शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमडीएमएसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ : सञ्चारमन्त्री कार्की

बिहीबार, ३० भदौ २०७९, ०५ : ००
बिहीबार, ३० भदौ २०७९

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आजदेखि लागू भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ले मुलुकको अर्थतन्त्रलाई सकरात्मक प्रभाव पार्ने बताएका छन् । आजदेखि लागू भएको एमडीएमएसबारे सम्बोधन गर्दै उनले यसबाट राज्यले लाभ लिन सक्ने बताएका हुन् ।

उनले अबदेखि चोरी पैठारीका मोबाइल फोनको प्रयोग र बिक्रीवितरण पूर्णरूपमा रोकिने बताए । ‘चोरी पैठारी भएर आउने मोबाइल फोनको नियन्त्रण हुन्छ,’ कार्कीले भने, ‘यसबाट राज्यले थप राजश्व संकलन गर्छ र अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्छ ।’ यस्तै, यसबाट नेपालका मोबाइल व्यवसायी समेत लाभान्वित बन्ने कार्कीको भनाइ छ ।

नेपालमा ५० हजार जना मोबाइलसम्बन्धी व्यवसायमा आबद्ध भएको अनुमान छ । एमडीएमएस लागू भएपछि उनीहरूले गर्ने मोबाइलको कारोबारबाट समेत राज्यलाई कर संकलन हुन्छ । त्यसैले ती ५० हजार जना व्यवसायीको हित समेत ध्यानमा राखेर आगामी दिनमा काम गर्ने मन्त्री कार्कीले बताए ।

उनले ४ वर्ष अघि आफू अर्थमन्त्रालयमा हुँदा एमडीएमएस सम्बन्धी योजनालाई नीतिगत निर्णय दिएको बताए । ‘मलाई खुसी लागेको छ । आज एउटा यस्तो सञ्जोग मिलेको छ,’ कार्कीले भने, ‘४ वर्षअघि मैले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यो प्रणालीमार्फत अवैध मोबाइलको आयात रोक्न नीतिगत रूपमा मेरै कार्यकालमा लागू भएको थियो । आज सञ्चारमन्त्रीका रूपमा शुभारम्भ गर्न पाएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप