शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा थरीथरीका गठबन्धन, काँग्रेस र एमालेबीच पनि तालमेल

मङ्गलबार, २७ वैशाख २०७९, २० : २०
मङ्गलबार, २७ वैशाख २०७९

माओवादीको आधार क्षेत्र मानिएको रोल्पामा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर, ११ उपमहानगरसहित विभिन्न पालिकामा एमालेविरुद्ध तालमेल गरिरहँदा रोल्पामा भने चुनावी तालमेलको समीकरण पृथक देखिएको हो ।

रोल्पामा एक नगरपालिका सहित १० स्थानीय तह छन् । रोल्पाका कुनै पालिकामा पाँच दलीय गठबन्धन कायम छैन । बरु यहाँ काँग्रेस र एमालेबीच तालमेल भएको अनौठो परिदृश्य देखिएको छ ।

त्रिवेणी गाउँपालिका बाहेक जिल्लाको सबै स्थानीय तहमा माओवादी केन्द्रलाई नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले साथ दिएका छन् । यद्यपि, सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसले भने माओवादीविरुद्ध एमालेसँग तालमेल गरेको छ ।

माओवादीका कतिपय प्रभावशाली नेताहरू रोल्पाबाटै प्रतिनिधित्व गर्दछन् । त्यसैले यो जिल्ला माओवादी केन्द्रका लागि प्रतिष्ठाको विषय बनेको छ । माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व अर्थ मन्त्री वर्षमान पुन र पूर्व सभामुख ओन्सरी घर्तीको गृह जिल्ला पनि रोल्पा नै हो । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र माओवादी नेतृ जयपुरी घर्तीको समेत गृह जिल्ला रोल्पा नै हो ।

यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ र माओवादीका प्रवक्ता कृष्णबहादुर महराको समेत गृह जिल्ला रोल्पा नै हो । महराले आफ्नो चुनावी क्षेत्र दाङ क्षेत्र नम्बर २ लाई बनाए पनि उनले रोल्पा नगरपालिकाबाटै स्थानीय तहमा मतदान गर्ने छन् ।

केन्द्रीय गठबन्धनभन्दा विल्कुलै भिन्न तरिकाले यहाँ तालमेल भएकाले यस पटकको नतिजा कसको पोल्टामा जान्छ भन्ने आकलन गर्न कठिन छ । तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले माओवादी विरुद्ध काँग्रेस, एमाले, विप्लव समूह सहित सबै शक्ति एक ढिक्का भए पनि राम्रो नतिजा ल्याउने दाबी गरे ।

‘रोल्पामा काँग्रेसले ५ स्थानीय तह र ३६ वडा अध्यक्ष मागेका कारण गठबन्धन असम्भव भयो, तर माओवादीकै कारण तालमेल भएन भनेर हाम्रैविरुद्ध काँग्रेसले एमालेसँग तालमेल गर्‍यो,’ रातोपाटीसँग पुनले भने, ‘केन्द्रीय गठबन्धनको नीतिविरुद्ध काँग्रेसले रोल्पामा एमालेसहित विप्लव समूहसँग तालमेल गरेर अनैतिकता देखायो । त्यो राम्रो भएन ।’

२०७४ को स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिका सहित सात स्थानीय तह माओवादीले जितेको थियो । एमालेले त्रिवेणी र रुन्टीगढीमा जितेको थियो भने काँग्रेसले लुङ्गी गाउँपालिका जितेको थियो । यस निर्वाचनमा माओवादीलाई थप कमजोर बनाउन काँग्रेस, एमालेसहित विप्लव समूह एक ढिक्का भएकाले माओवादीमा ठुलो दबाब परेको छ ।

उम्मेदवारी दिनु अघि माओवादीले रोल्पामा काँग्रेससहित एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्न खोजेको थियो । काँग्रेसले रोल्पा नगरपालिका सहित ५ स्थानीय तह र एकीकृत समाजवादीले एमालेले जितेका दुई स्थानीय तहसहित तीन पालिकामा दाबी गरेपछि सहमति जुट्न सकेन । अन्ततः सत्तारुढ गठबन्धन घटकले आपसमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए । तर अन्त्यमा माओवादी विरुद्ध काँग्रेस, एमालेसहित स–साना पार्टीले चुनावी तालमेल गरेपछि माओवादी अप्ठ्यारोमा परेको हो ।  

रोल्पा नगरपालिकामा काँग्रेस–एमाले तालमेल

रोल्पा नगरपालिकामा माओवादीबाट मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यले उम्मेदवारी दिएका छन् । उनीहरूलाई एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सघाएको छ । काँग्रेस र एमालेले आपसमा तालमेल गर्दै यहाँ मेयरमा काँग्रेसका शेरबहादुर थापा र उपमेयरमा एमालेका घनश्याम आचार्यलाई उम्मेदवार बनाएका छन् । यो पालिकामा २०७४ को निर्वाचनमा मेयर र उपमेयर दुवै माओवादीले जितेको थियो ।

थवाङमा विप्लव समूहलाई काँग्रेस–एमालेको समर्थन

यस गाउँपालिकामा माओवादीबाट अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढामगरले उम्मेदवारी दिएका छन् । यहाँ काँग्रेस र एमालेले आफ्ना उम्मेदवारी फिर्ता गरेर विप्लव समूहका स्वतन्त्र उम्मेदवारलाई सघाएका छन् । यो पालिकामा विप्लव समूहका दलजित रोका मगरले अध्यक्षमा र रायबहादुर पुन मगरले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरूलाई काँग्रेस र एमालेले सघाएका छन् ।

यो पालिकामा पनि २०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले जितेको थियो । यो पालिकामा एकीकृत समाजवादी र जनमोर्चाको प्रभाव कम भएकाले उनीहरुले माओवादीकै उम्मेदवारलाई सघाउने भएका छन् ।

परिवर्तनमा माओवादीविरुद्ध काँग्रेस र एमालेबीच तालमेल

परिवर्तन गाउँपालिकामा माओवादीविरुद्ध काँग्रेस र एमालेले तालमेल गरेका छन् । यो पालिकाको अध्यक्षमा काँग्रेसबाट विश्वकुमार चन्द र उपाध्यक्षमा एमालेकी सपना रोका घर्ती मगरले उम्मेदवारी दिएकी छन् । माओवादीबाट अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्रीनी उम्मेदवार छन् । यो पालिकामा पनि एकीकृत समाजवादीले माओवादीलाई सघाएको छ । यहाँ यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले जितेको थियो ।

त्रिवेणीमा पनि काँग्रेस–एमाले तालमेल

यस गाउँपालिकामा माओवादीविरुद्ध काँग्रेस र एमालेले तालमेल गरेका छन् । यो पालिकाको अध्यक्षमा एमालेबाट कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा काँग्रेसका लेखमणि डाँगीले उम्मेदवारी दिएका छन् । एमालेसँग तालमेल गर्दै काँग्रेसले गाउँपालिका अध्यक्ष आशाकुमार पुन केसीको उम्मेदवारी फिर्ता गराएको छ । तर उपाध्यक्षमा एमालेकी जानकी बुढामगरले भने नाम फिर्ता लिएकी छैनन् । यद्यपि काँग्रेस र एमालेका नेताहरूले भित्रभित्रै सहमति भइसकेको दाबी गरेका छन् ।

यहाँ माओवादीले अध्यक्षमा रेशम पुन र उपाध्यक्षमा भागीसरा बन्दीपुरे खड्कालाई उम्मेदवार बनाएको छ । यहाँ नेकपा एकीकृत समाजवादीले पनि अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएको छ । सो पार्टीबाट अध्यक्षमा लालबहादुर खत्री र उपाध्यक्षमा प्रतीज्ञा बुढामगरले उम्मेदवारी दिएकी हुन् । यसअघिको निर्वाचनमा यो पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो । 

रुन्टीगढीमा माओवादी, एकीकृत समाजवादी र जनमोर्चाबीच तालमेल

यस गाउँपालिकामा माओवादीसहित नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् । अध्यक्षमा माओवादीका गोविन्द पुन मगर र उपाध्यक्षमा कौशिलाकुमारी जिसीले उम्मेदवारी दिएकी छन् ।

एकीकृत समाजवादी र जनमोर्चाले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिएका छैनन् तर माओवादीसँग तालमेल गर्दै उनीहरुले वडामा भाग लिएका छन् ।

काँग्रेसबाट अध्यक्षमा जनक पुन र उपाध्यक्षमा सरिता केसी उम्मेदवार छिन् । एमालेबाट अध्यक्षमा यामबहादुर दसौदी राना र उपाध्यक्षमा हस्तमाली बाँठामगर उम्मेदवार छिन् ।

यो पालिकामा २०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो ।

माडीमा माओवादीविरुद्ध काँग्रेस–एमाले तालमेल

माडी गाउँपालिकामा माओवादीविरुद्ध काँग्रेस र एमालेले तालमेल गरेका छन् । यो पालिकाको अध्यक्षमा एमालेका विजयकुमार घर्ती मगर र उपाध्यक्षमा काँग्रेसका कृष्णबहादुर विकले उम्मेदवारी दिएका छन् । माओवादीबाट अध्यक्षमा अमरसिंह घर्ती मगर र उपाध्यक्षमा जयपुरी घर्तीले उम्मेदवारी दिएकी छन् । काँग्रेस र एमालेले तालमेल गरेकाले यहाँ माओवादी ‘प्रेसर’मा छ । यहाँ पनि माओवादीलाई नेकपा एकीकृत समाजवादी र जनमोर्चाले साथ दिएका छन् ।

यसअघिको निर्वाचनमा यो पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले जितेको थियो ।

लुङग्रीमा त्रिपक्षीय भिडन्त

यस गाउँपालिकामा काँग्रेस, माओवादी र एमालेबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । माओवादीबाट अध्यक्षमा भरतकुमार थापा र उपाध्यक्षमा दिलकुमारी गुरुङले उम्मेदवारी दिएकी छन् । यहाँ माओवादी केन्द्रलाई एकीकृत समाजवादी र जनमोर्चाले साथ दिएका छन् । यद्यपि यहाँ उनीहरुको प्रभाव भने कम छ ।

यस्तै, काँग्रेसबाट अध्यक्षमा जनक खड्का र उपाध्यक्षमा मुन्नीदेवी रोका क्षेत्रीले उम्मेदवारी दिएकी छन् । एमालेबाट अध्यक्षमा बीरबहादुर खड्का र उपाध्यक्षमा विमला घर्तीमगरले उम्मेदवारी दिएकी छन् ।

विप्लव समूहबाट अध्यक्षमा भुपेन्द्र खड्का र उपाध्यक्षमा जानुमाया विकले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघिको निर्वाचनमा यो पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै काँग्रेसले जितेको थियो ।

गंगादेवमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल

यस गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका छन् । अध्यक्षमा माओवादीका वीरबहादुर खत्री र उपाध्यक्षमा एकीकृत समाजवादीका नेबबहादुर डाँगीले उम्मेदवारी दिएका छन् । तालमेल अनुसार यहाँ एकीकृत समाजवादीले उपाध्यक्ष र २ जना वडा सदस्यमा मात्रै उम्मेदवारी दिएको छ ।

एमालेबाट अध्यक्षमा रोशनकुमार ओली र उपाध्यक्षमा निर्मलाकुमारी ओलीले उम्मेदवारी दिएका छन् । यस्तै, काँग्रेसबाट अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिएकी छन् ।

यस्तै विप्लव समूहबाट केन्द्रीय सदस्य चुडामणि ओली र उपाध्यक्षमा सुशिला ओलीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसअघि अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जिते पनि एमाले झिनो मतान्तरले पराजित भएको थियो । अहिले एमाले विभाजन भएकाले माओवादी र एकीकृत समाजवादीले चुनाव जित्ने दाबी गरेका छन् ।

सुनछहरीमा विप्लव समूहलाई अध्यक्ष दिएर काँग्रेस–एमाले तालमेल

यस गाउँपालिकामा माओवादीलाई कमजोर बनाउन विप्लव समूहलाई अध्यक्ष दिएर काँग्रेस र एमालेले तालमेल गरेका छन् । काँग्रेस र एमालेको समर्थनमा विप्लव समूहबाट अध्यक्षमा पुस्तमन घर्ती मगरले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा भने काँग्रेसकी कोमबहादुर बुढा उम्मेदवार छिन् ।

यस्तै माओवादीबाट अध्यक्षमा धनबहादुर पुनमगर र उपाध्यक्षमा ननकला घर्तीले उम्मेदवारी दिएकी छन् । माओवादीले एकीकृत समाजवादी र जनमोर्चाको समर्थन जुटाउने प्रयास गरेको छ । यद्यपि, यहाँ उनीहरुको प्रभाव कमजोर छ । यसअघि यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले जितेको थियो ।

सुनिल स्मृतिमा काँग्रेस, राप्रपा र जनमोर्चाबीच तालमेल

यस गाउँपालिकामा काँग्रेससहित राप्रपा र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् । माओवादी र एमालेले एकल रुपमा प्रतिस्पर्धा गर्दै छन् ।

काँग्रेससहित राप्रपा र जनमोर्चाबाट अध्यक्षमा गन्जबहादुर क्षेत्री र उपाध्यक्षमा तेजकुमारी विष्टले उम्मेदवारी दिएकी छन् ।

माओवादीबाट अध्यक्षमा मणिराम बुढाथोकी र उपाध्यक्षमा मिना थापाले उम्मेदवारी दिएकी छन् । एमालेबाट अध्यक्षमा तारा सेन र उपाध्यक्षमा खीमचन्द्र पुन मगरले उम्मेदवारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप