बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसको आग्रह

शुक्रबार, २४ भदौ २०७९, १२ : ०७
शुक्रबार, २४ भदौ २०७९

नेपाली कांग्रेसले जयनगर–कुर्था रेलमार्गमा सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय)को नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ । 

रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर मण्डलको नाम जोडिएर स्थापना गरिएको ‘सहिद कामेश्वर–कुशेश्वर हल्ट’ र सहिद सरोज कोइरालाको नाममा स्थापना गरिएको ‘सरोज नगर हल्ट’को नाम परिवर्तन गरिएको  छ । 

“सहिदहरुको योगदानलाई सम्झिन स्थापना गरिएको ती हल्टको नाम परिवर्तन गर्ने काम भएको छ, त्यो अत्यन्तै आपत्तिजनक छ”, कांग्रेसका नेता डा शेखर कोइरालाले भने, “यो सहिद प्रतिको अपमान हो”, यसलाई कदापि स्वीकार गर्न सकिँदैन ।” 

रेलमार्ग स्थापनाको समय धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा सहिद कामेश्वर–कुशेश्वर हल्ट र बिदेह नगरपालिकाको दुहवीमा सहिद सरोजनगर हल्ट स्थापना गरिएको थियो । “तर अहिले कामेश्वर–कुशेश्वर हल्टलाई इनरुवा हल्ट बनाइएको छ भने सरोजनगर हल्टको अस्तित्व नै समाप्त पारिएको छ”, नेता डा कोइरालाले भने, “सहिदको नाम जोडिएर राखिएका दुवै रेल्वे हल्टको अस्तित्व समाप्त पार्ने कार्य हामीलाई स्वीकार्य छैन ।” यस विषयमा पार्टीले खुलेर बोल्नुपर्छ, यो सहिदप्रतिको सम्मानको कुरा हो, उनको भनाइ थियो । 

“दुहबी बजार नजिकै स्थापना गरिएको सहिद सरोजनगर हल्टमा पहिला रेल रोकिन्थ्यो”, कांग्रेसका नेता रामकृष्ण यादवले भने, “अहिले न त्यहाँ रेल रोकिन्छ, न त सहिद सरोजनगर हल्टमा कुनै बोर्ड नै छ ।” यहाँ सहिद सरोज कोइरालाको इतिहास मेटाउने काम भएको छ यसले हामीलाई दुखित् बनाएको छ”, उनले भने । 

‘‘सहिद कुनै पार्टी विशेषको हुँदैन, सबैको साझा हुन्छ”, उनले भने, “तर जसरी कांग्रेसको मात्र सहिद हो भन्ने मनसायका साथ सहिदहरूको योगदानमाथि प्रहार गर्ने काम भएको छ, यसलाई हामीले  सच्याउनुपर्छ, यसलाई नसच्याए हामी चुप लागेर बस्न सक्दैनौँ ।” 

“यो कुनै पार्टी विशेषको कुरा मात्र होइन”, उनले भने, “यो त ऐतिहासिक व्यक्तित्वको पहिचानको कुरा हो, सहिदको सम्मानको कुरा हो, त्यसैले सहिदको सम्मान सबैले गर्नुपर्छ ।” तत्कालीन पञ्चायती व्यवस्थाको सरकारले विसं २०२९ मा ल्याएको नयाँ शिक्षा योजनाको विरोधमा नेपाल विद्यार्थी सङ्घले गरेको आन्दोलनको क्रममा प्रहरीसँग धनुषाको यदुकाहामा झडप हुँदा गोली लागेर कामेश्वर यादव र कुशेश्वर मण्डलको मृत्यु भएको थियो । 

तत्कालीन पञ्चायतकालीन सरकारको विरुद्धमा सङ्घर्ष गर्दै आएका काङ्ग्रेस धनुषाका पूर्वसभापति तथा पूर्वसांसद सरोज कोइरालाको पञ्यायती सरकारको योजनामा विसं २०३० कात्तिक २ गते भारतको मधुवनीमा गोली हानेर हत्या गरिएको थियो । उनी कांग्रेसका नेतासँगै भारतमा प्रवास बस्दै आएका थिए । 

यसरी तत्कालीन पञ्चायत सरकारको निशानामा परेर सहिद भएका सहिदहरूको सम्मान गर्नुको साटो सरकारले सहिदका नाममा स्थापना भएको हल्टहरू हटाएर अपमान गर्ने काम गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले बताए ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले सहिदहरूको नाममा स्थापना भएको हल्ट हटाएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘‘हल्टको नाम राख्ने वा हटाउने काम सरकारको हो”, उनले भने, “हामीलाई त रेल चलाउने मात्र अधिकार छ, रेलको विषयमा मात्र जानकारी हुन्छ ।” पहिला सहिदहरूको नाममा हल्ट राखिएको थियो भन्ने सुनिन्छ, तर यस विषयमा आफूलाई कुनै आधिकारिक जानकारी छैन, उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप