बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीबाट १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता

शनिबार, १७ वैशाख २०७९, ०९ : ४९
शनिबार, १७ वैशाख २०७९

रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको  छ । देशव्यापी रुपमा पनि उम्मेदवारी फिर्ता शुक्रबार सम्पन्न भएको छ । 

रुपन्देहीबाट सबै भन्दा बढी बुटवल उपमहानगरपालिकाका २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ४ जना प्रमुख, ४ जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी, ओमसतियाबाट ३ जना अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कंचनबाट ३ जना, कोटहीमाईबाट ५ जनाले, गैडहवाबाट २ जना, तिलोत्तमाबाट ९ जना र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

त्यसैगरि मायादेवी र रोहिणीबाट १–१ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जना, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जना, सैनामैनाबाट ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
 भैरहवा सिद्धार्थनगरबाट पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगर प्रमुखबाट एक जना, उपप्रमुखबाट २ जना र सदस्यबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

यस्तै, सम्मरीमाईबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा निवर्तमान पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुकी श्रीमती पनि रहेकी छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन । सम्मरीमाईबाट ४ जनाले उम्मेदवारी फिर्ता गराएका छन् ।

उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । यसका अलावा अन्य पार्टीका केही उम्मेदवार पनि रहेका छन् । उनीहरुमध्ये अधिकांशले हाल इच्छा नभएकोले स्वेच्छाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा १ बमोजिम नाम फिर्ता लिएका छन् भने केहीले, नेपाली कांग्रेस केन्द्रिय कार्यालयको पत्रानुसार उम्मेदवारको सूचीबाट नाम हटाएका छन् । 
  रुपन्देहीको १६ पालिका मध्ये मर्चवारीबाट कसैले उम्मेदवारी फिर्ता गरेको छैन । 

१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन् ।  त्यस्तै, १२४ जनाले पालिका अध्यक्षमा,  ७० जनाले उपप्रमुख , ९५ जनाले उपाध्यक्ष , १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडासदस्य गरी जम्मा ५ हजार ११ जनाले उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् । जिल्लामा ५ लाख ३६ हजार ८ सय ५ जना कुल मतदाता रहेका छन् ।

निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्नेछ । शुक्रबार अन्तिम नामावली प्रकाशन गरेसँगै आयोगले आज साँझ ५ बजेसम्म चुनाव चिह्न प्रदान गर्छ । चुनाव चिह्न पाएसँगै उम्मेदवारहरूले मौन अवधि सुरु हुन अघिसम्म निर्वाचनमा मतको लागि प्रचार-प्रसार गर्न पाउछन् । चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप