शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ उम्मेदवारी खारेज विवाद : निर्वाचन अधिकृतको स्वार्थ बाझियो

शुक्रबार, २८ असोज २०७९, २२ : ३६
शुक्रबार, २८ असोज २०७९

रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको भूमिकालाई लिएर प्रश्न उठ्न थालेको छ । निर्वाचन अधिकृत उदवीर नेपाली राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको स्वकीय सचिवको जिम्मेवारीमा रहिसकेको र उनकी पत्नी नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशमा सांसद रहिसकेका कारण उनी पूर्वाग्रही देखिएको विभिन्न दलका प्रतिनिधिको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले निर्वाचन अधिकृत नेपालीको भूमिका पूर्वाग्रही देखिएको बताए । पाण्डेका अनुसार गठबन्धनका तर्फबाट रुपन्देही–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राजु गुरुङलाई ‘कालोसूचीमा परेको’ भन्दै उनको उम्मेदवारी खारेज गर्ने निर्णय गर्नुमा निर्वाचन अधिकृत नेपालीको ‘स्वार्थ बाझिएको’ छ ।

राजु गुरुङ व्यक्तिगत रुपमा कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको पाण्डेको जिकिर छ । उनका अनुसार कर्जा सूचना केन्द्रले उनी सेयर सदस्य रहेको कम्पनीलाई कालोसूचीमा राखेको थियो । त्यसविरुद्ध उनको कम्पनी पुनरावेदनको रिट लिएर अदालत गएको थियो र उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामै छ ।

तर मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचन अधिकृत नेपालीले गलत नियतका साथ गुरुङको उम्मेदवारी खारेज गरिदिएको पाण्डेले बताए । उनले भने, ‘मुद्दाको किनारा नलागीकन कुनै पनि व्यक्तिलाई कसुरदार भन्न मिल्दैन, कालोसूचीमा राख्न सकिँदैन । अहिले निर्वाचन अधिकृतले गरेको उम्मेदवारी खारेजको निर्णय पनि कानुनी रुपमा परिपक्व देखिँदैन ।’

उनले यस्तो निर्णय हुनुमा केही मिलेमतोको आशंका गरिएको छ । ‘निर्वाचन अधिकृत आफै पनि राजनीतिमा सक्रिय र कुनै पार्टीप्रति लगाव रहेको भन्ने सुनिएको छ । यी सबै प्रकृति हेर्दा यहाँ पूर्वाग्रह हो कि भन्ने देखिएको छ,’ उनले भने, ‘आजभोलि नै हामी हाम्रो धारणा सार्वजनिक गर्दैछौँ । सरासरी हेर्दा पूर्वाग्रह जस्तो देखिन्छ ।’

निर्वाचन अधिकृत उदवीर नेपालीकी पत्नी जुनादेवीको फेसबुक स्टाटस्

नेता पाण्डेले निर्वाचन अधिकृतको भूमिका स्वच्छ नदेखिएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर गइसकेको बताए । उनले भने, ‘निर्वाचन अधिकृतको भूमिका पनि स्वच्छ देखिएन । उहाँ यसअघि पनि कुनै राजनीतिक दलका नेताको पिए बन्न जानुभएको र निकटता रहेको देखियो भने उहाँको श्रीमतीको राजनीतिक संलग्नताले पनि उहाँको समेत स्वार्थ बाझिएको जस्तो देखिन्छ ।’

यसैबीच रुपन्देही क्षेत्र नम्बर २ मा एमाले नेता विष्णु पौडेललाई एकल प्रतिस्पर्धी बनाउन अन्य उम्मेदवारविरुद्ध उजुरी दिने दुई स्वतन्त्र उम्मेदवार एमालेकै डमी उम्मेदवार भएको खुलेको छ । स्वतन्त्र उम्मेदवार डा. कमल भुसालविरुद्ध उजुरी दिने छोप नारायण पौडेल र विष्णु विक एमालेकै स्थानीयस्तरका कार्यकर्ता हुन् ।

नेकपा एमाले रुपन्देहीका एक जिम्मेवार नेताका अनुसार डा. कमल भुसालविरुद्ध उजुरी दिने दुवैजना स्वतन्त्र उम्मेदवार एमालेकै कार्यकर्ता हुन् । सवारीसाधन प्रयोग तथा अन्य सुविधाका लागि उनीहरुलाई स्वतन्त्र उम्मेदवारी दिन लगाइएको उनको दाबी छ ।

त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङविरुद्ध उजुरी दिने अञ्जित विष्ट पनि एमालेकै कार्यकर्ता हुन् । वेष्ट प्रोजेक्ट कन्सल्टिङ एण्ड सप्लायर्सका सञ्चालक अञ्जित विष्ट एमाले निकट युवा संघका कार्यकर्ता हुन् । महेश बस्नेतसँग निकट रहेका विष्ट ठूला ठूला ठेक्कापट्टामा संलग्न छन् ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेता विष्णु पौडेललाई एकल प्रतिस्पर्धी बनाउन गठबन्धनका उम्मेदवारविरुद्ध उजुरी गर्न लगाउने र चर्चामा रहेका स्वतन्त्र उम्मेदवार डा. कमल भुसालविरुद्ध पनि उजुरी गरी प्रतिस्पर्धाबाट हटाउने कार्यमा एमालेको संस्थागत भूमिका रहेको एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप