सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं परिसरमा मुद्दा हेर्न एसपी राख्ने निर्णय

एसपी भट्टराईलाई जिम्मेवारी
आइतबार, २७ चैत २०७८, १२ : ४३
आइतबार, २७ चैत २०७८

महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा हेर्नेगरी प्रहरी उपरीक्षक (एसपी) लाई खटाउने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार परिसर काठमाडौंमा एसपी सानुराम भट्टराईलाई काज सरुवा गरेका हुन् । मुद्दाको चापका कारण अनुसन्धान र अभियोजन प्रणाली त्रुटिरहित बनाउन छानविन समितिले गरेको सिफारिसका आधारमा एसपी खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

पेसेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकीले पर्याप्त प्रमाण अभावमा सफाई पाएपछि अनुसन्धानमा भएको कमजोरी पत्ता लगाउन महानगरीय प्रहरी कार्यालयले छानविन समिति गठन गरेको थियो ।

२०७८ कार्तिकमा एसएसपी चक्रबहादुर सिंह नेतृत्वको छानविन समितिले काठमाडौं परिसरमा सामाजिक अपराध, आर्थिक अपराध र जघन्य अपराध हेर्नेगरी ३ जना डिएसपी र मुद्दा फाँटको समग्र कमाण्ड गर्न एसपी खटाउन सिफारिस गरेको थियो । मुद्दा हेर्ने एसपीलाई काठमाडौंका डिएसपी इन्चार्ज हुने १४ वटा वृत्तहरुको पनि मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने समितिले सिफारिस गरेको थियो ।

सो सिफारिसअनुसार थप दुईजना डिएसपी राख्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको आदेशमा एसपी भट्टराईलाई मात्र काठमाडौंमा काज सरुवा गरेको छ । भट्टराई यसअघि महानगरीय दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत थिए । उनको ठाउँमा एसपी प्रजित केसीलाई सरुवा गरिएको छ ।

झापाको इन्चार्जबाट दंगा नियन्त्रण गणमा सरुवा भएका भट्टराईलाई गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुले भाइटिका लगाउने गरेको चर्चा प्रहरी वृत्तमा छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भट्टराईले बारा र झापा जिल्ला चलाएका थिए ।

काठमाडौं परिसरमा अहिले अपरेशन कमाण्ड गर्ने एकजना एसपी र मुद्दामा शाखामा एकजना डिएसपी कार्यरत छन् । व्यवसायी बाबुराजा रावलको अपहरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुर्गाबहादुर बुढाथोकीलाई २०७७ पुसमा पक्रेर मुद्दा दायर गरेको थियो । २०७८ असोज ५ मा आरोपीको नागरिकता लगायतका प्रमाण पेश गर्न नसकेको भन्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले बुढाथोकीलाई सफाइ दिए । न्यायाधीश निरौलाले उनी दुर्गा बुढाथोकी नै हुन् भन्ने पर्याप्त प्रमाण नभएको ठहर गरेका थिए ।

सो फैसलापछि गठन गरिएको चक्रबहादुर सिंह नेतृत्वको छानविन समितिले प्रहरी बयानमुखी अनुसन्धानमा केन्द्रीत हुँदा सो घटनाको अनुसन्धानमा कमजोरी भएको निष्कर्ष निकालेको थियो । अभियुक्त बुढाथोकीले अदालतमा आफु भारतीय नागरिक भएको र सो घटनामा संलग्न भएको भनेर बयान फेरेका थिए ।

समितिले सो घटना अनुसन्धानमा संलग्न इन्स्पेक्टर नानीकाजी थापा, असई र हवल्दारलाई विभागीय कारवाही गर्न सिफारिस गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप