शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरका दुई सिट कांग्रेस र एकीकृत समाजवादीले बाँडे, माओवादी असन्तुष्ट

बिहीबार, १३ असोज २०७९, १६ : ५७
बिहीबार, १३ असोज २०७९

सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभातर्फ मकवानपुरका दुई निर्वाचन क्षेत्रमा भागबण्डा टुङ्गिएको छ । जसमध्ये एउटा निर्वाचन क्षेत्र कांग्रेसले र एउटा निर्वाचन क्षेत्र नेकपा एकीकृत समाजवादी पार्टीले पाउने भएको छ । गठबन्धनमा भागबण्डा भएसँगै कांग्रेस र एकीकृत समाजवादीले सकारात्मक प्रतिक्रिया दिएका छन् भने माओवादी केन्द्र रुष्ट बनेको छ । माओवादी केन्द्रले जिल्लामा आफूलाई भाग नदिइएको भन्दै आगामी यात्रा थप जटिल हुने बताउँदै आएको छ ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले केन्द्रीय गठबन्धनको निर्णय सकारात्मक रहेको बताए । उनले केन्द्रको निर्णय स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । ‘कांग्रेसले केन्द्रको निर्णयलाई स्वीकार गरेको छ । यो सकारात्मक छ,’ उनले भने, ‘केही व्यक्तिले अवसर नपाएकाले रुष्ट देखिएका छन् । गठबन्धनको निर्णय सर्वस्वीकार्य छ । सबैले मान्नु पर्छ ।’

उनले एक अर्कालाई समस्यामा पार्नुभन्दा गठबन्धनको सबै दल र उम्मेदवार एकजुट भएर चुनावी अभियानमा जानुपर्ने बताए । यता नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारीले केन्द्रले तल्लो तहलाई सही नजरले हेर्न नसकेको बताए । उनले काठमाडौं बसेर पूरा देश देख्न सकिन्न भन्दै नेतृत्वले गल्ती गरेको बताए ।

केन्द्रीय नेतृत्वको गल्तीका कारण गठबन्धनका दलहरुलाई आगामी निर्वाचनमा समस्या हुन सक्ने उनको भनाइ छ । ‘मकवानपुरको वास्तविक अवस्थालाई केन्द्रीय नेतृत्वले जान्न नै खोजेन । केन्द्रका शीर्ष नेताहरु आ–आफू सेटल हुन लाग्दा माओवादी केन्द्रले आफ्नो प्रभाव क्षेत्र गुमाउनु परेको छ,’ उनले भने, ‘जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुको पनि कमजोरी रह्यो । अबको परिस्थिति जटिल बन्न सक्छ ।’

नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष सूर्यचन्द्र न्यौपानेले गठबन्धनको केन्द्रीय तहको निर्णय सकारात्मक रहेको बताए । उनले केन्द्रीय गठबन्धनको निर्णय स्वीकार गरेर अघि बढ्नुपर्ने बताए ।

‘केन्द्रीय गठबन्धनको निर्णय सकारात्मक छ । यसलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्छ,’ उनले भने । विगतको निर्वाचनमा जितेको आधारमा गठबन्धनको भागबण्डा टुङ्गिएको उनको भनाइ छ ।

‘यसमा कसैले पनि चित्त दुखाउन जरुरी छैन । गठबन्धन भनेकै एक अर्कालाई सहयोग गरेर अघि बढ्नु हो,’ उनले भने, ‘हामीले संविधानको रक्षाका लागि गठबन्धन गरेका हौँ । हाम्रो मुद्दा त्यसतर्फ नै केन्द्रित हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप