सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : ‘रातो किताब’को विषयमा लफडा

बुधबार, ०८ असार २०७९, १७ : ४६
बुधबार, ०८ असार २०७९

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रम पुस्तिका ‘रातो किताव’को विषयमा प्रदेश सभा सदस्यहरुले विरोध जनाएका छन् । रातो किताबमा थुप्रै त्रुटि र आर्थिक सुशासनविपरितका गतिविधि देखिएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।

प्रदेश सभा सदस्यहरुले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार असार १ गते आगामी आर्थिक वर्षको बजेट पेश गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबारदेखि अघि बढाउने तयारी गरेको थियो । मंगलबारमात्र वार्षिक विकास पुस्तिका प्राप्त गरेका प्रदेशसभा सदस्यहरुले किताबमा त्रुटिपूर्ण ढंगले विषयहरु उल्लेख गरिएको, बजेट वितरण न्यायोचित नभएको, झ्यालबाट छिराएका योजनाहरु समेटिएको, प्रदेश सभा सदस्यहरुले माग गरेका योजनालाई लत्याइएको आरोप लगाएका छन् । पुस्तिकाका त्रुटिहरु नसच्चिएसम्म बैठक अघि बढ्न नदिने नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खडकाले बताए ।

‘रातो किताबलाई सरसर्ती हेर्दा वित्तीय अनुशासन कायम भएन । सन्तुलन पनि छैन । विषयगत कारणबाट आएका योजनाहरुको प्रकृति हेरेर यथोचित सम्बोधन गरिएको छैन’, उनले भने, ‘माननीयहरुले पठाएका योजनाहरु पनि अधिकांश बाइपास गरियो । छिद्रबाट आएका योजना जो झ्यालबाट आएका छन् त्यस्तामा ९० लाख, एक करोड तथा पचास लाख रकम योजनामा छुट्याइएको छ । योजना सम्पन्न भइसकेका योजनामा पनि पुनः बजेट विनियोजन गरेको देखियो । अराजक तरिकाको बजेट भएकाले यथास्थितिमा बजेटमाथिको छलफल अघि बढाइँदैन ।’ उनले सन्तुलित र वित्तीय अनुशासन पालना गरेर नल्याएसम्म सत्तापक्ष र प्रतिपक्षी नभन्ने बताए । उनले सरकारले दुई तिनदिनभित्र बजेटलाई परिस्कृत गर्ने आश्वासन दिएको पनि बताए ।  

सरकारले भने प्रदेशसभा सदस्यहरुको हातमा ढिला गरी वार्षिक पुस्तिका पुगेकाले बुधबारको बैठक स्थगित गराउनुपरेको प्रतिक्रिया दिएको छ । प्रदेशसभा सचिवालयका देवबहादुर बोगटीले कार्यपरामर्श समितिको बैठकमा बजेट पुस्तिका अध्ययन गर्न माग भएपछि १२ गतेसम्मका लागि बैठक स्थगित गर्नुपरेको बताए । ‘मंगलबारमात्र प्रदेशसभा सदस्यहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका (रातो किताब) प्राप्त गर्नुभएको हो’, उनले भने, ‘पुस्तिका अध्ययन नगरी के बोल्ने भन्दै उहाँहरुले नै बैठक स्थगित गर्न माग गरेपछि बैठक सारिएको हो ।’

जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य मालामति रानाले रातो किताबको आवरण नै गलत रहेको बताइन् । उनले विगतमा रातो देखिने गरी किताब ल्याइने गरेकोमा अहिले नीलो बनाई ल्याइएको भन्दै सो पुस्तकलाई ‘ब्लु बुक’ को संज्ञा दिइन् । ‘रेड बुक त नभनौं । ब्लु बुकभित्र थुप्रै त्रुटि छन् । सत्तापक्ष र प्रतिपक्षी कसैको पनि यसमा चित्त बुझेको छैन,’ उनले भनिन् ।  उनले पनि प्रदेशसभा सदस्यहरुबाट सरकारले योजना माग गरेपनि पुस्तकमा नसमेटिएको बताइन् । उनले आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुर जिल्लाका ४० वटा मन्दिरमा बजेट राखेको आरोप लगाइन् । 

एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य बलबहादुर सोडारीले रातो किताबको आफू अहिले अध्ययन गर्ने क्रममै रहेकाले सहमति या असहमतिबारे प्रतिक्रिया पछि दिने बताए । ‘मंगलबार पुस्तिका फेला पारेका हौं । राम्रोसँग अध्ययन गर्न पाएको छैन । सबै हेरेपछिमात्र यसबारे प्रतिक्रिया दिनेछु’, उनले भने । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश सभा सदस्यहरुको गुनासोको आधारमा आएका सुझावलाई ग्रहण गर्दै केही संशोधन गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप