शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कल सेन्टर, भारतमा ठगी

११ सय १० वटा ल्यापटप र कम्प्युटर परीक्षणपछि मुद्दाको टुंगो
बुधबार, ११ साउन २०७९, ०७ : ०८
बुधबार, ११ साउन २०७९

प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–९ तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर ३६ जनालाई पक्राउ गर्यो । जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको स्काई वर्ल्ड प्रालि कम्पनी रजिष्टारको कार्यालयको रेकर्डमा बिजय श्रेष्ठको नाममा दर्ता भएको देखिन्छ । 

‘सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे सञ्चालन गर्ने’ उद्देश्यसहित दर्ता भएको सो कम्पनीबाट ‘ठगी धन्दा’ हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ११ सय जनालाई रोजगार दिएको सो कम्पनीले ‘एप्स’मार्फत छिमेकी मुलुक भारतमा लोन दिएर चर्को ब्याज असुल्ने गरेको बताउँछन् जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहरा ।

रातोपाटीसँग कुरा गर्दै बोहराले भने, ‘९ वटा भन्दा धेरै एप्समार्फत सूचना प्रवाह गरेर २० हजारसम्म लोन दिने र चर्को व्याज असुल्ने गरेको देखिन्छ ।’ 

सो कम्पनी २०७७ मा श्रेष्ठको नाममा दर्ता भएको थियो । पछि ४३ वर्षीय चिनियाँ नागरिक हु युह्या सो कम्पनीको प्रबन्धकको रुपमा देखिएका छन् । चिनियाँ नागरिककै योजनाअनुसार भारतमा लोन प्रवाह गरेर ३६ प्रतिशत व्याज असुली गर्ने गरेको प्रहरीको दावी छ । स्काई वर्ल्ड सर्भिसबाट प्रहरीले ३६२ वटा ल्यापटप र ७४८ थान कम्प्युटर बरामद गरेको छ ।

कम्युटर र ल्यापटप प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाउने एसएसपी बोहराले बताए । पक्राउ गरिएका चिनियाँ र नेपाली नागरिकलाई कुन मुद्दा लगाउने भन्नेबारे यकिन भैसकेको छैन । सुरुमा ‘अभद्र व्यवहार’मा होल्ड गरेर ल्याबको रिपोर्ट आएपछि बल्ल मुद्दा यकिन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । 

नौ एप्स मार्फत लोन 

२०७८ फागुनमा प्रहरीले भक्तपुर र काठमाडौंको मध्य बानेश्वरमा चिनियाँ नागरिकले संचालन गरेको कार्यालयमा छापा मारेको थियो । त्यस्तै, यही साउन ८ मा पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकारी नगरमा छापा मारेको छ । 

पछिल्लो समय छापा मारिएका कार्यालयहरुलाई ‘कल सेन्टर’ भनिएको छ । एप्लिकेशन मार्फत लगानी गरेको पैसाको साँवा र ब्याज उठाउन कल सेन्टरका कर्मचारीको प्रयोग हुन्छ । सामाजिक संजालमा उधार लोन, गो क्यास, गो लोन, रुपी प्लस, फ्ल्यास क्यास, रुपी फ्याक्ट्री, क्यास बिई, पैसा लोन र बबल लोन मार्फत लोन लिन सकिने विज्ञापन गरिन्छ । विज्ञापन हेरेर दैनिक पचासौं हजार भारतीय नागरिकले लोनका लागि एप्लिकेशन लग इन गर्ने गरेका छन् । 

ऋणका लागि एप्लिकेशन लगइन गर्दा व्यक्तिगत रुपमा गोपनीय रहने आधार कार्ड, रासन कार्ड र परिवारको विवरण भर्नुपर्छ । त्यसपछि ७ दिनका लागि ऋण स्वीकृत गरिन्छ । ऋण लिएको छैटौं दिनदेखि कल सेन्टरका कर्मचारीले फोन गरेर पैसा फिर्ता माग्न थाल्छन् । 

ऋण दिँदा सुरुमै ३६ प्रतिशत व्याज काटेर पठाउने र छैटौं दिनपछि कल सेन्टरका कर्मचारीले फोन गरेर गाली गर्ने र धम्क्याउने गरेको एसएसपी बोहराको दाबी छ । तर, सो गतिविधिलाई पुष्टि गर्ने बलियो आधार प्रहरीसँग छैन । 

१ चिनियाँसहित ३६ पक्राउ 

तीनकुनेको कल सेन्टरमा ११ सय भन्दा बढी कर्मचारी थिए । प्लस टु पास भएका, अंग्रेजी र हिन्दी बोल्न जान्नेहरुलाई रोजगारी दिइन्थ्यो । ऋण फिर्ता गर्न आनाकानी गर्नेहरुलाई सामाजिक संजालमा व्यक्तिगत विवरण राखेर उनीहरुले बेइज्जन गर्ने र फोन गरेर हिन्दी र अंग्रेजी भाषामा धम्की दिने गरेको अनुसन्धान अधिकृतहरुको जिकिर छ । 

त्यसरी धम्की दिने र व्यवस्थापन तहमा काम गर्ने चिनियाँसहित ३६ जनालाई पक्रेर हिरासतमा राखिएको एसएसपी बोहराले जानकारी दिए ।  पक्राउ पर्नेमा प्रबन्धक चिनियाँ नागरिक ४३ वर्षी हु युह्या, ब्यवस्थापन समूहकी सदस्य १९ वर्षीया शुभेच्छा दाहाल,  जिशन श्रेष्ठ, फ्लोर म्यानेजर अछाम घर भएका आरएस खड्का र २१ वर्षी सुनिल बाँस्कोटा छन् । पक्राउ परेकाहरु अधिकांश २० देखि २४ वर्ष उमेर समूहका छन् । कल सेन्टरबाट नेपाली नागरिक ठगिएका छैनन् । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप