सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : हजुरलाई नै जिताउने हो

शनिबार, २९ असोज २०७९, ०७ : ४०
शनिबार, २९ असोज २०७९

हो नेताज्यू 
यो लोकमा जे भइरहेको  छ
हजुरकै कृपाले भइरहेको छ
हजुर नभइदिएको भए 
हाम्रो बाँच्ने आश नै रहने थिएन
हजुर नभइदिएको भए 
हामीले फेर्ने सास नै रहने थिएन
हामीले खाने प्रत्येक गाँसमा हजुरकै निगाह छ
हजुर त हाम्रो ब्रह्मा, विष्णु, महेश्वर सबै हो
अल्लाह भने पनि हजुर
जिसस क्राइष्ट भने पनि हजुर
वुद्ध भने पनि हजुर
हजुर सर्वव्यापी हुनुहुन्छ
भगवान् श्रीकृष्णले जस्तै एकैपटक
अनेक रूप देखाउन पनि सक्नुहुन्छ ।

कमरेड हजुर नभएको भए
गाडी हिँड्ने बाटाहरू बन्ने थिएनन््
धारा, पानी पधेरा केही बन्ने थिएनन्
हामीलाई जान्ने, सुन्ने बनाउने 
स्कुल कलेजहरु त खुल्दै खुल्ने थिएनन्
रातमा सल्लाको दियालो बालेर बस्नु पथ्र्यो
नाङ्गो शरीर ढाक्न रुखका बोक्रा निकाल्नु पथ्र्यो
हामी अहिलेसम्म पनि ओडारमै बसिरहेका हुन्थ्यौं
हाम्रो ईश्वर परमेश्वर सबै हजुर नै हो
हजुर नेता नबनेको भए
हामी मान्छे नै बन्ने थिएनौं
अहिलेसम्म नै रामापिथेकस बनेर
जङ्गलमा कन्दमूल खाइरहेका हुन्थ्यौं ।

हजुर जन्मिएकै  कारण
नील आर्मस्ट्रङ चन्द्रमामा पुगे
हजुर राजनीतिमा लागेकैले मंगल ग्रहमा यान पुग्यो
हजुरले आदेश दिएकै कारण ठुलै प्रलय आउन रोकियो
हजुरले ठड्याएकैले सगरमाथा नेपालमा उभिएको हो 
नत्र उहिल्यै बिस्तारवादी साम्राज्यवादीले लगिसक्थे 
हजुरले चाहे पृथ्वीको गति रोक्न पनि सक्नु हुन्छ
रातलाई दिन बनाउन पनि सक्नु हुन्छ 
दिनलाई रात बनाउन पनि सक्नु हुन्छ
हजुरले यसपटक पनि चुनाव जित्नुभयो भने त
घर घरमा अन्नका दाना बर्सने छन्
एक परिवार, एक कार हुनेछ
कारमा मन नलागे छुकछुके रेलमा चढ्न पाइनेछ
मङ्गल ग्रहको यात्रामा अघि बढ्न पाइनेछ 
विवाहित अन्तरिक्ष यात्रामा जान पाउने विश्वासमा छन् 
बिहे पश्चात अविवाहित  युवायुवतीहरु
हनिमुन मनाउन चन्द्रमामा जान पाउने आशमा छन् ।
हामी त हजुरले हार्नु भो भने, 
पृथ्वी भासिएला भन्ने डरमा छौं
आकाश खसेर वित्यास नै पर्ला कि 
भनेर त्रासमा छौं 
दिउँसै रात पर्यो भने के गर्ने ?
हजुरको हारको पीडामा 
पृथ्वी घुम्न छोडेर 
एकै छिन रुँदै रोकियो भने के गर्ने ? 
उथलपुथल हुन सक्छ व्रह्माण्डकै  स्थितिमा
त्यसैले यसपटक पनि हजुर नै आउने हो
हाम्रो दिमागमा गधाको गोबर भरिएको छ
त्यसैले ढुक्क हुनुहोस् नेताज्यू 
आउँदो निर्वाचनमा पनि हजुरलाई नै जिताउने हो ।
हजुरलाई नै जिताउने हो ।।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप