शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको ऋण तिर्न चोरी !

बिहीबार, ३० असार २०७९, २० : ०९
बिहीबार, ३० असार २०७९

जिल्ला प्रहरी परिसर काठमाडौंले बीरबहादुर श्रेष्ठ र बुद्धवीर तामाङलाई चोरीको आरोपमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ३९ वर्षीय वीरबहादुर दोलखाको सैलुङ गाउँपालिका निवासी हुन् । बुद्धवीर तामाङ भने नुवाकोट जिल्लाको विदुर नगरपालिका निवासी हुन् ।

प्रहरीका अनुसार उनीहरुमात्र होइन, दोलखाकै सैलुङ गाउँपालिका–८ घर भएका लिला नारायण श्रेष्ठ र पुन नारायण श्रेष्ठ पनि हिरासतमा छन् । प्रहरीको रेकर्ड अनुसार वीरबहादुर २०६४ वैशाख–जेठबाट चोरीमा लागेका हुन् । काठमाडौंको थलीमा बस्ने उनलाई प्रहरीले ‘व्यावसायिक चोर’को सूचीमा राखेको छ । श्रेष्ठका केही आफन्त पनि चोरीमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०६४ पछि उनले १७ ठाउँमा चोरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाइ छ ।

पटक–पटक चोरीको मुद्दा लड्दा मुद्दा प्रक्रियामै उनले लाखौं खर्च गरेका छन् । कानुन व्यवसायी नियुक्त गरेर मुद्दा लड्छन् । उनले ३५ लाख ‘बैंक लोन’ (ऋण) लिएका छन् । असार ९ मा पक्रेपछि अनुसन्धान अधिकृतले उनलाई सोधे, ‘चोर्ने बानी कहिले हट्छ ?’

बीरबहादुरले अनुसन्धान अधिकृतलाई जवाफ दिए– ३५ लाख लोन छ, त्यही लोन तिर्न चोरी छोड्न सकिनँ ।

२०६४ जेठमा चोरी मुद्दामा उनी ८० हजार धरौटी तिरेर जेलबाट छुटेका थिए । २०६७ मा लागुऔषधसहित पक्राउ परेका उनी २०७२ मंसिरमा जेलबाट रिहा भए । दोस्रोपटक जेलबाट रिहा भएपछि बीरबहादुरले ८ ठाउँमा चोरी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

बीरबहादुर विरुद्ध २०७३ असोज १२ मा काठमाडौं जिल्ला अदालतले १० लाख ३४ हजार धरौटी माग्ने आदेश गरेको थियो । उनले सो धरौटी बुझाए । २०७८ सालको अन्तिमतिर पनि उनी ३ लाख धरौटी तिरेर रिहा भएका हुन् । रिहा हुनासाथ उनले चोरी धन्दा सुरु गरिहाले ।

२०७६ फागुन १८ मा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–५ काँग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट ४३ लाख बराबरको गहना र पैसा चोरी भएको थियो । सो चोरीका मुख्य योजनाकार बीरबहादुर नै रहेको अनुसन्धानबाट खुलेको एसपी कोइरालाले बताए ।

साँखुमा टनेल खेती

२०७९ असार ६ मा चन्द्रगिरी नगरपालिका–१४, नैकापमा नगद, मोबाइल र गहना बीरबहादुरको समूहले चोरी गरेको खुलेपछि उनीहरु पक्राउ परेका हुन् । सैलुङ गाउँपालिका वडा नम्बर–८ का बीरबहादुर, सोही वडा घर भएका लिला नारायण र पुन नारायण उर्फ सागर एउटै समूहका हुन् । चोरेर गाउँमा जाँदा उनीहरु भोज गर्छन् ।

महँगो रेष्टुरेण्टमा समय बिताउने बीरबहादुरलाई रेष्टुरेण्टका गार्डले सलाम गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । पैदल हिँडेर तथा मोटरसाइकलमा चढेर चोरी गर्ने सो समूहका सदस्यहरु मोबाइल बोक्दैनन् । प्रहरीले चोरीमा संलग्नताबारे पत्ता लगाउन नसकोस् भनेर उनीहरुले मोबाइल नबोक्ने गरेको अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।

मोबाइल नबोकेकै कारण प्रहरीले बीरबहादुरलाई सीसीटीभी फुटेजको आधारमा पहिचान गरेको हो । तर, सीसीटीभी फुटेजबारे बीरबहादुरले प्रहरीलाई प्रश्न गरे, ‘फुटेजमा देखिएको म हुँ तर, बाटो हिँड्न नपाउने ?’

२०६४ पछि अहिलेसम्म बीरबहादुरले मात्रै २ किलोभन्दा बढी सुन चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पैसा चोरीको हिसाब नै छैन । व्यावसायिक रुपमै चोरीमा संलग्न बीरबहादुरले काठमाडौंको साँखुमा टनेल खेती पनि गरेका छन् ।

बुद्धवीर हिँड्दै चोर्दै

नुवाकोट जिल्लाको विदुरस्थित गेर्खु घर भएका ४३ वर्षीय बुद्धवीर तामाङ फर्पिङमा बस्छन् । चोर्नका लागि उनी बौद्ध, महाराजगञ्ज र काँडाघारीमा जान्छन् ।

पैदल हिँडेर उनी घरको गेट खुला रहेको वा नरहेकोबारे बुझ्छन् । गेट खुला रहेको घरमा पसेर त्यहाँ भेटेको सामानले ढोका फुटाएर चोर्ने गरेको उनले बताएको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

असार १६ मा बुद्धबीरले गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा सुन र गहना चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सीसीटीभी फुटेजमा उनले लगाएको रातो टोपीबाट प्रहरीले उनको पहिचान गरेको थियो । प्रहरीको भाषामा उनी ‘डर नभएको पटके’ चोर हुन् । चोरेको ९ तोला सुन प्रहरीले उनको डेराबाट बरामद गरेको छ ।

चोरेको मोवाइल उनले नयाँ बानेश्वरमा अमित बहादुर श्रेष्ठले सञ्चालन गरेको पसलमा बेच्थे । सुनचाहिँ महाराजगञ्जस्थित सचिन विश्वकर्माले सञ्चालन गरेको सुन पसलमा बेच्ने गरेका थिए । प्रहरीले सुन र मोवाइल पसल सञ्चालकलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप