शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपालगन्ज उपमहानगर : धवल शमशेरको ‘ब्राण्ड’ चल्छ कि ढल्छ ?

शनिबार, २४ वैशाख २०७९, ०७ : ३१
शनिबार, २४ वैशाख २०७९

नेपालगञ्ज उपमहानगरको चुनावबारे चर्चा गर्नासाथ धवल शमशेर राणाको नाम अग्रपंक्तिमा आउने गर्दछ । किनकि पछिल्लो पाँच वर्ष उनले यो उपमहानगर प्रमुखका रुपमा काम गरेका छन् । आसन्न निर्वाचनमा उनी उम्मेदवार छैनन् । तर उनको दल राप्रपाले यो उपमहानगरमा उच्च मनोबलका साथ ठुला भनिएका दलसँग प्रतिस्पर्धा गर्दैछ । यहाँ राप्रपाले धवल शमशेरलाई नै ‘ब्राण्ड’ बनाएर चुनाव प्रचार गरिरहेको छ ।

हुन पनि धवल शमशेरले २०५४ सालमै नेपालगन्जलाई मेयरका रुपमा नेतृत्व गरेका थिए । उनले २०७४ सालमा फेरि प्रमुखका रुपमा नेपालगञ्ज उपमहानगरको नेतृत्व गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीसमेत रहेका राणाको व्यक्तित्वको प्रभाव पनि यहाँ राम्रै देखिन्छ । यस पटक स्थानीय तहको निर्वाचनमा उनले उम्मेदवारी दिएनन् तर उनको पार्टीले उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवार खडा गरेको छ । २०७४ को निर्वाचनमा धवल शमशेरले चमत्कार गरेझैं राप्रपाका उम्मेदवारले यो पटक पनि चमत्कार गर्लान् या नेपालगञ्जवासीले विकल्प रोज्ने हुन् भन्नेबारे चर्चा भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरमा राप्रपाबाट नन्दलाल वैश्य प्रमुखमा र बिन्दु चर्ती मगर उपप्रमुखमा उम्मेदवार छन् । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा राप्रपाको अवस्था नेपालगञ्जमा सबल रहेको दाबी गर्दछन् ।

‘महाधिवेशनबाट नयाँ नेतृत्व आएसँगै राप्रपाको पक्षमा देशभर लहर चलेको छ,’ उनले भने, ‘त्यो प्रभाव नेपालगञ्जमा झन् धेरै पर्छ । किनकि, यहाँ राप्रपाको जनाधार राम्रो छ ।’

उनका अनुसार उम्मेदवारको व्यक्तित्वको प्रभावले पनि राप्रपाको पक्षमा माहोल बनेको छ । राप्रपाबाट मेयरका उम्मेदवार बनेका वैश्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् भने उनी हिन्दुवादी संस्थामा पनि आवद्ध छन् । जसले गर्दा उनलाई पार्टीका सक्रिय सदस्यहरुको मतसँगै व्यापारी र केही हदसम्म हिन्दुको मत आउने आकलन गरिएको छ ।

नेपालगञ्जमा धवल शमशेर प्रभाव राम्रो रहेका कारण पनि राप्रपाको पक्षमा राम्रै मत आउने सो पार्टीका कार्यकर्ता बताउँछन् । नेपालगञ्जको मेयरका रुपमा धवल शमशेरले गरेका कामलाई नेपालगञ्जवासीले कसरी लिएका छन् भन्ने परीक्षण यसै निर्वाचनबाट हुँदैछ । किनकि, धवल शमशेरले स्थानीय निर्वाचन छाडेर आफू प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने मनसाय राखेका छन् । नेपालगञ्ज महानगरमा राप्रपाले जित हासिल गर्न नसकेको अवस्थामा संघीय संसदमा जाने धवल शमशेरको सपनामा पनि धक्का लाग्न सक्छ ।

राप्रपाबाट उपप्रमुखको उम्मेदवार चर्ती मगर यसअघि पनि उपप्रमुखमा उम्मेदवार थिइन् । उनी लामो समयदेखि राप्रपाको राजनीतिसँगै स्थानीय विभिन्न संघ संस्थामा सक्रिय रहँदै आएकी छन् । अर्कोतिर गठबन्धनतिर मेयर र उपप्रमुख दुवै पुरुष भएकाले महिलाहरुको मत आफूलाई आउने उनी बताउँछिन् ।

गठबन्धनबाट चुनौती

नेपालगञ्ज उपमहानगरमा सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेर उम्मेदवारी दिएका छन् । यहाँ गठबन्धनबाट काँग्रेसले प्रमुख र जसपा नेपालले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

सत्तारुढ गठबन्धनबाट प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्दीन राई उम्मेदवार छन् । गठबन्धनबीच तालमेल भएका कारण यी दलको मत एकै ठाउँमा परेको अवस्थामा अन्य उम्मेदवारका लागि जित त्यति सहज देखिँदैन । 

अर्कोतिर यहाँ नेकपा एमालेले प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्तिदेवी ढकाललाई उम्मेदवार बनाएको छ । यहाँ एमालेलाई पनि कम आँक्न नमिल्ने स्थानीय बुद्धिजीवी बताउँछन् ।

यस्तो अवस्थामा राप्रपाले एकातिर गठबन्धन र अर्कोतिर नेकपा एमालेको चुनौतीका बीच जित निकाल्न सहज भने देखिन्न ।

दल बदलेर आएकालाई टिकट

धवल शमशेर राणाले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी नदिने घोषणा गरेदेखि नै राप्रपाले यहाँ कसलाई उम्मेदवार बनाउँछ भन्नेमा धेरैको चासो थियो ।

राप्रपाबाट उपमहानगर प्रमुखमा उम्मेदवार बनेका नन्दलाल वैश्य नेकपा माओवादी केन्द्र छाडेर राप्रपामा आएका हुन् । माओवादी केन्द्रको नगरस्तरीय नेता रहेका उनी गठबन्धनबाट टिकट नपाउने भएपछि राप्रपामा प्रवेश गरेका हुन् । भर्खरै पार्टीमा आएका वैश्यलाई राप्रपाले ठुलो विश्वासका साथ उपमहानगर प्रमुखमा उम्मेदवार बनाएको त छ, तर उपमहानगरवासीले वैश्यलाई कति विश्वास गर्ने हुन् भन्ने हेर्न केही दिन कुर्नैपर्ने हुन्छ ।

पार्टी विभाजनको असर

यो निर्वाचनमा राप्रपाले पनि पार्टी विभाजनको मार झेल्दैछ । कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन भएपछि राप्रपाका केही नेता–कार्यकर्ता सो पार्टीमा आवद्ध भएका छन् । यहाँ राप्रपा नेपालले पनि उपमहानगर प्रमुख र उपप्रमुख दुवै पदमा उम्मेदवारी दिएको छ । राप्रपा नेपालबाट मेयरमा अभय बस्नेत र उपप्रमुखमा राजश्री शाह उम्मेदवार छन् ।

नेपालगञ्जमा उपमहानगरमा २०७४ सालको निर्वाचनमा राप्रपाले जितेका ३ वडामध्ये २ वटा वडाका अध्यक्ष राप्रपा नेपालमा प्रवेश गरेका छन् । त्यसैले राप्रपाका लागि राप्रपा नेपालले काट्ने मत पनि चुनौतीको विषय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप