शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थारुहरुको छुट्टै गठबन्धनको तयारी, चुनावपछि नयाँ पार्टी घोषणा

बिहीबार, २४ चैत २०७८, १७ : ४३
बिहीबार, २४ चैत २०७८

आफूहरुको उठाएका माग सम्बोधन नभएको भन्दै थारुहरुको केही संगठन एकजुट हुने भएका छन् । काँग्रेस, माओवादी, एमाले, जसपा, लोसपालगायतका दलले आफूहरुको माग पुरा नगरेको भन्दै उनीहरुले स्थानीय तह निर्वाचनको मुखमा छुट्टै गठबन्धनको तयारी थालेका हुन् । यो अभियानमा रेशम चौधरीको पार्टीसमेत संलग्न रहेको बताइएको छ ।

उनीहरुको विभिन्न चरणमा बसेको बैठकले थारु समुदायहरुको विभिन्न संगठन तथा विभिन्न पार्टीलाई मिलाएर एउटै पार्टी बनाउने सैद्धान्तिक सहमति गरिरहेको टीकापुर राजबन्दी रिहाई अभियानका संयोजक सुरेन्द्र चौधरीले बताए । उनका अनुसार नयाँ पार्टी नै घोषणा गरेर अघि बढ्नेगरी छलफल भएपनि हाललाई पार्टी घोषणा नगरिने भएको छ । चुनावको मुखमा नयाँ पार्टी दर्ता नहुने भएकाले हाललाई चुनावी गठबन्धन बनाएर अघि बढ्नेगरी सहमति भएको उनको भनाइ छ ।

भानुराम थारु नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, रुकमणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक मञ्च, लक्षमण थारु नेतृत्वको थारुवान थरुहट राष्ट्रिय मोर्चा, किशोर विश्वास नेतृत्वको बहुल राष्ट्रिय समाजवादी पार्टीलगायतका बीच एकता गरी एउटै पार्टी बनाउने सैद्धान्तिक सहमति गरिएको उनको भनाइ छ ।

‘नयाँ पार्टी नै घोषणा गर्ने तयारी थियो तर चुनावको कारण निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउन नसकिने भएपछि अहिलेलाई नयाँ पार्टी बनाउने काम स्थगित गरिएको छ । तर, दल र संगठनहरुको बीचमा गठनबन्धन बनाएर चुनावमा जाने तयारी छ ।’  चुनाव लगत्तै नयाँ पार्टीको घोषणा गर्नेगरी अघि बढिएको पनि उनले बताए ।

नयाँ पार्टी बनाउने अभियानमा लागेका थरुहट राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अरु दलहरुले थारुको अधिकार, पहिचान र मुद्दालाई ओझेलमा पारेपछि आफूहरु संगठित हुन लागेको बताए ।

‘थारुलाई फुटाएर अरु दलहरु फाइदा लिइरहेका छन्, तर थारुको हक अधिकारको बारेमा केही बोल्न चाँहदैनन्’, उनले भने, ‘उत्पीडनमा परेका हरेक समुदायका लागि टीकापुर विद्रोह भएको थियो  । तर त्यसमा निर्दोषहरुलाई फँसाइएको छ, कतिपय प्रवास छन्, कतिपय थुनामा छन्, कतिपय प्रहरीको वान्टेडमा छन् । त्यसको बारेमा कसैले बोल्न चाहेको छैन । थारुहरुको अरुको मुख ताकेर कति दिन बस्ने त भनि हामी बीच सहमति भएर आफ्नै संगठन बनाउने र त्यो संगठनबाट संघर्ष गरेर अधिकार प्राप्त गर्ने तय भएको छ ।’

एकीकृत हुने समझदारी भएपनि स्थानीय चुनावकै कारण रोकिएको उनले बताए । उनले हाल चनुावमा जो–जोबीच गठबन्धन हुन्छ, ती पार्टीबीच एकीकरण गर्ने सहमति भएको बताए । ती दलहरुको बीचमा चुनावी तालमेल गर्न गृहकार्य भइरहेको पनि उनको भनाइ छ । ‘कहाँ कसको संगठन बलियो छ, उम्मेदवारको लोकप्रियता कति छ, लगायतका विषयवस्तुमा अध्ययन भइरहेको छ’, उनले भने, ‘हामी मिलेर चुनावमा जान्छौं, यही चुनावबाट थारुहरुले आफ्नो शक्तिको परिचय दिनेछन् ।’

नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारुले पनि आफूहरुको बीचमा एकता गर्ने भनि सैद्धान्तिक सहमति भइसकेको बताए । प्रकृयागत कुरा नमिलेको कारण केही ढिलाई भएको मात्र भएको उनको भनाइ छ ।

 विगतमा लक्ष्मण थारु, भानुराम थारु, किशोर विश्वास, रेशम चौधरीहरु मधेशी दलमा आवद्ध थिए । किशोरले विश्वास मधेशी दल धेरै पहिला नै छाडेका हुन् । लक्ष्मण थारुले पनि राजपाबाट चुनाव लडेका थिए । टीकापुर घटनापछि उनी सो पार्टीमा निष्कृय भए । भानुराम थारु विजयकुमार गच्छदारको साथमा मधेश केन्द्रीत राजनीतिमा सक्रिय थिए । विजयकुमार गच्छदार काँग्रेसमा गएपछि उनी गच्छदार नेतृत्वको पार्टी सञ्चालन गरेर उनी बसेका थिए ।

टीकापुर घटनापछि पनि रेशम चौधरीले राजपा नेपालबाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । उनी अहिले जेलमा छन् । जसपाले सहयोग नगरेपछि उनले अहिले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गराएका हुन् । मधेशी दलबाट आफूहरुले निकै अपेक्षा गरेपनि थारुको बारेमा मौनता देखिएपछि बाध्य भएर संगठित हुन लागेको लक्ष्मण थारुले बताए । उनले भने, ‘टीकापुर घटनामा मुछिएर थुनामा रहेका रेशम चौधरीलागयत अन्य राजबन्दी रिहा गराउने विषयमा मधेशी दलले पटक पटक आश्वासन मात्र दिए ।  उनीहरुले पछिल्लो समय त वास्ता गर्न पनि छाडे ।’

टीकापुर राजबन्दी रिहाई अभियानका संयोजक सुरेन्द्र चौधरीले पनि थारुको मुद्दामा मधेस केन्द्रीत दलहरु गम्भीर नरहेको आरोप लगाए । नागरिक उन्मुक्ति पार्टी ,नेपाल लोकतान्त्रिक पार्टी र थरुहट थारुवान राष्ट्रिय मोर्चा बीच आजै भएको छलफलमा पनि एकीकरणको लागि तिब्रता दिने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप