शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘समानुपातिक पुरुषका लागि पनि हो, महिलाले प्रत्यक्षमा लड्ने हिम्मत गर्नुपर्छ’

देशलाई एमालेको सरकार र केपी ओलीको प्रधानमन्त्रीत्व नै आवश्यक छ : उषाकला राई
बिहीबार, १६ भदौ २०७९, १५ : ४०
बिहीबार, १६ भदौ २०७९

नेकपा एमालेकी नेतृ उषाकला राईले आगामी निर्वाचनमा खोटाङ जिल्लामा आफूले टिकटको दाबी गरेकी छिन् । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीले टिकट दिए आफ्नो माइती जिल्ला खोटाङमा समेत एमालेको जित सुनिश्चित गर्न आफू सक्षम रहेको उनको भनाइ छ ।  

हाल प्रदेश १ को समानुपातिकतर्फ प्रदेशसभा सदस्यसमेत रहेकी राईले रातोपाटीसँगको विशेष कुराकानीमा आफू महिला भएकाले पनि टिकट पाउनै पर्ने दाबी गरिन् । अब किन सांसद ? किन मन्त्री बन्ने ? भन्ने प्रश्नका लागि आफूसँग पुरै योजना र काम गर्नका लागि त्यसको खाकासमेत हातमै बोकेर हिँडेकाले पनि त्यो अवसर पार्टीले दिनुपर्ने उनको जिकिर छ । यद्यपि देश र नेपाली जनताका लागि र सिंगो पार्टीका हितका लागि भने आफ्नो माग दाबी ‘मेरै गोरुको बाह्रै टक्का’ भनेझैँ नहुने उनको बुझाइ छ । 

उनले पार्टीले महिलालाई पार्टीले प्रत्यक्षमा टिकट दिएर मैदानमा पठाउनु पर्नेमा पनि जोड दिँदै भन्छिन्, ‘नेपालमा समानुपातिक भन्ने बित्तिकै महिलाका लागि मात्र हो कि भन्ने भ्रम छ । तर, यो पुरुषहरूका लागि पनि हो । महिलाले मात्रै समानुपातिक कोटा ओगट्नु पर्छ भन्ने छैन नि ।’

सांसद राईले पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकमा पनि महिला उपस्थितिका बारेमा नेतृत्वसँग राम्रै छलफल भएको बताइन् । उनले भनिन्, ‘एमालेमा महिलाको उपस्थिति र सहभागितामा सिंगो पार्टी संयम छ । पार्टी अध्यक्ष स्वयम् पनि यो विषयमा गम्भीर हुनुहुन्छ । अध्यक्ष स्वयम् महिलावादी हुनु भएकाले पनि महिलाको अधिकारका पक्षमा उहाँ उभिनु हुन्छ भन्ने हो ।’

नेतृ राईका अनुसार नेकपा एमालेले आसन्न निर्वाचनका लागि जिल्लाबाट नाम सिफारिस गर्दा कम्तीमा पनि एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ ।  भन्छिन्, ‘अब, महिलाहरूले पनि आँट गर्नुपर्छ र पार्टीले पनि अवसर दिनुपर्छ ।’

रातोपाटीसँगको कुराकानीमा नेतृ राईले अबको निर्वाचनमा नेकपा एमालेले जित हासिल गर्नै पर्नेमा पनि जोड दिएकी छिन् । उनले हाल देशलाई नेकपा एमालेको बहुमतको सरकार र केपी ओलीको प्रधानमन्त्रीत्व नै आवश्यक रहेको पनि जिकिर गरिन् । 

अर्को प्रसङ्गमा उनले गठबन्धन सरकारले एक वर्षको अवधिमा राष्ट्रियतालाई नै धरापमा पारेको आरोप लगाएकी छिन् । एमसीसी, एसपीपी, नागरिकता विधेयक लगायतका विषयमा गठबन्धन सरकारले राष्ट्र र राष्ट्रियतालाई नै धरासायी बनाउने काम गरेको तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा पनि गठबन्धन सरकार चुकिरहँदा नेपालको भविष्यमा नै प्रश्न उठेको उनले बताइन् ।

नेतृ राईले पछिल्लो एक वर्षमा देशमा अस्थिरता, भ्रष्टाचार र सिसिटिभी फुटेज डिलिट गरेर देशको ढुकुटीमा समेत नजर लाग्नुले गठबन्धन सरकारबाट जनता आजित भएको र त्यसको उत्कृष्ट विकल्प एमाले नै भएको बताइन् । उनले अब हुन लागेको प्रदेश र संघको निर्वाचनमा एमाले बिचारसहितको एजेन्डा लिएर सुझबुझसहितको तयारीका साथ अघि बढेको बताइन् । 

पछिल्लो समय चर्चामा रहेको नागरिकता विधेयकका सन्दर्भमा पनि गठबन्धन सरकारले गलत कदम चालेको नेतृ राईको आरोप छ । उनले यो सरकारले वैवाहिक अंगीकृत नागरिकताका सन्दर्भमा ठुलो त्रुटि गरिरहेको बताइन् । नागरिकता विधेयक रोक्नुपर्ने तर्क दिँदै भनिन्,‘यो विधेयक पास भइसकेपछि नेपालमा विदेशीहरूको चहलपहल बढ्ने र देश स्वतः सिक्किमीकरण हुन सक्ने देखिन्छ । त्यसैले यो त्रुटि सुधार्नै पर्छ ।’ 

नेतृ राईले नागरिकता विधेयकमा त्रुटि हुँदाहुँदै पनि ‘केपी ओलीकै पालामा आएको विधेयक अघि बढाएका हौँ नि’ भन्दै गलत प्रचार भइरहेकोप्रति आपत्ति जनाएकी छिन् । उनले जन्मसिद्ध नागरिकलाई नागरिकता दिनैपर्ने एमालेको मत रहेको र वैवाहिक अंगीकृत नागरिकताको समयावधिका बारेमा थप छलफल गरेर अल्पकालीन समयका लागि भने विकल्प खोज्नुपर्नेमा जोड दिएकी छिन् ।

रातोपाटी स्टुडियोमा प्रदेश १ की सांसद राईसँग गरिएको भिडियो कुराकानीमा आधारित: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप