतमा पनि आफ्नो प्रभाव राम्रो भएको कारणले आफूले पाउनुपर्ने दलभित्र छलफल चलाएको थियो । तर औपचारिक  रूपमा अझै प्रस्ताव चाहिँ नभएको र पहिले स्थानीय तहको संयन्त्रबाट आएपछि छलफल हुने जनाइएको छ ।  

महाराजगञ्ज नगरपालिका

महाराजगञ्ज नगरपालिका मेयर अहिले नेपाली काँग्रेसका छन् । विगतमा एमालेलाई पराजित गर्दै नेपाली काँग्रेसले बलियो संगठन बनाएको जिकिर गरेको छ । यहाँ पनि मेयर नेपाली काँग्रेसले छाड्ने अवस्था देखिँदैन ।

यहाँ  जसपाको पनि राम्रै उपस्थिति देखिन्छ भने माओवादी पनि केही आधार छ । तर प्रमुख नै दाबी गर्न नसक्ने अवस्था रहेको काँग्रेसका जिल्लास्तरका नेताहरूको बुझाइ छ । यहाँ गठबन्धनभित्र  कम्तीमा तीन दलले  बाँड्नुपर्ने देखिन्छ । नेपाली काँग्रेस , माओवादी र जसपा  बाँडफाँड गरेर वडामा  नेकपा एकीकृत  समाजवादी र जनमोर्चालाई दिन सक्ने अवस्था देखिन्छ ।

शिवराज नगरपालिका

यो नगरपालिकामा पनि गठबन्धनभित्रै त्रिपक्षीय दाबी छ । यहाँ नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादीले आफ्नो मुख्य दाबी गरेका छन् भने जसपाको पनि दाबी रहेको छ । नेकपा एकीकृत समाजवादीका जिल्ला ईन्चार्ज क्षेत्रबहादुर खत्रीले शिवराज नगरपालिका र मायादेवी गाउँपालिका आफ्नो पार्टीको प्रमुख दाबी गरेको रातोपाटीलाई बताए ।

गाउँपालिकाको स्थिति

कपिलवस्तुमा रहेका चारवटा गाउँपालिकामध्ये धेरैमा जसपाले दाबी गरेको छ । विगतमा   मायादेवी र शुद्धोधन गाउँपालिका जितेको थियो । जसपाको अन्य गाउँपालिका पनि पकड राम्रै थियो । त्यस कारणले अहिले यशोधरामा पनि दाबी गरेको छ । उसले दाबी गरेको गाउँपालिका नेपाली काँग्रेसको पनि दाबी रहेको छ ।

यता विजयनगरमा विगतमा एमालेले जितेको थियो भने अहिले त्यहाँ माओवादीले पनि  दाबी गरेको छ । उसले आफ्नो आधार राम्रो भएको जिकिर गरेको छ । जसपा केन्द्रीय सदस्य नारायण खनालले मायादेवी, शुद्धोधन  जितेको  र जसपाले संगठन बलियो भएको दाबी गर्दै यशोधरामा आफूहरूको दाबी रहेको रातोपाटीलाई बताए ।

अर्कोतिर विजयनगर, शिवराज र बाणगंगा नगरपालिकामा भने तालमेल गरेर जान सकिने बताए । उनले  आफूहरूले पहिला जितेका र जनआधार बलियो भएको ठाउँमा जसपाको प्रमुख दाबी रहने र कम भएको ठाउँमा गठबन्धन दलहरूभित्रै प्रमुख या उपप्रमुख मानेर जाने विषयमा  पार्टीको आन्तरिक तयारी रहेको बताए ।

यता नेपाली काँग्रेस जिल्ला सभापति मुसलमानले पनि यशोधारालगायतका आफ्नो संगठन राम्रो भएका ठाउँ छाड्न कठिन हुने बताए । उनले पालिकास्तरमा आउने रिपोर्टको आधारमा गठबन्धन दलबीच छलफल गर्ने बताए । तर नेपाली काँग्रेसले विगतमा एक्लै जितेका र अहिले पनि एक्लै जित्न सक्ने ठाउँमा अरूलाई दिन नसक्ने बताए ।

यस्तै मायादेवी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको पनि पकड रहेकोले उक्त गाउँपालिकामा आफ्नो दाबी गरेको  छ ।  गठबन्धन भित्रको सानो दल रहेको जनमोर्चाको भने यहाँ प्रमुख दाबी रहेको छैन । उसले वडा अध्यक्ष माग गरेको छ । केही वडा अध्यक्ष र सदस्य आफ्नो संगठन बलियो भएको ठाउँमा माग गरेको छ ।

गाउँपालिकाको अवस्था हेर्दा २०७४ सालको निर्वाचनमा मत यस्तो थियो  ।

१. कपिलवस्तु नगरपालिका– काँग्रेस (९,२५४), स्वतन्त्र (५,६३१), संघीय समाजवादी (४,०५४)

२. कृष्णनगर नगरपालिका– स्वतन्त्र (७,१७८), माओवादी (३,०८०), राप्रपा (२,४३०)

३. बाणगंगा नगरपालिका– काँग्रेस (१५,७३८), एमाले (१५,२७८), जनमोर्चा (४०४)

४. बुद्धभूमि नगरपालिका– काँग्रेस (१०,०६३), एमाले (९,९२६), संघीय समाजवादी (१,७८२), माओवादी (१,५६३)

५. महाराजगञ्ज नगरपालिका– काँग्रेस (७,७२४), स्वतन्त्र (६,७४५), राप्रपा (७४९)

६. मायादेवी गाउँपालिका– संघीय समाजवादी (४,७११), काँग्रेस (३,३५२), मधेसी जनअधिकार फोरम (१,९५८)

७. यसोधरा गाउँपालिका– काँग्रेस (३,२७५), स्वतन्त्र (३,१५५), नयाँ शक्ति (२,२०३)

८. विजयनगर गाउँपालिका– एमाले (३,५१२), स्वतन्त्र (३,२८४), स्वतन्त्र (१,६०५)

९. शिवराज नगरपालिका– एमाले (६,१५५), संघीय समाजवादी (४,७६२), राप्रपा (२,६७१)

१०. शुद्धोधन गाउँपालिका– स्वतन्त्र (१,८३७), स्वतन्त्र (१,७६३), मधेसी जनअधिकार १,७३८)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप