शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लोसपा विधानको प्रस्तावनामै ‘विद्रोह’

आइतबार, १९ असार २०७९, १२ : २९
आइतबार, १९ असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको जारी कार्यकारिणी समितिको बैठकमा पार्टीको अन्तरिम विधानको बारेमा छलफल चलिरहेको छ । शनिबारदेखि सुरु भएको लोसपाको कार्यकारिणी समितिको बैठकमा प्रस्तुत अन्तरिम विधानको बारेमा नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । 

गत भदौ ९ गते लोसपा गठन भएपछि पार्टी दर्ताका लागि विधान पेस गरिएको थियो, जुन पूर्ण विधान थिएन । पार्टीको विधान बनाउनका लागि लोसपाका कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा एउटा समिति गठन भएको थियो । सो समितिले प्रस्तुत गरेको अन्तरिम विधानको मस्यौदामाथि अहिले छलफल भइरहेको हो । 

प्रस्तुत विधानको प्रस्तावनामा लोसपाले ‘विद्रोह’को कुरा उल्लेख गरेको छ । विधानको प्रस्तावनामा भनिएको छ, ‘नेपाल विविधता नेपालको सौन्दर्य मात्र होइन, नेपालको शक्ति पनि हो तर विडम्बना, विविधतायुक्त नेपालको यो सौन्दर्यलाई रुचाउन नसकेका, विविधतामा अन्तर्निहित नेपालको यो शक्तिलाई मनन गर्न नसकेका र नेपाललाई सबैको साझा बनाउने र नेपालप्रति सबैमा अपनत्व जगाउनुको साटोकेही पक्ष र पात्रहरूद्वारा नेपालको विविधताभित्र विभेद, विद्वेष र विभक्तिको खेल खेली नेपालको अद्वितीय सामाजिक विन्यासलाई कुरूप पार्ने चेष्टा गरियो । फलस्वरुप नेपाल भौगोलिक रूपमा एक भएता पनि यो भावनात्मक रूपमा एक हुन सकेन ।’

असमावेशीताले असमानता, असमानताले विद्रोह र विद्रोहले अस्थिरतालाई जन्म दिन्छ भन्ने उल्लेख गर्दै लोसपाले आफ्नो विधानमा नेपालको वर्तमान संविधानले समावेशितालाई सैद्धान्तिक रूपमा स्वीकार गरेता पनि परम्परागत विभेदकारी राज्य–व्यवस्था, अहङ्कारी शाषकवर्ग, पूर्वाग्रही प्रशासन र अझैसम्म अस्तित्वमा रहेको जातीय सङ्कीर्णताका कारणले समावेशीताको यात्रा लक्ष्यअनुरुप अगाडि नबढेको जिकिर गरिएको छ । 

सङ्घर्ष, सहादत र संविधान निर्माणमा सबैको सशक्त सहभागिता भएता पनि केही ठूला दल, शाषक वर्ग र सीमित नेताहरूमा देखिएको विचलन, अवसरवादिता, स्वार्थ, दम्भ र सङ्कीर्णताका कारणले वर्तमान संविधानले पूर्णता नपाएको प्रस्तावनामा उल्लेख गरिएको छ । लोकतन्त्र औपचारिकतामा सीमित भएको र गणतन्त्रको मर्मलाई बेवास्ता गरिएको उल्लेख गर्दै लोसपाले जुन सङ्घीयताका लागि लाखौं नागरिकहरू सडकमा ओर्लिए, जीवन उत्सर्ग गरे, घाइते भए त्यही सङ्घीयतालाई असफल बनाउने प्रयास भइरहेको प्रस्तावनामा उल्लेख गरेको छ । उत्पीडित समुदायको हकका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था उत्पन्न भएको लोसपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप