बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रकाश हेरेपछि लिङ्देनले भने–माइकल अधिकारीका हिरोलाई नै चिनिनँ

बिहीबार, १६ भदौ २०७९, १४ : ३७
बिहीबार, १६ भदौ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताएका छन् । बुधवार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चलचित्रले जनक्रान्ति र कम्युनिस्टको नाममा नेपालमा भइरहेको विकृतिलाई उदांगो पारेको बताएका हुन् । 

उनले चलचित्रमा वर्गीय व्यवस्थालाई प्रोत्साहित गर्न खोजेको कुरा देखाइएको बताए ।  अध्यक्ष लिङ्देनले अहिलेको समाज कस्तो भन्ने कुरा चलचित्रमा चित्रण गरिएको बताए । उनले चलचित्र अहिलेको नेतृत्व गरिरहने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्ने रहेको बताए ।  राजनीतिमा अहिले भइरहेको विकृतिलाई चित्रण गरेको तर अब राजनीतिक दलहरूले समाजको परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने कुरा नदेखाएको बताए । 

उनले भने, ‘प्रकाश फिल्मले जे सन्देश दिन खोजिरहेको छ,, वर्तमान राज्य व्यवस्थाले नजानिँदो तरिकाबाट वर्गीय व्यवस्थालाई प्रोत्साहित गरिरहेको छ, त्यसलाई उठाइरहेको मान्छे हुँ । त्यो कुरा प्रकाश फिल्मले उठाइरहेको छ । यो फिल्मले अहिलेको समाज कस्तो छ ? त्यसलाई चित्रण गर्न सफल भएको छ, यो फिल्म अहिलेको नेतृत्व गरिरहने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्छ । राज्यले जनतालाई दिने सेवा, सुविधा जातको आधारमा नभई वर्गको आधारमा हुनुपर्छ । चलचित्रले जनक्रान्तिको नाममा कम्युनिस्टको नाममा नेपालमा भइरहेको विकृतिलाई उदांगो पारेको छ । फिल्मले समग्र नेपाली राजनीतिमा भएको विकृतिलाई देखाएको छ । अहिलेका विकृति देखाएको छ तर अब के हुनुपर्छ भन्नेकुरा चलचित्रले भनेको छैन ।’

अध्यक्ष लिङ्देनले केही दिनअघि मात्रै प्रदर्शनमा आएको चलचित्र माइकल अधिकारी हेर्न जाँदा अभिनेतालाई नै नचिनेको बताए ।  चलचित्रमा अभिनय राम्रो लागेको तर बाहिर निस्किएर फोटो खिच्दासमेत सिनेमामा भएको अभिनेता सौगात मल्ल यही हो भनेर छुट्याउन नसकेको भन्दै उनले भने, ‘मैले माइकल अधिकारी हेरेको थिएँ, हिरोसँगै बसेर फोटो खिचेछु, मलाई सौगात मल्ल को हो नै थाहा भएन । कस्तो राम्रो कलाकार भन्ने भयो, बाहिर देख्दा थाहा नै भएन ।’

नेपाली चलचित्र प्रकाश गत शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो । सुरुवाती दिनमा चलचित्रले शो नपाएपछि निर्माण र कलाकार टिमले पत्रकार सम्मेलन गर्दै सिनेमा घरहरुले शो नदिएको भन्दै दुखेसो गरेको थिए । अभिनेता प्रदीप खड्का स्वयंले नै दर्शकको माग अनुसार शो नपाएको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरेका थिए । दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ । दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दीया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको संघर्ष र मेहनतमा आधारित छ । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप