आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : अल्मुताइरीको निराश अभिव्यक्ति, दिनभर अरु के–के भए ?

शुक्रबार, ०२ वैशाख २०७९, २२ : ०८
शुक्रबार, ०२ वैशाख २०७९

आज मिति २०७९ साल वैशाख २ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएकाे छ–

१. अल्मुताइरीको निराश अभिव्यक्ति

नेपाली राष्ट्रिय फुटबल टोलीले जुन ८ मा जोर्डनसँग खेल्दै एसियन कप छनोट अन्तर्गतको खेल सुरु गर्नेछ । यसै प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पत्रकार सम्मेलन गर्दै टिमको तयारीको विषयमा जानकारी गराएका छन् । तर अल्मुताइरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने निराशाजनक धारणा राखे ।

त्रिपुरेश्वरस्थित  दशरथ रंगशालामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले छनोटमा नेपाली टोली सबैभन्दा कमजोर भएको भन्दै एसियन कपमा छनोट हुन नसक्ने बताएका हुन् । उनले सबै समर्थकको चाहना नेपाल एसियन कप खेलोस् भन्ने रहेको तर यो वास्तविकता भन्दा टाढा रहेको जिकिर गरे ।

​यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी–२० शृंखला खेल्ने भएको छ । घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ ।

​२. छायामा संसद

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका कारण प्रतिनिधिसभाको वर्षे अधिवेशन कहिले सुरु हुने भन्ने नै अनिश्चित बनेको छ । नयाँ आर्थिक वर्षका लागि बजेट कार्यक्रम संसदमा प्रस्तुत गर्नुभन्दा १५ दिन अघि नै सम्भावित बजेटबारे संसद बैठकमा छलफल हुने गर्दछ । प्रि–बजेट अधिवेशन भनिने यस्तो अधिवेशन अघिल्लो वर्ष बैशाख २८ गतेदेखि सुरु भएको थियो ।

​३. काठमाडौंमा कति छ माओवादीको शक्ति

काठमाडौं जिल्लामा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस र नेकपा एमालेभन्दा निकै मत अन्तरले तेस्रो स्थानमा छ । २०६४ सालको संविधानसभा निर्वाचनमा १० निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्र जितेको माओवादी दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा शून्य भयो । २०७४ मै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये माओवादीले एक सीट समेत जित्न सकेन तर, स्थानीय तहका वडा कमिटीमा भने सानो संख्यामा जितेको थियो ।

​४. काँग्रेसको सर्कुलर

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा नेताहरुलाई धेरै समयसम्म भाषण नगर्न सर्कुलर पठाएको छ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोलमा बढीमा एक घन्टा, पालिकास्तरमा दुई घन्टामा भाषण सक्नुपर्ने निर्देशन दिएको हो ।

यस्तै काँग्रेसले विभिन्न उपसमिति गठन गरेर केन्द्रदेखि जिल्लामा प्रतिनिधि र सातै प्रदेशबाट पालिकास्तरमा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

​५. गठबन्धन विरुद्ध नजान काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो ।

काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बेठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

​६. जिब्रो छाड्ने जात्रा सम्पन्न

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाएका छन् । उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई व्रत बसेका थिए । श्रेष्ठले व्रत बसेदेखि जिब्रो नछेडेसम्म नुनसमेत खाएका थिएनन् ।

​७.नागरिक उन्मुक्ति पार्टीले छान्यो उम्मेदवार

रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि तयारी तीव्र तुल्याएको छ । तीन महिना अघि दर्ता भएको सो पार्टीले कैलालीका १३ मध्ये ११ वटा स्थानीय तहमा उम्मेदवार छनौटलाई तीव्रता दिइरहेको हो । पार्टीका कैलाली अध्यक्ष कैलाश चौधरीले शुक्रबारसम्म तीन वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाइसकेको बताए ।

​८.सुनिताको घोषणापत्र सार्वजनिक

काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । ८ खम्बे विकासको मोडलसहित डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ उनले आफ्नो चुनावी घोषणापत्रका रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना तय गरेकी छन् ।

उनको आठ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट रहेका छन् ।

​९. चोलेन्द्र प्रकरणमा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासले कागजात झिकाउन आदेश गरिएको हो ।

​१०. यो पनि

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे ।

​चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । उनलाई चैत २३ मा प्रहरीले बोलाएर बयान लिएको खुलेको छ । टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा बोलाएर दिनभर प्रहरीले उनलाई ‘लेनदेन विवाद’मा छलफल गराएको खुलेको हो । चैत २४ मा उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत फेला गरेकी थिइन् ।

​नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

शुक्रबार लमजुङको  ‘घले गाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे ।

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने  करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

​कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नहरूलाई  प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

​नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका छन् । विहान ८ बजे तिर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकमा प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन्।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप