सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा : सभामुख सापकोटा

सोमबार, २८ चैत २०७८, २१ : १६
सोमबार, २८ चैत २०७८

सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा भएको बताएका छन् । उनले आज सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै निजी क्षेत्रको सहभागिता विना आर्थिक विकास असम्भव रहेको बताएका हुन् ।

‘आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव छैन,’ उनले भने, ‘त्यसैले नीजि क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्छ ।’ मुलुकको अर्थतन्त्र, रोजगारी, पूँजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो ।

राष्ट्रका लागि उद्योगी÷व्यवसायीहरूको योगदान महत्वपूर्ण रहेको बारे आफू जानकार रहेकाले आफ्नो तर्फबाट निजी क्षेत्रका समस्या समाधानमा सधै सहयोग रहने सापकोटाले बताए । त्यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्य दिँदै आफुहरु लगानी गर्न तयार रहेको तर त्यसमा अवरोध नगरिदिन सबैसँग आग्रह गरे । उनले भने, ‘हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौं, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुहोस् ।’


कार्यक्रममा महासंघमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ विज्ञ हंसराम पाण्डे र कार्यालय सहयोगी श्रीकृष्ण श्रेष्ठलाई नगदसहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । समुद्घाटन समारोहको अन्त्यमा धन्यवाद मन्तव्य दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालमा जनसाङ्ख्यीक लाभको अधिक सुविधा रहेको बताए ।

‘यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन् । तर अब हामीले अबका केही वर्षहरुभित्र यसको भरपूर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझ बढी कठिनाइका दिन आउने छन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप