सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा भागबण्डा नमिल्दै माओवादी र एकीकृत समाजवादीबाट उम्मेदवार सिफारिस

गठबन्धनमा धक्का लाग्ने संकेत, कुन दलको अवस्था कस्तो ?
सोमबार, ०५ वैशाख २०७९, १२ : २४
सोमबार, ०५ वैशाख २०७९

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले धनगढी उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा आफ्नो उम्मेदवार सिफारिस गरेको छ । पाँच दलीय गठबन्धनको बैठकबाट स्थानीय तहमा भागबण्डाको टुङ्गो नलाग्दै दुई पार्टीले आफ्ना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका हुन् ।

नेकपा माओवादीको धनगढी नगर कमिटीले उपमहानगरपालिकाको प्रमुखमा शान्ति अधिकारीलाई उम्मेदवार बनाउन जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको छ भने उपप्रमुखमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम सिफारिस गरेको छ ।

नगर प्रमुखका उम्मेदवार अधिकारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा पराजित भएकी थिइन् । यता, नेकपा एकीकृत समाजवादीले धनगढी उपमहानगर प्रमुखको उम्मेदवारका रुपमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँ तथा उपमेयरमा रोजी बस्नेतको नाम सिफारिस गरेको छ । नगर प्रमुखको उम्मेदवारका रुपमा सिफारिस रेग्मी पार्टीको धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन् भने बानियाँ प्रदेश कमिटी सदस्य हुन् । उपमेयरमा सिफारिस बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले १९ वटा वडामा उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत गरेको छ । ‘वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुङ्ग्याउने छ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेदवार चयन गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए ।

नेपाली काँग्रेसले भने अहिलेसम्म उम्मेदवारको नाम सिफारिस गर्न सकेको छैन । यद्यपी काँग्रेसबाट नगर प्रमुखमा सात जना आकांक्षी छन् । नगर प्रमुखमा काँग्रेसबाट वर्तमान नगर प्रमुख नृपबहादुर वड, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा क्षेत्री, निवर्तमान जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, जागृति बोगटी र लक्ष्मीदत्त भट्टको दाबी  छ भने उपप्रमुख पदमा पुष्पा भट्ट, सुनिता राना, राना, प्रमिला लम्साल, डम्मरी महरा (रक्षा) र निपा चोखालले दाबी गरेका छन् ।

सत्ता गठबन्धनमा धनगढी उपमहानगरपालिकामा कुन दलको नगर प्रमुख र उपप्रमुख बनाउने भन्ने सहमति नहुँदै दुई पार्टीले आफ्ना उम्मेदवारको नाम सिफारिस गर्दा गठबन्धनमा समस्या आउने देखिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले भने आफ्नो प्रभाव क्षेत्रमा कुनै पनि हालतमा अन्य दललाई नदिने अडान राखेको छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुख, उपप्रमुख सहित काँग्रेस विजयी भएका वडामा काँग्रेसले नै पाउनुपर्ने बताए ।

‘धनगढी उपमहानगरपालिकामा हामी बलियो छौं । २०७४ सालको स्थानीय निर्वाचनमा हामी केही वडामा मात्र पराजय भएका थियौं । त्यो पनि हाम्रो पार्टीको आन्तरिक किचलोका कारण भएको थियो,’ उनले भने, ‘यहाँ कुनै पनि हालतमा नगर प्रमुख र उपप्रमुख हामी छोड्दैनौँ ।’

एमालेमा तीन जनाको चर्चा

नेकपा एमालेबाट पूर्व मेयर खेमराज पाण्डे, जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद जोशी र नेता रणबहादुर चन्दको उपमहानगर प्रमुखका आकांक्षी छन् । पाण्डे २०५४ सालमा मेयर निर्वाचित भएका थिए भने जोशी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उपमहानगरपालिका प्रमुखको उम्मेदवार थिए ।

२०७४ सालको निर्वाचनमा पाँचौ स्थानमा आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटक नगरप्रमुखमा आफ्नो उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । पार्टीका जिल्ला प्रवक्ता छत्र शाहीले भने, ‘हामीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई समर्थन गर्ने र उपप्रमुखलगायत अन्य पदमा उम्मेदवारी दिने निर्णय गरेका छौँ ।’

राष्ट्रिय जनमोर्चाबाट नगरप्रमुखमा चन्द्रबहादुर बिष्ट, खडक राना, नगरसचिव शिव जैशी र अञ्जना श्रेष्ठको चर्चा छ । विष्ट २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवार थिए भने राना २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका थिए ।

धनगढीमा स्वतन्त्र उम्मेदवारका रुपमा गोपाल हमालले मेयरमा दाबी गरेका छन् । व्यवसायी हमालले प्रचारप्रसार तीव्र बनाइसकेका छन् । हमाल २०७४ सालको निर्वाचनमा नगर प्रमुखमा दोस्रो स्थानमा रहँदै पराजित भएका थिए ।

सो निर्वाचनमा पराजित भएपछि विवेकशील साझा पार्टीको प्रदेश संयोजकको जिम्मेवारी लिएका हमालले पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा २०४६ को राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा नेपाली काँग्रेसले प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको थियो । २०५४ सालमा भएको निर्वाचनमा भने नेकपा एमाले विजयी भएको थियो ।

धनगढी उपमहानगरपालिका सहितको तत्कालीन क्षेत्र नम्बर ३ मा २०४८ सालको आम निर्वाचनमा काँग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेले जितेको थियो । २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः काँग्रेसले जित हासिल गरेको थियो । २०६२÷०६३ को सफल जनआन्दोलनपछिको पहिलो संविधानसभा सदस्य निर्वाचन (२०६४) मा धनगढीसहितको क्षेत्र नम्बर ६ बाट माओवादी केन्द्र विजयी भएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचन (२०७०) मा क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । सो निर्वाचनमा देउवा डडेल्धुराबाट पनि निर्वाचित भएका थिए ।

निर्वाचनपछि देउवाले कैलाली क्षेत्र नम्बर ६ छोडेपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसबाट पुस्करनाथ ओझा विजयी भएका थिए । त्यस्तै, २०७४ सालको संघीय निर्वाचनमा धनगढीसहितको क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका उम्मेदवार नारदमुनि राना विजयी भएका थिए ।

धनगढी उपमहानगरपालिका : २०७४ को निर्वाचन मतपरिणाम

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा ५४ हजार ६ सय ५६ मत खसेको थियो भने एक हजार दुई सय मत बदर भएको थियो । सो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेबाट उम्मेदवार रहेका दुर्गाप्रसाद जोशीले नौ हजार ९४६ मत प्राप्त गरेका थिए । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २०९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८२९, तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २३६ मत प्राप्त गरेका थिए ।

करिब १७ हजार मतदाता थपिए

पछिल्लो पाँच वर्षमा धनगढी उपमहानगरपालिकामा झण्डै १७ हजार मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनयता धनगढी उपमहानगरपालिकामा १६ हजार ७२१ मतदाता थप भई ९६ हजार १५१ पुगेका छन् । आगामी निर्वाचनका लागि उपमहानगरपालिकामा ४५ हजार ९२४ महिला, ४७ हजार २२४ पुरुष र तीन जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

२०७४ को निर्वाचनमा ३८ हजार पाँच सय ६१ महिला, ३७ हजार ८८६ पुरुष र तीन जना तेस्रो लिङ्गी गरी ७६ हजार ४३० मतदाता थिए । त्यसमध्ये उपमहानगरपालिकामा कुल मतदाताको ८७ दशमलव ११ प्रतिशत मत खसेको थियो । खसेको कुल मतमध्ये दुई दशमलव १९ प्रतिशत बदर भएको थियो ।

निर्वाचन कार्यालयमा २३ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् । धनगढी उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा ३३ वटा मतदान स्थल र ८६ वटा मतदान केन्द्र रहेकोमा आगामी निर्वाचनमा ३४ मतदानस्थल र १०४ केन्द्र रहने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप