शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता गठबन्धनबीचको भागबण्डाप्रति दैलेखमा कांग्रेस र सुर्खेतमा माओवादी असन्तुष्ट

बिहीबार, १३ असोज २०७९, १४ : ४५
बिहीबार, १३ असोज २०७९

सत्ता गठबन्धनको बुधबारको बैठकले सुर्खेतका दुई र दैलेख निर्वाचन क्षेत्र नं.–२ मा भागबण्डाको टुङ्गो लगाएको छ । १० जिल्ला रहेको कर्णालीमा प्रतिनिधिसभा अन्तर्गत २/२ वटा निर्वाचन क्षेत्र रहेका यी दुई वटै जिल्लाका चार वटै क्षेत्रमा कांग्रेसले दाबी गरेको थियो ।

तर चारमध्ये तीनवटा क्षेत्र कांग्रेसको भागमा परेको छ । सुर्खेत जिल्लाका दुई वटै निर्वाचन क्षेत्र कांग्रेसको भागमा परेको छ भने दैलेख निर्वाचन क्षेत्र नम्बर १ भने एकीकृत समाजवादीको भागमा पर्ने निश्चितजस्तै देखिन्छ ।

समाजवादीको भागमा परेको खण्डमा त्यहाँ सो पार्टीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा उम्मेदवार बन्ने देखिन्छ । तर त्यो क्षेत्रमा नेपाली कांग्रेसले पनि दाबी गरेको थियो । कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मी लगायतका जिल्ला तहका नेताहरुले केही समय अघि पार्टी सभापति शेरबहादुर देउवालाई जिल्लाका दुई वटै निर्वाचन क्षेत्र अन्य दललाई दिनु उपयुक्त नहुने भन्दै पत्र समेत लेखेका थिए । कांग्रेसको जनाधार बलियो रहेको र एक्लाएक्लै चुनाव लड्दा पनि कांग्रेसले जित्न सक्ने आधार रहेको भन्दै कांग्रेसले दुवै क्षेत्र आफूले नै पाउनुपर्ने दाबी गरेको थियो ।

तर भागवण्डामा यो क्षेत्र समाजवादीलाई पर्ने भएपछि समाजवादीका नेताहरु हर्षित छन् भने कांग्रेसका नेताहरुमा असन्तुष्टि देखिन्छ । कांग्रेसका जिल्ला सचिव नारायण रेग्मीले क्षेत्र नं.–१ कांग्रेसको भागमा नपर्नु दुर्भाग्य रहेको बताए ।

‘०७४ मा राप्रपालाई अघि सारेर कांग्रेस आफै पछारियो, अहिले अन्य दललाई दिएको खण्डमा सदरमुकाम समेत रहेको क्षेत्रमा कांग्रेस कहिले अघि बढ्ने ?’ उनले प्रश्न गरे, ‘यस्तो अवस्थामा नेताहरु त जसरी पनि चुनावी मैदानमा होमिन सक्छन् तर हामीले कार्यकर्तालाई कसरी बुझाउने ? प्रमुख कुरा यो हो ।’

दैलेखका दुई वटै क्षेत्रमा कांग्रेस सांगठनिक रुपमा बलियो छ । ०७४ मा वाम गठबन्धनसँग पराजित हुने डरले क्षेत्र नं.–१ मा कांग्रेसले राप्रपालाई अघि सारेको थियो । तर पनि राप्रपा–कांग्रेसका उम्मेदवार पराजित बने । अहिले पार्टी सभापति मणिराम रेग्मी स्वयं पनि प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारी गरिरहेका थिए । तर यो क्षेत्र समाजवादीको भागमा पर्ने भएपछि कांग्रेसमा असन्तुष्टि पैदा भएको हो । जसले गर्दा चुनावसम्म गठबन्धन घटकबीच मतभेद हुनसक्ने आकलन गरिएको छ ।

माओवादी केन्द्र दैलेख जिल्लाका संयोजक प्रेम कटुवालले प्रतिनिधिसभामा भएको भागबण्डामा आफ्नो कुनै विमति नरहेको बताए । यद्यपि प्रदेशसभामा आफूहरुले दाबी गरेको क्षेत्र पाउनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार प्रदेशसभातर्फ क्षेत्र–१ (ख) र २ को (क) मा माओवादीले दाबी गरेको छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुवै क्षेत्र कांग्रेसको भागमा परेको छ । कांग्रेसबाट प्रतिनिधिसभाका लागि क्षेत्र नंं.–१ बाट पार्टी उपसभापति पूर्णबहादुर खड्का र क्षेत्र नं.–२ बाट हृदयराम थानी उम्मेदवार बन्नेछन् । तर सुर्खेत क्षेत्र नं.–२ मा दाबी गर्दै आएको नेकपा माओवादी केन्द्र भने भागबण्डाप्रति असन्तुष्ट देखिएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका सुर्खेत जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप) प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि लागि सिफारिस भइसकेका थिए । उनले रातोपाटीसँग भने, ‘प्रदेश राजधानीसमेत रहेको जिल्लामा दुईमध्ये क्षेत्र नं.–२ मा हामीले दाबी गरेको र नेतृत्वले पनि सोही कुरालाई मध्यनजर गरेको कुरा हामीलाई जानकारी गराइएको थियो । के कारणले अहिले दुवै क्षेत्र कांग्रेसको भागमा प¥यो भन्नेबारे हामी छलफलमै छौं ।’

साथै उनले अझै पनि एउटा क्षेत्र माओवादीले पाउनेमा आशावादी रहेको संकेत गरे । माओवादीले प्रदेशसभातर्फ पनि चार वटा क्षेत्रमध्ये दुई वटामा दाबी गरेको छ । उसले क्षेत्र नं.–१ (ख) र २ को (ख) मा दाबी गर्दै आएको छ । तर (ख) मा एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।

यता नेपाली कांग्रेसका जिल्ला सचिव देवकुमार सुवेदी भने गठबन्धनको केन्द्रीय सर्कुलरले गरेको निर्णयलाई मान्नुपर्ने तर्क गरे । उनले भने, ‘माओवादीले दाबी गर्नु स्वाभाविक नै हो, तर केन्द्रबाटै निर्णय भइसकेकाले हामीले अब त्यसलाई स्वीकार गर्नैपर्छ ।’

उनले प्रदेशसभाको लागि सिट बाँडफाँट हुन बाँकी नै रहेको बताए । समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आफ्नो कुनै विमति नरहेको तर प्रदेशसभाको सिट बाँडफाँटमा भने आफ्नो दलको उपस्थिति गराइनुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप