आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विपदमा दोब्बर भाडा असुली, जुम्लादेखि नेपालगन्जको हवाई भाडा १४ हजार

आइतबार, ३० असोज २०७९, १५ : २१
आइतबार, ३० असोज २०७९

अविरल वर्षाका कारण जुम्लामा बाढी पहिरोले ठुलो क्षती भएको छ । ठाउँ ठाउँमा गएको पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन लागि सबै निकाय लागेका छन् । यद्यपि, राजमार्ग पूर्णरुपमा सञ्चालन  हुन लामो समय लाग्ने प्रष्ट छ । 

यही मौका छोपेर निजी वायु सेवा कम्पनीहरूले भने मनलाग्दी भाडा असुली रहेका छन् । अहिले जुम्लाको एक मात्रै यातायात सेवा भनेको हवाई उडान मात्रै हो । यही मौकामा उनीहरूले नियमित उडान नभरेर चार्टर उडान सुरु गरेका छन् । एकतर्फी मात्रै यात्रु हुने र सञ्चालन खर्च धान्न नसक्ने भन्दै वायुसेवा कम्पनीहरूले  अत्यधिक भाडा लिएर टिकट बिक्री गरिरहेका छन् । लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थीहरूले  जुम्लाबाट नेपालगन्जको प्रतिव्यक्ति १४ हजार रुपैयाँसम्म भाडा तिर्दा पनि टिकट नपाएको गुनासो गरेका छन् ।

परीक्षा  दिने विद्यार्थी, गम्भीर बिरामी र विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीलाई प्राथमिकता दिएर उडाउन भर्न जुम्ला प्रशासनले लिष्ट बनाएको थियो । त्यही प्राथमिकताका  आधारमा  प्रशासनले प्रवेश पत्र मागेर लोक सेवा आयोगको  परीक्षा दिन मिति  हेरेर विद्यार्थी हवाइजहाजमा पठाएको थियो । जसमा ३८ जना विद्यार्थी, १३ जना खेलाडी, दुई जना बिरामी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । 

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले हिमा गाउँपालिका राहत पुर्याउन आएको  सेनाको हेलिकोप्टरलाई अनुरोध गरी ६ जना एसडिबिमा परीक्षा दिने विद्यार्थी पठाएको बताए । केही भिसा लागेका, बिरामी र विद्यार्थी पठाएको हो । उनले भने, 'प्रशासनले जहाजको टिकट बाँड्ने होइन । गुनासो गर्न आएका नागरिकको समस्या समाधानको लागि  एयरलाइन्ससँग अनुरोध गरेको हो ।'

जुम्लामा यतिवेला मात्रै नभई लामो समयदेखि हवाई सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल)अनुसार उडान हुने फाइदा नागरिकले लिन नपाएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भए पनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्री वितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएकाले  हुन् । 

नियमित उडानभन्दा चार्टर उडानको धन्दा बढी 

नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोबर महिनाको १५ दिनमा समिट एयरले  सात वटा  उडान भरेको छ । जसमा चार वटा नियमित र तीन वटा चार्टर उडान गरेको छ । तारा एयरले  चार वटा उडान भरेकोमा एक चार्टर  उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ । जुम्लाबाट सेड्युल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार नौ सय  छ । तर, चार्टर उडानका लागि १४ हजार तिर्ने गरेका छन् । यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ रुपैयाँ लिँदै आएको छ । 

यस्तो छ सेड्युल उडान 

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रवार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ। यस्तै, नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्छ। तर, पछिल्लो समयमा नेपाल एयरलाइन्सले आइतबार उडान भर्ने सेड्यूल  कागजमै सीमित छ । जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने नेपाल एयरलाइन्सले महिना तीन वटा मात्रै उडान भर्ने गरेकाले जुम्ली जनता निजी एयरलाइन्सको महँगो हवाई भाडा तिर्न बाध्य छन्। -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप