मौसमी तापसँगै नेपालगञ्जमा चुनावी राप पनि उस्तै (तस्बिरहरु)
बाँके जिल्लाको नेपालगञ्ज देशका अत्यधिक गर्मी हुने सहरमध्ये एक हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालगञ्जमा मंगलबार अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस रहनेछ । वैशाखको अन्तिम हप्ता यहाँ तापक्रम जसरी बढ्दै छ, त्यसैगरी राजनीतिक माहोल पनि तात्दै गएको छ ।
विभिन्न पार्टीको केन्द्रमा बलियो पकड राख्ने नेताहरु उत्पादन गर्ने सहरको रुपमा समेत परिचित नेपालगञ्जमा स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि उत्कर्षमा पुगेको छ भने उम्मेदवार तथा विभिन्न दलका कार्यकर्ता चर्को गर्मीका बाबजुद प्रचारप्रसार अभियानमा जुटेका छन् ।

अटो रिक्सामा दलका झण्डा र चुनाव चिह्न राखेर गीत बजाउँदै प्रचार गर्नेदेखि स्थानीय पत्रपत्रिकामा उम्मेदवारमा ठुलाठुला तस्बिर राखेर विज्ञापन गर्नेसम्मका गतिविधि यहाँ देखिन्छ । निर्वाचन कार्यालयका अनुसार नेपालगञ्जमा मेयरमा १७ जना र उपमेयरमा ९ जना उम्मेदवार छन् । वडा अध्यक्ष र सदस्य गरी कुल ७७२ जनाले उम्मेदवारी दिएका छन् ।

धम्बोझी चोकका एमाले कार्यकर्ता भुवन शर्माका अनुसार केही दिनदेखि बिहान ८ बजेबाट उनी नेताहरुसँगै घरदैलो कार्यक्रममा हिँड्ने गरेका छन् । ‘निकै गर्मी छ तर पनि चुनावको रौनकले गर्मी मानेर बस्न पनि फुर्सद छैन,’ उनले भने, ‘नेता–कार्यकर्ता सबै दिनभर घरदैलोमै हुन्छौं ।’

गठबन्धनबाट मेयरका उम्मेदवार प्रशान्त विष्टदेखि लिएर एमालेका उम्मेदवार पशुपति दयाल मिश्र, राप्रपाका उम्मेदवार नन्दलाल वैश्य लगायत स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् ।
माओवादी केन्द्रका नगर इन्चार्ज नविन शर्माले सबै उम्मेदवार यतिबेला प्रचारप्रसारका क्रममा रहेको बताए । ‘प्रचारप्रसारको अन्तिम समयमा पुगेका कारण पनि सबैले जोडतोड लगाएका छन्,’ उनले भने, ‘अहिले आराम गर्ने छुट पनि छैन ।’

नेपालगञ्जमै सामान्य व्यवसाय गरेर बसेका अनिल वर्णवाल भने नेताहरुमा देखिएको यो व्यस्तता सदैव कायम रहने हो भने देशले विकासको ठुलो फट्को मारिसकेको हुन्थ्यो भन्छन् । ‘यिनीहरु चुनावको बेलामा मात्र यति सक्रिय हुने हुन्,’ उनले भने, ‘अघिपछि त उनीहरु जनताको घरदैलोमा यसरी किन पुग्थे र ?’

सय मिटरको दुरीमा विभिन्न पार्टीका सम्पर्क कार्यालय
नेता तथा उम्मेदवार मात्र होइन, कार्यकर्ताहरु पनि दौडधुपमा सक्रिय देखिन्छन् । नेपालगञ्जको त्रिभुवन चोकमा करिब एक सय मिटरभन्दा नजिक एकपछि अर्को पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएका छन्, जहाँ कार्यकर्ताहरूको जमघट र प्रचारप्रसारका योजना तयार हुन्छन् ।
एमाले, राप्रपा, राप्रपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीदेखि वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारका सम्पर्क कार्यालयसमेत यहीँ छन् । सम्पर्क कार्यालयमा उम्मेदवारचाहिँ भेटिँदैनन् तर कार्यकर्ताहरुको ओहोरदोहोर चलिरहन्छ ।
नेपालगञ्जमा गर्मीको ताप एकातिर बढ्दै जाँदा अर्कोतिर चुनावले पनि सबैलाई तताएको राप्रपाका सहायक महामन्त्री क्रृषिराज देवकोटाले बताए ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




