आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी : गोकर्ण र प्रदीपलाई धक्का, रामकुमारीको गृह पालिकामा गठबन्धन विजयी

एमाले पहिलोबाट तेस्रो स्थानमा
बिहीबार, ०५ जेठ २०७९, १२ : ११
बिहीबार, ०५ जेठ २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गर्दा गुल्मीमा नेकपा एमालेलाई धक्का लागेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो दल भएको एमाले यसपटक तेस्रो स्थानमा झरेको छ ।

जिल्लाका १२ पालिकामध्ये एमालेले दुई वटा गाउँपालिका र एउटा नगरपालिकामा नेतृत्व पाएको छ । नेपाली काँग्रेसले एउटा नगरपालिका र चार गाउँपालिकाको नेतृत्व पाएको छ भने नेकपा माओवादी केन्द्रले चार गाउँपालिकाको नेतृत्व पाएको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गृह पालिका रुरुक्षेत्र गाउँपालिका यसपटक एमालेले गुमाएको छ । सो गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका यदु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ५ हजार ८१७ मत ल्याएर नेकपा एमालेका हिमाल कुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

सत्तारुढ दलको गठबन्धनका कारण एमालेका सचिव गोकर्ण विष्टलाई पनि धक्का लागेको छ । विष्टको गृहपालिका इस्मा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भगतसिंह खड्का अध्यक्षमा निर्वाचित भएका छन् । खड्काले ५ हजार ५८९ मत ल्याएर एमालेका हिरा बहादुर अर्याललाई पराजित गरे । अर्याल ५ हजार ४६४ मतमा सीमित भए ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको गृह पालिकामा मदाने गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ । मदानेको अध्यक्षमा नेपाली काँग्रेसबाट चुनाव लडेका महेन्द्र बहादुर कुँवर निर्वाचित भए । २०७४ मा भएको स्थानीय तह निर्वाचतमा मदाने गाउँपालिका नेकपा एमालेले जितेको थियो ।

इस्मा गाउँपालिका

२०७४ मा इस्मा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार लक्ष्मण बहादुर विष्ट अध्यक्षमा निर्वाचित भएका थिए । ५ हजार ५५ मत ल्याएका उनले नेपाली काँग्रेसका चन्द्रबहादुर महतलाई पराजित गरे । महत ४ हजार मतमा खुम्चिएका थिए । उपाध्यक्षमा एमालेकी उम्मेदवार बिमला खत्रीले विजय हासिल गरेकी थिइन् । बिमलाले ४ हजार ९१३ मत पाएकी थिइन् भने काँग्रेसकी गीता उपाध्याय (घिमिरे)ले ३ हजार ७१८ मत पाइन् ।

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेको सो किल्ला गठबन्धनले तोडेको छ ।  अहिले नेपाली काँग्रेसका उम्मेदवार भगतसिंह खड्का ५ हजार ५८९ मतसहित निर्वाचित भएका छन् । उनले एमालेका हिरा बहादुर अर्याललाई पराजित गरे । अर्यालले ५ हजार ४६४ मत पाए । उपाध्यक्षमा काँग्रेसकी पार्वती कुँवर ५ हजार ९०९ मतसहित निर्वाचित भइन् । उपाध्यक्षमा एमालेकी बिमला खत्रीले ५ हजार १२१ मत ल्याइन् । इस्मा गोकर्ण विष्टको गृह पालिका हो । सो पालिकामा सत्तारुढ दल काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

कालीगण्डकी गाउँपालिका

कालीगण्डकी गाउँपालिकाको अध्यक्ष २०७४ मा नेपाली काँग्रेसका बेदबहादुर थापाले जितेका थिए । यसपटक पनि उनैले अध्यक्षमा जित हासिल गरेका छन् । २०७४ मा थापाले ४ हजार २९८ मत ल्याएर एमालेका टिकाराम ढकाललाई पराजित गरेका थिए । त्यतिबेला ढकालले ३ हजार ७७० मत ल्याएका थिए । उपाध्यक्षमा नेकपा एमालेकी तारा थापा निर्वाचित भएकी थिइन् । थापाले ३ हजार ८५६ मत ल्याएकी थिइन् । उनले माओवादी केन्द्रका ओमप्रसाद न्यौपानेलाई पराजित गरेकी थिइन् ।

यसपटक फेरि अध्यक्षमा जित हासिल गरेका बेदबहादुर थापाले ४ हजार ८१० मत ल्याएका छन् । उनले एमालेका रामजी ढकाललाई हराए । ढकालले ४ हजार ६७७ मत ल्याए । यसपटक उपाध्यक्षमा नेकपा एमालेकी मञ्जु कुमारी दर्लामीले जितिन् । मञ्जुले ४ हजार ४८४ मत ल्याइन् । उनले राष्ट्रिय जनमोर्चाकी तारा थापालाई हराइन् । ताराले ४३८४ मत पाइन् ।

गुल्मीदरबार गाउँपालिका

यसपटकको स्थानीय तह निर्वाचनमा गुल्मीदरबार गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सरोज कुमार थापा निर्वाचित भएका छन् । उनले ६ हजार १६६ मत ल्याए । थापाले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर भुसाललाई पराजित गरे । भुसालले ५ हजार ६०२ मत पाए । उपाध्यक्षमा काँगे्रसकी तारा थापा ढेगा निर्वाचित भइन् । उनले ६ हजार २७७ मत ल्याइन् । उपाध्यक्ष्यमा एमालेकी शुसिला पुनले ५ हजार ५०० मत पाइन् । उनी दोस्रो पटक पराजित भएकी हुन् ।

२०७४ को स्थानीय तह निर्वाचमा गुल्मीदरवारमा नेपाली काँग्रेसका अशोक कुमार थापा अध्यक्षमा निर्वाचित भएका थिए । थापाले ५ हजार ५७५ मत ल्याएर नेकपा एमालेका कृष्ण बहादुर भुसाललाई पराजित गरेका थिए । उपाध्यक्षमा काँग्रेसकी मिना भण्डारीले जितेकी थिइन् । भण्डारीले ५ हजार ६०८ मत ल्याउँदा उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एमालेकी उम्मेदवार शुसिला पुन ४ हजार ७१८ मतमा सीमित भएकी थिइन् ।

चन्द्रकोट गाउँपालिका

चन्द्रकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज खत्री क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् । क्षेत्रीले ५ हजार ७०० मत ल्याएर निर्वाचित भएका हुन् । उनले एमालेका चेतन बहादुर बस्नेतलाई हराए । बस्नेतले ३ हजार २४७ मत पाए । उपाध्यक्षमा काँग्रेसका विष्णु प्रसाद भण्डारी निर्वाचित भए । भण्डारीले ५ हजार १६ मत हासिल गरेका छन् । उनले एमालेकी राधिका अर्याललाई पराजित गरेका हुन् । राधिका ३ हजार ८१६ मतमा सीमित भइन् । चन्द्रकोटमा सत्तारुढ दलहरुले गठबन्धन गरेर चुनाव लडेका थिए ।

२०७४ मा चन्द्रकोटको अध्यक्ष काँग्रेसका द्रोण बहादुर खत्रीले जितेका थिए । ३ हजार ३४० मत ल्याएर जितेको खत्रीले एमालेका मिम लाल श्रेष्ठलाई हराएका थिए । मिमलालले ३ हजार ६२ भोट ल्याएका थिए । उपाध्यक्ष पदमा एमालेकी राधिका अर्याल ३ हजार २३२ मतसहित निर्वाचित भएकी थिइन् । राधिकाले नेपाली काँग्रेसकी भगवति अर्याललाई पराजित गरेकी हुन् । भगवतिले ३ हजार १८२ मत पाएकी थिइन् ।

छत्रकोटमा चन्द्र भण्डारीलाई धक्का

२०७४ मा छत्रकोट गाउँपालिकामा विजय हासिल गरेको नेकपा एमालेले सो पालिका यसपटक पनि जित हासिल गरेको छ । छत्रकोटमा गठबन्धन भएको थिएन । गठबन्धन नगर्दा सो गाउँपालिकामा काँग्रेस नेता चन्द्र भण्डारीलाई धक्का लागेको छ । छत्रकोट चन्द्र भण्डारीको गृह पालिका हो ।

छत्रकोट गाउँपालिका अध्यक्षमा यसपटक नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेय विजयी भएका छन् । पाण्डेयले ६ हजार ५८६ मत ल्याएका छन् । उनले नेपाली काँग्रेसका अनन्तराम पौडेललाई हराए । पौडेलले ५ हजार ९४८ मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेकी सावित्रा ज्ञवालीले ६ हजार ४७२ मतसहित चुनाव जितिन् । ज्ञवालीले राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरलाई पराजित गरिन् । मगरले ५ हजार १२४ मत ल्याए ।

२०७४ मा छत्रकोट गाउँपालिकाको अध्यक्षमा एमालेका मधुकृष्ण पन्त विजयी भएका थिए । उनले  ५ हजार ५५१ भोट ल्याएर नेपाली काँग्रेसका अनन्तराम पौडेललाई पराजित गरेका थिए । त्यतिबेला ५ हजार ११४ मत ल्याएका पौडेल यसपटक पनि पराजित भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी नर्मदा भण्डारी ५ हजार ४७६ मतका साथ निर्वाचित भएकी थिइन् । नर्मदाले माओवादी केन्द्रका राम प्रसाद पाण्डेयलाई पराजित गरेकी हुन् ।

धुर्कोट गाउँपालिका

धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले लगातार आफ्नो बर्चस्व कायम राखेको छ । धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ८९ मत ल्याएर काँग्रेसका महेन्द्र प्रसाद भण्डारीलाई हराए । भण्डारी ४ हजार २६१ मतमा सीमित भए । २०७४ मा पनि भुपाल पोखरेलले अध्यक्षमा जितेका थिए ।

यसपटक उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएकी छन् । सीताले ६ हजार १ मत ल्याइन् । उनले नेकपा एकीकृत समाजवादीकी चन्द्र बहादुर सुनारलाई पराजित गरिन् । सुनारले ३ हजार ४८८ मत ल्याए ।

२०७४ को स्थानीय तह निर्वाचनमा धुर्कोटको उपाध्यक्षमा उपाध्यक्षमा नेपाली काँग्रेसका शिव बहादुर खत्री निर्वाचित भएका थिए । खत्रीले ४ हजार ९१९ मतसहित एमालेकी रिता काउछा थापालाई पराजित गरेका थिए ।

मदाने गाउँपालिका

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीको गृह पालिका मदाने गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ । मदाने गाउँपालिका अध्यक्षमा काँग्रेसका महेन्द्र बहादुर कुँवर निर्वाचित भएका छन् । कुँवरले ४ हजार ७०७ मत ल्याएर एमालेका प्रेम बहादुर केसीलाई पराजित गरे । केसीले ४ हजार ६९७ मत पाए । उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का निर्वाचित भइन् । खड्काले ४ हजार ५६७ मत ल्याउँदै माओवादी केन्द्रका बेगम बहादुर चन्द बोहोरालाई पराजित गरिन् । बोहोरा ४ हजार २११ मतमा सीमित भए ।

२०७४ मा मदाने गाउँपालिकाको अध्यक्ष एमालेका दान बहादुर खत्री क्षेत्रीले जितेका थिए । उनले ४ हजार ४२३ मत ल्याएर नेपाली काँग्रेसका महेन्द्र बहादुर कुँवरलाई पराजित गरेका थिए । कुँवर त्यसबेला  २ हजार ९५७ मतमा खुम्चिएका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सांसद दिनेश पन्थीको गृहपालिका मदाने यसपटक नेकपा एमालेले गुमाएको छ । २०७४ मा सो पालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार सरिता खड्का निर्वाचित भएकी थिइन । खड्काले ४ हजार २११ मत ल्याएर काँग्रेसकी शुसिला भुसालाई हराएकी थिइन् ।

मालिका गाउँपालिका

मालिका गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनले विजय हासिल गरेको छ । मालिका गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीराम अर्याल निर्वाचित भएका छन् । अर्यालले ६ हजार १७६ मत ल्याएर नेकपा एमालेका उम्मेदवार रित बहादुर थापालाई हराए ।

२०७४ मा भने रित बहादुर थापाले सो पालिका जितेका थिए । यसपटक थापा ४ हजार ६१७ मतमा सीमित भए । उपाध्यक्षमा नेपाली काँग्रेसका उपेन्द्र अर्याल निर्वाचित भएका छन् । उनले ६ हजार ३३४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रनमाया पुनले ४६९२ मत ल्याइन् ।

२०७४ मा मालिकाको उपाध्यक्षमा एमालेकी उम्मेदवार देवा रिजा निर्वाचित भएकी थिइन् । देवाले ४ हजार ६५ मतसहित काँग्रेसकी सिता अर्याललाई पराजित गरेकी थिइन् ।

मुसिकोट : भत्किएन एमाले किल्ला

गठबन्धन घटकले मुसिकोट नगरपालिकामा एमालेको किल्ला भत्काउन सकेनन् । गठबन्धन दल मिलेर चुनाव लडेको मुसिकोट नगरपालिकाको मेयरमा नेकपा एमालेका जीबलाल खरेल ‘जीवन’ निर्वाचित भएका छन् । जीवनले ७ हजार ३९९ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार हरिनारायण सापकोटालाई हराए । हरिनारायणले ६ हजार ६०६ मत पाए । उपप्रमुखमा नेकपा एमालेबाट गंगा महतले जित हासिल गरेकी छन् । उनले ७ हजार ११ मत ल्याइन् । गंगाले नेकपा एकीकृत समाजवादीका श्रीराम महतलाई पराजित गरिन् ।

२०७४ मा मुसिकोटको मेयर एमालेका सोमनाथ सापकोटाले जितेका थिए । त्यसबेला सापकोटाले ६ हजार ६६८ मत ल्याएर नेपाली कांग्रेसका कृष्णहरी सापकोटलाई हराए । उपमेयरमा नेकपा एमालेकी कमला गौतमले जितेकी थिइन् । उनले ६ हजार ६०७ मत सहित काँग्रेसकी विष्णु कुमारी सापकोटालाई हराएकी थिइन् ।

रुरुक्षेत्र गाउँपालिका

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गृह पालिका रुरुक्षेत्र यसपटक एमालेले गुमाएको छ । रुरुक्षेत्रको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली निर्वाचित भएका छन् । ५ हजार ८१७ मत ल्याएर निर्वाचित ज्ञवालीले एमालेका हिमाल कुमार श्रेष्ठलाई हराए । श्रेष्ठले ४ हजार ५४० मत पाए । उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मिना देवी गौतमले जित हासिल गरिन् । गौतमले ५ हजार ४५१ मत ल्याएर नेपाली काँग्रेसकी दुर्गा ज्ञवालीलाई हराइन् ।

२०७४ मा रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा एमालेका निलकण्ठ गौतम निर्वाचित भएका थिए । गौतमले ५ हजार २२२ मत ल्याएर माओवादी केन्द्रका यदु ज्ञवालीलाई पराजित गरेका थिए । गठबन्धन भएसँगै ज्ञवालीले सो पालिकामा कमब्याक गरेका हुन् । २०७४ मा उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी देवी पन्थले जितेकी थिएन् । उनले नेपाली काँग्रेसका देवेन्द्र मल्ललाई हराएकी थिइन् ।

रेसुङ्गा नगरपालिका

रेसुङ्गा नगरपालिका यसपटक एमालेले गुमाएको छ । रेसुङ्गाको मेयरमा नेपाली काँग्रेसका खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले ८ हजार ६१४ मत ल्याएर एमालेका राजेन्द्र प्रसाद पाण्डेयलाई हराए । पाण्डेयले ७ हजार ३२० मत पाएका छन् ।

२०७४ मा रेसुङ्गामा एमालेका डिल्लिराज भुसाल मेयरमा निर्वाचित भएका थिए । भुसालले ६ हजार ४०५ मत ल्याएर नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठलाई हराएका थिए । श्रेष्ठले ६ हजार २१८ मत ल्याए ।

सत्यवती गाउँपालिका

सत्यवती गाउँपालिका नेपाली काँग्रेसले गुमाएको छ । २०७४ मा यो गाउँपालिकाको अध्यक्ष काँग्रेसका पारिश्वर ढकालले जितेका थिए । ५ हजार १९७ मतसहित ढकालले नेकपा एमालेका अम्मर सिं सिजापतीलाई हराएका थिए । 

यसपटक सत्यवतीको अध्यक्षमा नेकपा एमालेका टीका राम पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ६ हजार २६७ मत ल्याएर काँग्रेसका पारिश्वर ढकाललाई हराए । पारिश्वर ५ हजार ६११ मतमा सीमित भएका छन् । उपाध्यक्षमा नेकपा एमालेका निरमाया तरामु विजयी भइन् । उनले ६ हजार २२४ मत पाएकी छन् । तरामुले काँग्रेसकी तेज कुमारी थापालाई पराजित गरिन् ।

२०७४ मा सत्यवती गाउँपालिको उपाध्यक्षमा नेकपा एमालेकी सुवर्ण शाही शेरचन निर्वाचित भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप