शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँमा जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण

बिहीबार, १२ साउन २०७९, ०९ : २४
बिहीबार, १२ साउन २०७९

स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाइसक्नु पर्ने कानुनी प्रावधान भएपनि उनीहरुले हालसम्म विवरण बुझाएका छैनन् । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँबाट एक हजार ६ सय ३७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । हालसम्म चार सय एक जनप्रतिनिधिले चुनावी खर्चको विवरण बुझाएका छन् भने एक हजार दुई सय छत्तीसले अझै बुझाएका छैनन् । 

कार्यालयले गत जेठ मसान्तसम्म निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धीरेन्द्र शाहीका अनुसार खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित र केही निर्वाचित उम्मेदवार छन् । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित तथा पराजित उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् । 

त्यसैगरी, भानु नगरपालिकाका प्रमुख उपप्रमुखमा निर्वाचित, वडाध्यक्ष र वडासदस्य कसैले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अधिकांश निर्वाचित उम्मेदवारले नै खर्चको विवरण बुझाउन अटेर गर्दै आएको पाइएको छ । आँबुखैरेनी गाउँपालिकामा निर्वाचित उम्मेदवारले खर्च विवरण बुझाए पनि अन्य पालिकाका उम्मेदवारले भने आलटाल गर्दै आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले खर्चको विवरण बुझाउने उम्मेदवारको तथ्याङ्क पठाउन पटक–पटक ताकेता गरेपछि प्राप्त भएकाको मात्रै तथ्याङ्क पठाइएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप