बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लाल मोहम्मद हत्याका योजनाकार : नेपालीसँग विवाह, क्यासिनोको लत

७० लाख लुटपाटको घटनामा पनि फरार रहेको पाइयो
बिहीबार, ०६ असोज २०७९, १८ : ३७
बिहीबार, ०६ असोज २०७९

काठमाडौंको गोठाटारमा व्यवसायी लाल मोहम्मदको गोली हानेर हत्या भएको घटनामा मुख्य योजनाकार भनिएका व्यक्तिको पृष्ठभूमि आपराधिक रहेको खुलेको छ । भारत घर भएका नितेन मदन अरोरा लामो समयदेखि नेपालमा बसेर अपराधमा संलग्न भएको पाइएको हो । आमालाई नेपालमा डेरा लिएर राखेका उनले नेपाली युवतीसँग नै विवाह गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका लाल मोहम्मदको हत्या गर्नुअघि नै उनी प्रहरीको खोजी सूचीमा थिए । ‘नितेलाई लुटपाट आरोपमा खोजिरहेका थियौं’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘न्युरोडबाट उनले ७० लाख नगद लुटेर भागेका थिए ।’

१ वर्षअघि उनले न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ लुटेर भागेको प्रहरीको भनाइ छ । सो पैसा हुण्डीको भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडितले ७० लाख नेपाली र ३० लाख भारतीय रुपैयाँ लुटिएको दाबी गरेका छन् । तर, हुण्डीको पैसा भएकाले पीडित पनि खुलेर आउन नसक्दा अनुसन्धानले गति लिएको थिएन ।

​तर, प्रहरी वृत्त जनसेवा र जिल्ला प्रहरी परिसर काठमाडौंले नितेनमाथि निगरानी गरिरहेको थियो । हाल फरार नितेन लामो समयदेखि काठमाडौंमा बस्दै आएको बताइएको छ । उनका दाइ र आमा अहिले काठमाडौंमै छन् । हरियाणा स्थायी घर भएका नितेनले पत्नीलाई दिल्लीमा राखेका छन् । क्यासिनोमा लत लागेर नितेनले लाखौं सिध्याएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

उदय सेट्ठीलाई जुत्ता पुर्‍याउँथे
लाल मोहम्मदको हत्या कनेक्सन भारतीय अन्डरवल्र्ड डन उदय सेट्ठीसँग देखिएको छ । रसुवा कारागारमा रहेका अन्डरवल्र्ड डन सेट्ठीसँग नितेन नियमित टेलिफोन सम्पर्कमा थिए । काठमाडौंबाट ब्राण्डेड जुत्ता बोकेर उनी सेट्ठीलाई भेट्न रसुवा कारागार जान्थे । उनले सेट्ठीको इशारामा काम गर्ने गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

अन्डरवल्र्ड डन छोटा राजनका मुख्य सहयोगी सेट्ठी सामाखुसीका व्यवसायी केदार कक्षपतीका छोरा निरजलाई अपहरण गरेर १ करोड ५० लाख फिरौती लिएको मुद्दामा जेल परेका हुन् ।

लाल मोहम्मद पनि लामो समय रसुवा कारागारमा बसेका थिए । २०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेपछि जेल परेका उनी करिब १० वर्षपछि निस्केका थिए ।

पटुवा जाली नोट कारोबारमा जोडिएका थिए । विगतमा जाली नोट कारोबारमा जोडिएका व्यक्तिहरुको हत्यामा पनि छोटा राजन र  भारतीय अन्डरवल्र्ड बब्लु श्रीवास्तव र ‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाहीको समूह संलग्न हुँदै आएको छ । बब्लु अहिले जेलमा छन् । उनी जेल परेपछि नेपालमा बब्बुको समूह प्रयोग हुने गरेको इतिहास छ । 
लाल मोहम्मद हत्यालाई प्रहरी अधिकारीहरुले पुराना जाली नोट कारोबारीको हत्याको श्रृङ्खलासँग जोडेर अनुसन्धान गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप