शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय चलचित्र पुरस्कार : दीपक र सुरक्षा उत्कृष्ट कलाकार, भुवन र शम्भुजितलाई ‘दीर्घ साधना सम्मान’

आइतबार, ०४ वैशाख २०७९, २० : ४५
आइतबार, ०४ वैशाख २०७९

नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द तथा विशिष्ट संगीतकार शम्भुजित बास्कोटा ‘दीर्ध साधना सम्मान’ बाट सम्मानित भएका छन् । आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार, विषेश चलचित्र तथा दीर्घ साधना सम्मान’ कार्यक्रममा दुबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरिन् ।

दुबैलाई ताम्रपत्रसहित नगद ३ लाख ५१ हजार रुपैयाँ प्रदान गरियो । अभिनेत्री चन्दले २०७६ र संगीतकार बास्कोटाले २०७७ सालको दीर्घ साधना सम्मान प्राप्त गरेका हुन् । कार्यक्रममा २०७६/०७७ का फिलम मध्य १० विधामा बाँडिएको पुरस्कारमा फिल्म ‘छ माया छपक्कै’ बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘आमा’ बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री भए । ‘आमा’ बाटै निर्देशक दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशक अवार्ड थाप्दा ‘आमा’ उत्कृष्ट फिल्म समेत घोषित भयो । सोही अवसरमा पटकथा लेखन विधामा ‘जात्रैजात्रा’ बाट प्रदीप भट्टराई सर्वोत्कृष्ट ठहरिए ।

कार्यक्रममा उत्कृष्ट छायांकन विधामा ‘छ माया छपक्कै’ बाट हरि हुमागाई, उत्कृष्ट सम्पादन ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेल भए । भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ले आदिवासी जनजातितर्फ अवार्ड जितेको कार्यक्रममा प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’ बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’का अभिनेता अंकित शर्माले प्राप्त गरे । त्यस्तै २०७६ सालको विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र कालापानीले हात पर्यो ।  २०७७ सालको विशेष फिल्म ‘सरिता’ बन्न सफल भयो ।

कार्यक्रममा अभिनेता राजेश हमाल, शम्भु प्रधान, चैतदेवी, गौरी मल्ल, चिरञ्जीबी बस्नेत, रविन्द्र खड्का, नवल खड्का, सुशिल पोखरेल, शर्मिला पाण्डे, अर्जुन कुमार डंगोल, मदन घिमिरे, एसपी कोइराला, राजेश पायल राई, सुरेस अधिकारी, कमल राई, विदुर गिरी, लक्ष्मी आचार्य , गोपालकाजी कायस्था, उदय सुब्बा, सौगात मल्ल, पुष्कर लामा लगायत विभिन्न विधाका ३३ व्यक्तिलाई विशेष योगदान सम्मान प्रदान गरियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले चलचित्र समाजको यर्थात ब्यक्त गर्ने एउटा शसक्त माध्यम भएको बताइन् । ‘आधुनिक प्रविधिबाट साहित्य, कला तथा संगीतलाई एकै सूत्रमा गाँसेर चलचित्रले दर्शकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दछ’ राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रो मौलिक कलासंस्कृतिलाई चलचित्रले प्रवर्धन गर्नु पर्दछ ।’कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतले चलचित्रको बिषयमा आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप