बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एन्फामा लफडा : ‘डेडलाइन’ भित्र ‘बी’ र ‘सी’ प्रतिनिधि छनोट नभए के हुन्छ ?

शुक्रबार, २५ चैत २०७८, १८ : १३
शुक्रबार, २५ चैत २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अन्तर्गत ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटका लागि तय गरिएको निर्वाचन बिहीबार स्थगित भयो । एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

यही विवादमा निर्वाचन स्थगित भएको विषयलाई लिएर ‘बी’ र ‘सी’का प्रतिनिधिहरुले एन्फाको टेबल तोडफोड नै गरे । निर्वाचन आचारसंहिता विपरीत क्लबका प्रतिनिधि गएपछि बाँकी प्रक्रिया स्थगित गरिएको थियो ।
‘बी’ र ‘सी’ डिभिजनमा समान १४ क्लब छन् । सी बाट ९ र बी बाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् । 

निर्वाचनको सयममा भएको धाँधलीका कारण अब निर्वाचन समितिले नयाँ मिति तोक्नेछ । त्यसका लागि पहिले एन्फाका कार्यसमिति सदस्यहरु छलफलमा बस्नेछन् । उनीहरुको छलफलबाट प्रतिनिधिहरू छनोटको विषय सुल्झिएमा निर्वाचन समितिले शुक्रबार नै निर्वाचन गर्नेछ । 

एन्फाको निर्वाचन समितिका सदस्य दामोदर भट्टराईले आज एन्फाका प्रतिनिधिहरूलाई छलफलका लागि पत्र बुझाएको बताए । उनले छलफलबाट सहमति भएमा आज नै निर्वाचन गरिसक्ने बताए । 

‘बिहीबार निर्वाचन स्थगित गरेर हामीले नयाँ मितिका लागि छलफल गर्न पठाएका छौं । एन्फाले आफ्नो कार्यसमितिमा छलफल गर्नेछ । छलफल सकिएपछि मात्र हामी नयाँ समय तोक्ने छौं । निर्वाचन आज नै गरिसक्नु पर्ने छ,’ भट्टराईले रातोपाटीसँग भने ।

एन्फाको गत मंगलबार बसेको २० औं विशेष साधारणसभाले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । समितिको सह संयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई रहेका थिए । 

उक्त साधारणसभाले एन्फाको बी र सी डिभिजन क्लबको पदाधिकारीको चुनाव चैत २४ र २५ गते सम्ममा गरिसक्नु पर्ने डेडलाइन दिएको थियो । उक्त डेटलाइन आज सकिँदैछ ।

एन्फाको कार्यसमितिलाई आज नै छलफल गरेर ४ बजेसम्ममा निर्णय निकालिसक्न आफूहरुले पत्र पठाएको बताए ।

डेड लाइनसम्म निर्वाचन नभए के हुन्छ ?

बी र सी डिभिजन क्लबका प्रतिनिधि छनोटका लागि तोकिएको निर्वाचन मिति आज सकिँदैछ । एन्फाले विशेष साधारणसभा गरेर निर्वाचनको मिति तोकेको हो । तर, आफूले नै तोकेको मितिअनुसार अहिले एन्फा चल्न सकेको छैन् । आफै गठन गरेको निर्वाचन समितिलाई एन्फाले सहज वातावरण बनाएको छैन ।

एकातर्फ निर्वाचन गर्नुपर्ने दवाव दिँदै निर्वाचन समितिलाई बी र सी डिभिजन क्लबका प्रतिनिधिहरुले एन्फाको निर्वाचन हलबाट बिहीबार बाहिर निस्कन दिएनन् । यता, एन्फा कार्यसमितिका प्रतिनिधिहरुले पनि अहिले छलफलमा आउन मानेका छैनन् । एन्फा अध्यक्ष नै निर्वाचन गराउने विषयमा छलफल गर्न नआएको एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले बताए ।

‘एन्फा अध्यक्ष नै अहिलेसम्म छलफलका लागि आउनुभएको छैन । निर्वाचनको मिति आज सकिँदैछ । साँझ ४ बजेसम्म छलफलबाट सहमति नभए माहोल झनै बिग्रने छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

यता निर्वाचन समितिका सदस्य भट्टराई आफूहरु आजको मितिसम्म निर्वाचन गरिसक्ने बताए । यदि आजको मितिसम्म निर्वाचन हुने वातावरण नभएमा आफूहरु अर्कै बाटोमा जाने बताए । यदि यसपछि एन्फाले निर्वाचन समितिलाई सहयोग नगरेमा आफूहरु पनि समितिमा नबस्ने बताए ।

‘आजको मितिसम्म निर्णय गर्न पात्र पठाएका छौं । सहमति भएन भने अर्काे निर्णयमा जानेछौँ । निर्वाचन समितिलाई त्यसपछि पनि सहयोग नहुने वातावरण भएमा हामी समितिबाट नै अलग हुनेछौं,’ भट्टराईले भने । एन्फाको आसन्न निर्वाचन असोज ६ गतेका लागि तोकिएको छ । यसअघि जेठ १५ गर्ने एन्फाको निर्वाचन हुने तय थियो ।

तर, फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ । चुनावको मिति सरे पनि एन्फाले साधारण सभामा राखेका विषयवस्तुहरु भने निर्धारित समयमा हुने बताएको थियो । तर, पहिलो विषयवस्तुमा नै विवाद हुँदा एन्फाले आफ्नो साधारण सभामा गरेका प्रतिवद्धता बिर्सेको बुझ्न सकिन्छ । आफैंले गरेको निर्णयमा नै खरो उत्रन नसक्नु एन्फाको कमजोरी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप