आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस–माओवादीको ‘केमेष्ट्री’लाई चिर्दै वीरेन्द्रनगरको प्रमुखमा एमालेकी मोहनमाया निर्वाचित

बिहीबार, ०५ जेठ २०७९, २१ : २७
बिहीबार, ०५ जेठ २०७९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मोहनमाया ढकाल (भण्डारी)ले विजय प्राप्त गरेकी छन् । उनले नेपाली काँग्रेसका उपेन्द्र बहादुर खड्कालाई ५५४ मतान्तरले पराजित गरिन् । निर्वाचित ढकालले १६ हजार ३८ मत प्राप्त गरिन् भने खड्काले १५ हजार ४८४ मत पाए । ढकाल निवर्तमान उपमेयर हुन् ।

यहाँ नेपाली काँग्रेस र नेकपा माओवादीबीच तालमेल भएको थियो । सत्तारुढ दुई दलबीच तालमेलका बाबजुद मोहनमायाले बाजी मारेकी हुन् । प्रमुख पदमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत प्राप्त गरे ।

२०७४ सालमा यहाँ नेपाली काँग्रेसका देव कुमार सुवेदीले प्रमुखमा जितेका थिए । ०७४ मा नगर प्रमुखमा एमालेका उम्मेदवार बालाराम शर्माले १३ हजार ८९९ मत पाएका थिए भने तेस्रोमा माओवादी, चौथोमा स्वतन्त्र र पाँचौंमा राप्रपा थियो ।

यो पटक प्रमुखमा राप्रपा बलियो शक्ति केन्द्रका रुपमा चुनावी मैदानमा होमिएको थियो । तर विजय प्राप्त गर्न सकेन । वीरेन्द्रनगरका पुराना नेता मुकुन्दश्याम गिरी २०६१ सालमै वीरेन्द्रनगरको मेयर बनेका थिए ।

उपप्रमुखमा नेकपा एमालेका निलकण्ठ खनाल भारी मतका साथ विजयी भएका छन् । उनले २० हजार ३६४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी शान्ति ढकाल ‘सन्ध्या’ले ११ हजार ५३ मत प्राप्त गरिन् । उनी काँग्रेस–माओवादीकी साझा उम्मेदवार हुन् ।

आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक सबै हिसाबको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिकालाई दलहरुले प्रतिष्ठाको विषय बनाएका थिए । ०७४ मा जिल्लाभर आफ्नो गढ बनाएको काँग्रेसले यो पटक राजधानीको नगरमा पराजय भोग्नुको मुख्य कारण नै पार्टीभित्रको आन्तरिक द्वन्द्व भएको नेताहरु बताउँछन् । काँग्रेस उपसभापति पुर्णबहादुर खड्का र काँग्रेस नेता हृदयराम थानीबीच पार्टीभित्रै कडा प्रतिस्पर्धा हुँदै आएको छ । चुनाव हुनुभन्दा अघि नै थानी पक्षले ४० प्रतिशत हिस्सा खोजेको थियो । तर संस्थापन पक्षले त्यसको सुनुवाई गरेन ।

वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा विजयी भएकी को हुन् मोहनमाया ?

०७४ सालको स्थानीय तहको निर्वाचनमा अग्रस्थानमा मत ल्याएर उपप्रमुख बनेकी मोहनमाया कर्णालीका महिला नेतृमध्ये एक अब्बल, बौद्धिक नेता हुन् । वीरेन्द्रनगर–१६ गर्पन मेहेलीमा २०३६ साल चैत ७ गते जन्मिएकी उनी  अहिले वीरेन्द्रनगर नगरपालिका–८ की स्थायी बासिन्दा हुन् । पाँच वर्षे कार्यकाल उपप्रमुख भएर चलाएकी उनले बीचमा लामो समय कार्यवाहक नगरप्रमुखको जिम्मेवारी समेत निर्वाह गरेकी थिइन् ।

कोरोनाभाइरस (कोभिड–१९)को महामारीमा पनि ढकालले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिन् । जसका कारण उनको प्रशंसा चुलिएको थियो । ०५६ सालमा वीरेन्द्रनगरकै शिक्षा क्याम्पसबाट अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य हुँदै राजनीतिको फराकिलो यात्रा तय गरेकी ढकाल अहिले एमालेको जिल्ला सह–इञ्चार्जको भूमिका छन् भने केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा छिन् ।

पाँच वर्षे कार्यकालमा न्यायिक समितिको संयोजक हुँदा उनले महत्वपूर्ण कार्य गरेकी छन् । महिला हिंसा र सामाजिक विकासको क्षेत्रलाई प्राथमिकतामा राख्दै उनले स्वच्छ, सुन्दर वीरेन्द्रनगर बनाउने संकल्पका साथ प्रमुख बन्ने चाहना व्यक्त गरेकी थिइन् । नभन्दै उनी नगरपालिकाको प्रमुखमा निर्वाचित भइन् ।

२०६० सालदेखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल ०६२ मा पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् । दुई कार्यकाल अखिल नेपाल महिला संघको नेतृत्व चलाएको अनुभव पनि उनीसँग छ । उनले भनिन्, ‘मैले उपप्रमुख भएर सहजताका साथ जिम्मेवारी पूरा गरेकाले नै प्रमुख भएर पनि नगरपालिकालाई हाँक्न सक्छु भन्ने अठोटका साथ प्रमुखमा लडेको हो । जबसम्म सामाजिक विकासलाई परिवर्तन गर्न सकिँदैन तबसम्म अन्य विकासले खासै अर्थ राख्दैन ।’

सामाजिक विकासका लागि महिला नेतृत्वमा आउन आवश्यक हुने उनको भनाइ छ । पाँच वर्षे कार्यकाल विवादरहित बनाएकी ढकालले राजनीतिकशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी छन् । ढकालले प्रदेश राजधानीमा एमालेको पुरानो विरासतलाई फर्काएको एमालेका नेताहरु बताउँछन् ।

२०४९ र ०५४ सालमा पनि यहाँ एमालेले जितेको थियो । ०४९ मा पूर्व मन्त्री एवं एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेल मेयरमा निर्वाचित भएका थिए भने ०५४ मा बालाराम शर्मा मेयरमा चुनिएका थिए । शर्मा वीरेन्द्रनगरका परिचित नेता हुन् ।

वीरेन्द्रनगरमा विगतदेखि नै काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप