शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमण : नेपालमा फेरि बज्दैछ खतराको घण्टी

आइतबार, १९ असार २०७९, १३ : ४७
आइतबार, १९ असार २०७९

गत साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको सङ्क्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो । यी सब भेरियन्टहरु निकै सङ्क्रामक रहेको बताइएको छ । भारतका विज्ञहरूले चाँडै नै त्यहाँ कोरोनाको चौथो लहर सुरु हुने चेतावनी नै दिएका छन् । सङ्क्रमितको सङ्ख्या बिस्तारै बढ्न थालेपछि नेपालमा स्वास्थ्य सतर्कता बढाउन थालिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार असार १२ देखि असार १८ गतेसम्म ७ दिनमा ३२५ जना सङ्क्रमित थपिएका छन् भने यही अवधिमा १२४ जना सङ्क्रमणमुक्त भएका छन् । शनिबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ३१४ पुगेको छ । यो अवधिमा कोरोना सङ्क्रमितको भने मृत्यु भएको छैन । 

मन्त्रालयले तथ्यांकअनुसार असार १५ गते सर्वाधिक ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यो दिन सङ्क्रमण दर ३.८२ प्रतिशत पुगेको थियो । त्यस्तै १६ गते ५५ जनामा सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमण दर २.०३ प्रतिशत रहेको थियो । 

हेर्नुहोस् टेबल

स्रोत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय​

नेपालमा हालसम्म पीसीआर विधिबाट ९ लाख ७९ हजार ७६२ तथा एन्टिजेन विधिबाट १ लाख ४० हजार ४९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । यसमध्ये ९ लाख ६७ हजार ४९६ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ । खोप अभियान सुरु भए यता हालसम्म ४ करोड ६६ लाख ९६ हजार ३६५ मात्रा खोप लगाइएको छ । यसमध्ये १ करोड ९८ लाख ५६ हजार ८३५ जनाले एक मात्रा, २ करोड ३ लाख ५० हजार ४९ जनाले पूर्ण मात्रा तथा ६४ लाख ८९ हजार ४८१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप