शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इच्छाराज परिवारको अवैध कारोबारको साम्राज्य– कसको नाममा कति सम्पत्ति ? (विवरणसहित)

यसरी हुन्थ्यो अवैध कारोबार
शुक्रबार, १७ भदौ २०७९, १६ : ०९
शुक्रबार, १७ भदौ २०७९

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारीमा सर्वसाधारणले राखेको बचत हिनामिना गरी ६७ कम्पनीमा लगानी गरेको पाइएको छ । यसरी गैरकानुनी आर्जनबाट खडा गरिएका कम्पनीका सेयर सम्पत्ति जफत गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले माग गरेको छ । 

तामाङको नाममा काठमाडौैंको कीर्तिपुरमा एक कित्ता जग्गा पनि छ । विभागको अनुसन्धानका क्रममा तामाङको नाममा सिभिल होम्स, सिभिल फर्निचर, सिभिल क्यापिटल, सिभिल अपार्टमेन्ट, सिभिल इन्फ्रास्टक्चर डेभलपर्स, सिभिल बैंक, सिभिल इस्टेट, सिटी बस्ती विकास, सिने डेसेफ, ब्रिउ एन्ड भ्यु बार एन्ड रेस्टुरेन्ट, कोट्से भैरव हाउजिङ, सिभिल आरएमसी एन्ड प्रिकाष्ट इन्डष्ट्रिज, सिभिल इन्टरनेसनल कन्सलटेन्ट, प्रिमियम इन्भेस्टमेन्ट कम्पनी, सिभिल मोडर्न कन्स्ट्रक्सन, सिभिल होटल्स, बत्सला देबी हाउजिङ, सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी, एग्रो बजार डटकम, हेरिटेड डेभलपर लगायतका कम्पनी रहेको पाइएको छ ।

यस्तै, उनकी श्रीमती सिर्जनाको नाममा विभिन्न १९ कम्पनीको सेयर खरिद गरिएको देखिएको छ भने विभिन्न १२ स्थानमा २६ कित्ता जग्गा पनि देखिएको छ । सिर्जनाको नाममा कीर्तिपुरमा २६ कित्ता जग्गा र एउटा घर समेत रहेको पाइएको छ ।

यस्तै सिर्जनाको नाममा सिभिल क्यापिटल र सिभिल बैंकमा संस्थापक सेयर छ भने रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स कम्पनी, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, सान्जेन जलविद्युत कम्पनी लगायतका कम्पनीमा साधारण सेयर छ ।  

​तामाङकी छोरी प्रतीक्षाको नाममा काठमाडौँको कीर्तिपुरमा नै ५ कित्ता जग्गा छ । यस्तै, उनको नाममा २४ कम्पनीमा सेयर लगानी भेटिएको छ । प्रतीक्षाको नाममा सेयर लगानी भएका कम्पनीहरूमा सिने डेसेफ कम्पनी, एभरेस्ट कलेज अफ मेडिकल साइन्स, सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक, मुक्तिनाथ विकास बैंक, प्राइम कमर्सियल बैंक, नविल इन्भेष्ट, सानिमा लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, नेपाल लाइफ इन्स्यारेन्स कम्पनी, सिटिजन्स बैंक लगायत छन् । 

यस्तै अर्की छोरी प्रतिष्ठाको नाममा पनि कीर्तिपुरमा एक कित्ता जग्गा र विभिन्न १७ वटा कम्पनीमा सेयर लगानी रहेको पाइएको छ । विभाग स्रोतका अनुसार प्रतिष्ठाको नाममा नबिल इन्भेष्ट, सेन्चुरी कमर्सियल बैंक, एसियन लाइफ, फष्ट माइक्रोफाइनान्स, ज्योति विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, समिट लघुवित्त, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, त्रिशूली जलविद्युत कम्पनी लगायतका कम्पनीमा सेयर लगानी रहेको पाइएको हो ।

सिभिल सहकारी संस्थाका तत्कालिन अध्यक्ष केशवलाल श्रेष्ठले भने ४४ कम्पनीका सेयरमा लगानी गरेएको पाइएको छ । यस्तो लगानी पनि सिभिल सहकारीमा बचतकर्ताले राखेको रकम ठगी गरेर नै गरिएको विभागको दाबी छ । श्रेष्ठको कोट्से भैरव हाउजिङ, नख्खु हाउजिङ, बत्सला देबी हाउजिङ, बौद्ध हाउजिङ, ब्रिउ एन्ड भ्यु बार एन्ड रेस्टुरेन्ट कम्पनी, मेडिसिटी हाउजिङ, सिटी बस्ती विकास, सिने डेसेफ, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल, सिभिल फर्निचर, सिभिल बैंक लगायतका कम्पनीको सेयरमा लगानी देखिएको छ । यस्तै श्रेष्ठकी श्रीमती मीनाको नाममा किनिएको विभिन्न जग्गा पनि विभागले जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कसरी हुन्थ्यो ठगी ?

तामाङ परिवारले सहकारीमा सर्वसाधारणले राखेको बचत रकमलाई आफ्नो नाममा खडा भएका कम्पनीको नाममा ऋण निकालेर दुरुपयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ । सहकारीमा राखिएको रकम तामाङ र केशवलाल श्रेष्ठको नाममा खोलिएका कम्पनीमा विनाधितो कर्जाको रूपमा प्रवाह गर्ने र सहकारीको रकम निजी कम्पनीमा आएपछि आफ्नो नाममा सम्पत्ति जोड्ने गरेको पाइएको विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिए । सहकारीको काम आफ्ना सदस्यको सानोतिनो व्यवसायमा पुँजी उपलब्ध गराउने भएपनि सिभिल सहकारीले मनपरी लगानी गरेको पाइएको भट्टराईको भनाइ छ । 

‘सहकारीले व्यावसायिक प्रयोजनको कर्जा दिने नै होइन, सानोतिनो व्यवसाय गर्नको लागि सदस्यलाई थोरै पुँजी उपलब्ध गराउने हो, तर सिभिल सहकारीमा तामाङ (इच्छाराज तामाङ) ले मनपरी ढंगबाट रकम चलाएको देखिएको छ,’ महानिर्देशक भट्टराईले भने ।

​सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङ र तत्कालीन अध्यक्ष श्रेष्ठ नातेदारसमेत हुन् । ‘सिभिल बैंकबाट सिभिल क्यापिटलले ११ करोड रुपैयाँ कर्जा लिएछ, यो रकम सिभिल क्यापिटलले सिभिल सहकारीमा राखेछ, अनि सिभिल सहकारीले सोही रकम कर्जाको रूपमा सिभिल होम्सलाई दिएछ, त्यसपछि त्यो रकम तामाङले आफूखुसी प्रयोग गरेका पाइयो,’ विभागका एक अधिकारीले भने ।

यसरी रकम दुरुपयोग भएको समयमा तामाङ सिभिल बैंकको अध्यक्ष थिए भने उनकी श्रीमती सिर्जना सिभिल क्यापिटलको अध्यक्ष थिइन् । सिभिल सहकारीको अध्यक्ष रहेका केशवलाल श्रेष्ठ सिर्जनाका मामा हुन् । 

‘श्रीमान् अध्यक्ष भएको बैंकले (सिभिल बैंकले) श्रीमती अध्यक्ष रहेको कम्पनी (सिभिल क्यापिटल) लाई ऋण दियो, ऋण पाएको कम्पनीका अध्यक्षको मामा अध्यक्ष रहेको सहकारी (सिभिल सेभिङ एन्ड क्रेडिट) मा रकम बचतको रूपमा राखियो, त्यो सहकारीले आफ्नो अध्यक्षको भान्जेज्वाइ अध्यक्ष भएको कम्पनी (सिभिल होम्स) लाई ऋण दियो, सिभिल सहकारीबाट कर्जा लिने कम्पनी सिभिल होम्सका अध्यक्ष सुरुमा कर्जाको रूपमा रकम उपलब्ध गराउने सिभिल बैंककै अध्यक्ष थिए, यस्तो प्रक्रिया अपनाएर पनि रकम दुरुपयोग गरिएको रहेछ,’ विभागका एक अधिकारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप