शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा ३ जना डीआईजी बढुवा गर्न सकस, पुराना कि नयाँ भन्नेमा मतभेद

आइतबार, २७ चैत २०७८, २१ : ३०
आइतबार, २७ चैत २०७८

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पद खाली छ ।  चैत १ मा ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएसँगै रिक्त भएको सिटमा बढुवा हुन सकेको छैन । चैत १ मा बढुवा समितीले धीरज प्रताप सिंह, बसन्त पन्त र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरुको सिफारिससँगै खाली भएको डीआईजीको सिटमा बढुवा गर्न सकस भएको हो । 

मेरिट लिस्ट अनुसार पुरानालाई बढुवा गर्ने वा नयाँलाई अवसर दिने भन्नेमा मतभेद देखिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरी र प्रदीप कुमार श्रेष्ठ पनि डीआईजी हुने प्रतिस्पर्धामा छन् । चौधरी मेरिट लिस्टको ३ नम्बरमा छन् । मेरिट लिस्टको पहिलो नम्बरमा नल प्रसाद उपाध्याय र दोस्रो नम्बरमा मोहन कुमार आचार्य छन् । उपाध्याय र आचार्य  २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । प्रदिप कुमार श्रेष्ठ मेरिट लिस्टको पाँचौ नम्बरमा छन् । मेरिट लिस्टको चौथो नम्बरमा छन्, मसउद आलम खाँ ।

गृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मेरिट लिस्ट अनुसार बढुवा गर्न खोजेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयले पुराना दुईजना र नयाँ ब्याचबाट एकजनालाई बढुवा गर्न दबाव दिएपछि बढुवा अन्योलपुर्ण बनेको जानकारहरु बताउँछन् । आईजीपी क्षेत्रीका ब्याचमेट उनीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

प्रतिस्पर्धी नयाँ ब्याच

नयाँ ब्याचबाट २०५१ चैत ५ मा सेवा प्रवेश गर्नेहरु र २०५२ भदौमा भर्ना भएका अधिकृतहरु पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएकाहरु मध्ये डीआईजी बढुवामा अगाडी आउने अधिकृत मध्येबाट भावी आईजीपी बन्नेछन् ।

२०७५ फागुन ६ मा १३ जना अधिकृतहरु एसएसपी भएका थिए । उनीहरुमध्ये दीपक थापा, टेक प्रसाद राई, उमेशराज जोशी, रामदत्त जोशी, मिरा चौधरी, किरण बज्राचार्य र बसन्त बहादुर कुँवर प्रतिस्पर्धामा अगाडि छन् ।

उनीहरुभन्दा १५ महिनापछि २०७७ वैशाख १७ मा एसएसपीमा बढुवा भएका अधिकृतहरूले पनि डीआईजी बन्ने आकांक्षा राखेका छन् । ०७७ वैशाखमा वीरेन्द्र बस्याल, जनक भट्टराई, भरत बोहरा, विष्णु कुमार केसी, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, किरण राणा र यज्ञविनोद पोखरेल एसएसपीमा बढुवा भएका थिए । मेरिट लिस्टमा तल रहेका उनीहरु पनि बढुवा हुने प्रतिस्पर्धामा छन् । अहिले मेरिट लिस्टको एक नम्बरमा रहेका नल प्रसाद उपाध्याय २०७५ जेठमा एसएसपीमा बढुवा भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप