सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीकी पत्नीको नेतृत्वमा दर्ता भएको दलले उम्मेदवार छान्यो

शुक्रबार, ०२ वैशाख २०७९, २१ : २५
शुक्रबार, ०२ वैशाख २०७९

रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि तयारी तीव्र तुल्याएको छ । तीन महिना अघि दर्ता भएको सो पार्टीले कैलालीका १३ मध्ये ११ वटा स्थानीय तहमा उम्मेदवार छनौटलाई तीव्रता दिइरहेको हो । पार्टीका कैलाली अध्यक्ष कैलाश चौधरीले शुक्रबारसम्म तीन वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाइसकेको बताए ।

‘हामीले टीकापुर, जानकी र भजनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाइसकेका छौं,’ उनले भने, ‘केही स्थानीय तहमा आकांक्षी धेरै रहेकाले सहमतिको प्रयास भइरहेको छ । शनिबारसम्म हामी सबै उम्मेदवारको नाम टुङ्गो लगाइसक्छौँ ।’

सो पार्टीले टीकापुर नगरपालिकामा नगर प्रमुखमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी र जानकी गाउ“पालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीलाई उम्मेदवार बनाएको छ । टीकापुर नगरपालिकाको प्रमुखमा उम्मेदवार भएका रामलाल डंगोरा थारु २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट वडा नम्बर ७ को अध्यक्षमा निर्वाचित भएका थिए । उनले भने, ‘हाम्रो नया“ पार्टी हो । अहिले संगठन विस्तारसँगै प्रचार–प्रसारमा जोड दिइरहेका छौं ।’

उनले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाइनुपर्ने, थारु अधिकार र पहिचान सुनिश्चित, समाजभित्र रहेका कुरीतिको अन्त्य गर्नुपर्ने लगायतका मुद्दा बोकेर प्रचार प्रसार गरिरहेको बताए ।

उनले  ४२ प्रतिशत थारु समाज नै आफ्नो जित्ने आधार रहेको बताए ।

अन्य दललाई समस्या

२०७४ सालको निर्वाचनमा टीकापुर नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । सो नगरपालिकाका तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका उम्मेदवार दोस्रो भएका थिए । २०७४ सालको निर्वाचनमा ३९ हजार १९२ मतदाता रहेकोमा २६ हजार ९२९ मत खसेको थियो ।

सोमध्ये नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार तपेन्द्र रावलले पा“च हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका लौटन चौधरीले पा“च हजार ५३४ मत प्राप्त गरेका थिए ।

सो स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेदवार तेस्रो र नेकपा माओवादी केन्द्र चौथो दल बनेको थियो ।

५२ हजारभन्दा बढी मतदाता

टीकापुर नगरपालिकामा ५२ हजारभन्दा बढी मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सो नगरपालिकामा २५ हजार ६४ पुरुष, २७ हजार ८०७ महिला र अन्य एक गरी ५२ हजार ८७२ मतदाता छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा सो नगरपालिकामा १६ वटा मतदान स्थल र ५७ मतदान केन्द्र रहने छन् ।

भजनीमा पनि नागरिक उन्मुक्ति दलकै प्रभाव

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भजनी नगरपालिकामा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट नगर प्रमुखका उम्मेदवार थिए केवल चौधरी । उनी सो समयमा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीसँग २०३ मतले पराजित भए ।

१३ हजार २५ महिला, १३ हजार ९२६ पुरुष र अन्य एक गरी २६ हजार ९५० मतदाता रहेको भजनीमा २१ हजार चार सय ७० मत खसेको थियो । सोमध्ये नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुरले पा“च हजार २२८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका उम्मेदवार केवलले पा“च हजार २५ मत प्राप्त गरेका थिए । उनी यस पटक रेशम चौधरीकी श्रीमतीको नेतृत्वमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट पुनः नगर प्रमुखमा उम्मेदवार बनेका छन् ।

भजनी नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा १७ हजार ११९ पुरुष, १६ हजार ८१० महिला र अन्य एक गरी ३३ हजार ९३१ मतदाता छन् । सो नगरपालिकामा १८ मतदान स्थल र ४३ मतदान केन्द्र रहने निर्वाचन कार्यालय कैलालीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप