मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

तोकिएको पुँजी वृद्धिमा बीमा कम्पनीलाई सकस, १४ वटाले बुझाएनन् कुनै योजना

सोमबार, १२ वैशाख २०७९, ११ : ५९
सोमबार, १२ वैशाख २०७९

बीमा समितिको पछिल्लो निर्देशन बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको निर्णय निकै सकसपूर्ण बनेको छ । समितिले अघिल्लो महिना मात्र एक निर्णय गर्दै जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पु-याउनु पर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम समितिले बैशाख १० गतेभित्र पुँजी वृद्धिको स्पष्ट खाकासहित योजना पेस गर्न समेत कम्पनीहरुलाई भनेको थियो । तर, तोकिएको समयसीमा भित्र जम्मा २४ वटा कम्पनीहरुले मात्र योजना पेस गरेको समितिले जनाएको छ । बाँकी १४ वटा कम्पनीले भने कुनै योजना बुझाउन सकेनन् ।

समितिका अनुसार जीवन बीमा कम्पनीमध्ये एसियन लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, महालक्ष्मी लाइफ, गुराँस लाइफ, मेट लाइफ, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल), सानिमा लाइफ, सिटिजन लाइफ, रिलायन्स लाइफ र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्म पुँजी वृद्धिको कुनै योजना पेश नगरेका हुन् । 

यस्तै, निर्जीवन बीमा तर्फ पनि सानिमा जनरल, आइएमई जनरल, एभरेस्ट, प्रोडेन्सियल, नेको, लुम्बिनी जनरल, शिखर, नेपाल इन्सुरेन्स, सगरमाथा, अजोड र जनरल इन्स्योरेन्स कम्पनीले हालसम्म योजना पेस नगरेको समितिले जनाएको छ । 

तोकिएको समयभित्र योजना नबुझाउने यी कम्पनीहरुलाई अब समितिले ऐन बमोजिम कारबाही गर्ने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । ‘कम्पनीहरुलाई हामीले एक महिनाको समय दिएका हौं । एक महिना भित्रपनि पुँजी वृद्धिको कुनै योजना पेश नगर्ने कम्पनीहरुलाई अब कारबाही हुन्छ । समितिले बीमा ऐनअनुसार कारबाही गर्छ’ उनले भने ।

तर, पुजी वृद्धिको योजना पेस गर्ने कम्पनीहरुले भने हकप्रद र बोनस सेयर दिएरै भएपनि पुँजी वृद्धि गर्ने योजना पेस गरेको अध्यक्ष सिलवालको भनाइ छ । सबल कम्पनीहरुले सकेसम्म आफैंले पुँजी वृद्धि गर्ने र संभव भए अरु कम्पनीहरुलाई आफुमा गाभेर (एक्वायर) गरेर भनेपनि पुँजी वृद्धि गर्ने रणनीति बनाएका छन् । तर, साना कम्पनीहरुलाई सकस परेको उनको भनाइ छ । 
हाल मुलुकमा जीवन र निर्जीवन गरेर ३९ वटा बिमा कम्पनीहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप