अमृता मृत्यु प्रकरण : दुई महिनादेखि शव अस्पतालमा, परिवार र माइती पक्ष अदालतमा
बुटवल । चैत ३० गते शङ्कास्पद मृत्यु भएको भनिएकी तिलोत्तमा नगरपालिका, जानकी नगरकी २९ वर्षीय अमृता खत्री टण्डनको शव अझै अस्पतालमै छ भने माइती र परिवार पक्ष एक अर्कोलाई दोष लगाउँदै अदालत पुगेका छन् ।
घर पक्षले अन्त्येष्टि गर्न पाउनुपर्ने भन्दै माइती पक्ष र अधिकारकर्मी संस्थाविरुद्ध अदालतमा रिट निवेदन दायर गरेको छ भने माइती पक्षले अमृताका सासुससुरालाई पनि थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै रिट निवेदन दिएको छ ।
गत चैत ३० गते राति लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी अमृताको शव झन्डै दुई महिना हुँदा पनि अन्त्येष्टि हुन सकेको छैन । अमृताको शव अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
घर पक्षले उच्च अदालत तुलसीपुर बुटवलमा आफ्नो परिवारको सदस्यको शवलाई कुल धर्म संस्कार अनुसार अन्त्येष्टि गर्न अवरोध भएको भन्दै रिट निवेदन दायर गरेको छ । रिट निवेदनमा इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, मेची महाकाली बुहारी अभियान र अमृताको माइती पक्षलाई विपक्षी बनाइएको छ ।

माइती पक्षले भने अमृताको मृत्यु नभई हत्या भएको आरोप लगाउँदै आएको छ । मृत्यु भएदेखि नै आन्दोलनमा उत्रिएको माइती पक्षले मृतकका सासु दिपा टण्डन र ससुरा टहलसिंह टण्डनलाई जिल्ला अदालतले रिहा गरेकोका असन्तुष्टि जनाएको छ । जिल्ला अदालतको उक्त आदेशलाई चुनौती दिँदै माइती पक्षले उच्च अदालतमा रिट निवेदन दिएको मृतकका दाजु पुष्पक खत्रीले रातोपाटीलाई बताए ।
उनले भने, ‘उहाँहरूले हामी लगायतलाई विपक्षी बनाएर अदालतमा रिट हाल्नु भएको रहेछ, हामीले पनि हत्यामा संलग्न रहेको आशङ्का भएका सासु र ससुरालाई पक्राउ गरी कारबाही गर्न माग गर्र्दै अदालतमा रिट दिएका छौं ।’
यसअघि जिल्ला अदालत रुपन्देहीले अमृताका श्रीमान् प्रेम टण्डनलाई पुर्पक्षका लागि थुनामा पठाएको भए पनि सासु र ससुरालाई प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको थियो । दुवै पक्ष अदालतमा जाँदा अमृताको शव भने अन्त्येष्टि हुन सकेको छैन ।
मृत्यु शंकास्पद भन्दै माइती पक्षले श्रीमान् प्रेम टण्डन, उनका बुबा टहलसिंह टण्डन र आमा दिपा टण्डनविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिनुका साथै कारवाहीका लागि दबाबस्वरुप सडक आन्दोलनमा उत्रिएका थिए । अधिकारकर्मीहरूले पनि अमृताको न्यायका लागि भन्दै आन्दोलन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रवीन्द्र रेग्मीले माइती पक्षको आन्दोलन मत्थर देखिए पनि शवको अन्त्येष्टि गर्नेतर्फ चासो नदेखाएको बताए । माइती पक्षले दाहसंस्कार गरेमा हत्या गरेको प्रमाण नष्ट हुने र दोषीहरू उम्कने जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण