समाचारले फैसला गर्नै डराउने अवस्था आयो : न्यायाधीश कार्की
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कतिपय समाचारका कारण न्यायाधीशहरू फैसला गर्नै डराएको गुनासो गरेका छन् । कतिपय समाचारमा तथ्य र मिसिलमा भएको प्रमाणभन्दा फरक कोणबाटसमेत समाचार आउने गरेको कारण फैसला गर्नमै कठिनाइ हुने गरेको बताएका हुन् ।
‘न्यायपालिकाको जनआस्था वृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै न्यायाधीश कार्कीले कतिपय मुद्दा वा विषयमा सञ्चारकर्मीलाई संयम भइदिन र अतिरञ्जना नगरिदिन पनि आग्रह गरे । न्यायाधीश कार्कीले भने, ‘यहाँहरूको समाचारले न्यायाधीशलाई हच्काउने काम नहोस्, समाचार आउँछ भनेर न्यायाधीश फैसला गर्नबाट नडराउन्, नभागुन् । तपाईंहरू न्युज दिनुहोस्, भ्युज नदिनुस् ।’
कतिपय मुद्दाहरूको तथ्य र मिसिल एकातिर रहने र समाचार अर्को ढङ्गबाट आइरहँदा न्याय सम्पादनमै समस्या पर्ने गरेको पनि न्यायाधीश कार्कीले गुनासो गरे । उनले भने, ‘न्यायाधीशले फैसला गर्ने भनेको समाचार हेरेर होइन, मिसिल हेरेर हो । तर कहिलेकाहीँ सञ्चारकर्मीले यस्ता समाचार लेखिदिनुहुन्छ कि त्या कुरा तथ्य र मिसिलमा कहीँ हुँदैन । तर आम जनतामा समाचारमा आएको कुरा नै सत्य हो भन्ने परिसकेको हुन्छ । त्यसपछि न्यायाधीशलाई फैसला गर्नै अप्ठेरो हुन्छ र उनीहरू फैसला गर्नै डराउँछन् । त्यसकारण मिसिलमै नभएको कुरा समाचारमा नलेखिदिनुस्, ताकि न्यायाधीश फैसला गर्नबाटै नभागुन् ।’
न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने पहिलो दायित्व र अभिभारा न्यायालय र न्यायाधीशकै रहेको जिकिर गर्दै त्यसका लागि सञ्चारकर्मीले पनि सकारात्मक सहयोग गरिदिनुपर्ने उनले बताए । समाचार विचाराधीन मुद्दामै आउने भए पनि समाचार लेख्दा तथ्यलाई बङ्ग्याउने वा तोडमोड गर्ने प्रवृत्ति पनि रहेको भन्दै समाचारकै कारण फैसला गर्नबाट न्यायाधीश डराएमा ठीक ढङ्गबाट फैसला वा न्याय सम्पादन नहुने उनले गुनासो गरे ।
न्यायाधीश कार्कीले आफूहरू अदालतको मानहानिमा पत्रकार वा सञ्चार गृहलाई दण्डित गर्ने मनसायमा नरहेको भन्दै पत्रकार र सञ्चार गृहले पनि न्यूनतम आचारसंहिता र नैतिकता पालना गर्नुपर्ने बताए । उनले भने, ‘अदालतको मानहानिको विषय देखाएर हामी हाम्रो बचाउको अस्त्र बनाउन चाहँदैनौँ, तर कुनै गलत समाचारले अदालतकै गरिमामा आँच आउने वा ल्याउने समाचार आए भने पनि सधैँ चुप लागेरै बस्ने भनेकोचाहिँ होइन । हामीलाई स्वच्छ र रचनात्मक आलोचना सधैँ स्वीकार्य छ, फैसलामाथिको स्वच्छ टिप्पणी स्वीकार्य, तर पूर्वाग्रही भइयो भने त्यसले न्यायालयको गरिमा र आस्थामा आँच आउँछ भन्ने कुरा बुझिदिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण