मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘राप्रपाको नेतृत्व सिद्धान्तबाट पछि हटेकोले स्वतन्त्र रोजेँ’

सोमबार, ३१ असोज २०७९, १३ : ३४
सोमबार, ३१ असोज २०७९

सञ्जय श्रेष्ठले गायकको रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् । अहिले भने उनी आफ्नो परिचय फराकिलो पार्दै राजनीतिज्ञका रूपमा पनि चिनाउने तरखरमा छन् ।

उनले मङ्सिर ४ को निर्वाचनमा आफूलाई काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको रूपमा अगाडि सारेका छन् । करिब ६ महिना अगाडिदेखि राप्रपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेका श्रेष्ठले अन्तिम समय आएर स्वतन्त्रको रूपमा उम्मेदवारी दिएका हुन् । गायक श्रेष्ठको स्वतन्त्र उम्मेदवारी  र चुनावी अभियानको विषयमा रातो पाटीले गरेको कुराकानी ।

चुनावी गतिविधि कसरी अगाडि बढाइरहनु भएको छ ?

अहिले मेरो दैनिकी चुनावी गतिविधि नै भएको छ । विभिन्न समुहरुसँग भेटघाट, अन्तर्क्रिया लगायतका व्यतित बनिरहेको छु । आफ्नो क्षेत्रका मानिसहरू भेट्ने, उनीहरूको समस्या, गुनासा सुन्ने गरिरहेको छु ।

चुनाव केन्द्रित गरेर क्षेत्रभित्र विभिन्न सम्पर्क कार्यालय समेत स्थापना गरेर त्यहाँ एक वा दुई प्रतिनिधि समेत राखेको छु । प्रचारका लागि घर दैलो कार्यक्रम मेरो मंगलबार वा बुधबारबाट सुरु हुनेछ । घरदैलोको क्रममा आफ्ना क्षेत्रको सबै ठाउँमा पुग्ने योजना छ ।

राजनीतिका धुरन्धर नेता समेत तपाईंको प्रतिस्पर्धी छन् । यो हिसाबले चुनावी प्रतिस्पर्धा कतिको सहज देख्नु भएको छ ?

जति पनि मेरो प्रतिस्पर्धी छन्, उनीहरूलाई हराउन मलाई कुनै गाह्रो होला जस्तो लागेको छैन । सञ्जय श्रेष्ठसँग कसरी भिड्ने भनेर उनीहरूले सोच्नुपर्ने देखिन्छ । किनभने पब्लिको साथ मलाई छ । 

कलाकार राजनीतिमा आउँदै गर्दा कतिपयले कलाकारिताको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् ?

कतिपय कलाकार राजनीतिमा आउनुको कारण पनि यो हुनसक्ला । तर म राजनीतिमा समाज सेवामा रुचि भएर सक्रिय भएको हुँ । राजनीतिमा मेरो सक्रियता २०४६ साल अगाडिदेखि नै हो । त्यतिबेला त म सेलिब्रेटी समेत भएको थिइनँ । म राप्रपामा नै सक्रिय थिए ।

लामो समयदेखि राप्रपामा रहेको व्यक्तिलाई किन पत्याएन त टिकट ?

मङ्सिर ४ को निर्वाचनमा म उम्मेदवार बन्ने घोषणा करिब ६ महिना अगाडिको हो । त्यस अनुसार मेरो गतिविधि पनि रहँदै आएको थियो ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सबै पदाधिकारीले ६ नम्बर क्षेत्रबाट हाम्रो तर्फबाट तपाई उठ्ने हो भनेर पहिले देखिनै हौसला दिएका हुन् ।  त्यो अनुसार मैले आफूलाई तयारी गर्दै आइरहेको थिएँ ।

तर अकस्मात् नोमिनेसनको एक दिन अगाडि मेरो विरुद्ध बागी उम्मेदवार खडा गरियो । राप्रपाको नेतृत्वबाट अन्तिम समयमा आएर निर्णय नगर्नु पर्ने निर्णय भयो । त्यो के भने उनीहरूले आफ्नो शीर्षस्थ नेताहरू जोगाउन एमालेसँग तालमेल गरे । त्यो तालमेलको सिकार काठमाडौँ क्षेत्र नम्बर ६ पनि पर्‍यो । 

तालमेलबाट मेरो क्षेत्रमा एमालेका सर्वेन्द्र खनाललाई उम्मेदवारको रूपमा खडा गरियो । मलाई ब्याक हुन भने । म ब्याक हुन्छु भन्ने उनीहरूलाई लागेको थियो होला । उनीहरूले मलाई कारबाही गर्नु अगाडि मैले पार्टी छोडेर आफ्नो उम्मेदवारी स्वतन्त्र रूपमा घोषणा गरे ।

मेरो बिचारमा अहिले राप्रपाको नेतृत्व आफ्नो सिद्धान्तबाट पछि हट्यो । हामी कसैसँग तालमेल गर्दैनौ भनेर बाहिर बोल्ने एकथरी, भित्रभित्र अर्को थरी क्रियाकलाप गर्ने । त्यसको सिकार म पनि भए । मसँग समेत सम्पर्क विहीन रहे ।

राप्रपाको क्रियाकलापले मन दुखेन ?

राप्रपामा म पनि एउटा राम्रो उपस्थिति जनाउन सक्ने व्यक्ति रहेछु भन्ने लागेको थियो । उनीहरूले म माथि पनि राजनीति गर्‍यो । यसले झन् मलाई ठुलो हौसला दियो । अलि अलि चित्त पनि दुख्यो । राप्रपाले म माथि जे गर्‍यो मैले त्यसलाई अहिले आफ्नो शक्ति बनाएर अगाडि बढिरहेको छु । त्यसैको कारण पनि म सबैको हुन स्वतन्त्रबाट आएको हो ।

स्वतन्त्रबाट जित हासिल गर्न कतिको सहज देख्नु भएको छ ?

मेरो क्षेत्रमा जति पनि राप्रपामा आस्था राख्ने व्यक्ति छन् ।  ती सबै मसँग छन् । त्यसको अलावा म स्वतन्त्र भएर पनि सबै पार्टीका मानिस पनि जोडिएका छन् । अहिले करिब ९० प्रतिशत मानिस राप्रपाको यो क्रियाकलापबाट असन्तुष्ट छन् । 

अन्य पार्टीका कार्यकर्ताले पनि यो क्षेत्रमा टुरिस्ट उम्मेदवार भन्दा पनि यसै क्षेत्रमा भिजेको मानिस चाहिन्छ भनिरहेका छन् । त्यसले पनि सबैको म प्रति विश्वास रहेको देखाउँछ । त्यो मेरो जितको आधार हुन् ।

राजनीतिकलाई कसरी बुझ्नु भएको छ ?

राजनीतिमा कोही आफ्नो नहुने रहेछ । आफ्नै पार्टीले पनि पहिले अँगालो मारेर पछिबाट छुरा रोप्न सक्ने रहेछ । प्रतिद्वन्द्वीसँग भन्दा पनि बढी सजग आफ्नासँग हुनुपर्ने रहेछ । 

चुनावी मुद्दा के–के छन् ?

मेरो एजेन्डा पहिले देखिनै संवैधानिक राजतन्त्र सहितको सनातन हिन्दु राज्य नेपाल हो । यो एजेन्डाबाट म अलिकति पनि टसमस भएको छैन । यो बाहेक आफ्नो क्षेत्रका शिक्षा, स्वास्थ्य र रोजगारका कुरा पनि छन् । अहिलेको मेरो सबैभन्दा ठुलो एजेन्डा भ्रष्टाचार पूर्ण रहित समाज हो । त्यसपछि दण्डहिन्ताको अन्त्य हो ।

कला क्षेत्रका सहकर्मीहरूको साथ कतिको छ ?

कला क्षेत्रका सहकर्मीको सानो साथले पनि ठुलो उपलब्धि हुन सक्छ । त्यो मैले पनि बुझेको छु । सबैले मलाई विभिन्न रूपमा साथ दिइरहेका छन् । कतिपय साथीहरू देखिएर सहयोग गर्न सक्नुहुन्न । उहाँहरूको विभिन्न बाध्यता छन् । त्यसको मैले पनि सम्मान गरेको छु ।  सामाजिक सञ्जाल लगायतको माध्यमबाट विभिन्न साथ र सहयोग पाइरहेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप