शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारमा दैनिक ३० किलो सुन खपत हुने, कसरी पूर्ति हुन्छ माग ?

मङ्गलबार, ०१ कात्तिक २०७९, ०८ : ३९
मङ्गलबार, ०१ कात्तिक २०७९

विश्वव्यापी महामारीकारूपमा फैलिएको कोभिड–१९ का कारण सुस्ताएको सुनचाँदी बजार तिहारमा मौलाउने भएको छ । कोरोना र त्यसपछि सृजित आर्थिक समस्याका कारणले यतिबेला सुनचाँदी बजारमा खासै चहलपहल छैन । तर, दसैँपछिको ठुलो चाड तिहारको ४/५ दिनमा भने यसको व्यापार ह्वात्तै बढ्ने भएको हो । 

सुनचाँदी व्यवसायीहरूका अनुसार तिहारको समयमा सामान्य दिनभन्दा दोब्बरले सुनचाँदीको व्यापार बढ्छ । हाल दैनिक मुस्किलले देशभर १५ किलोग्राम सुन खपत भइरहेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । तर, तिहारको समयमा भने यसको खपत दोब्बरले बढेर दैनिक ३० किलोग्रामसम्म पुग्ने उनको भनाइ छ । यद्यपि, यो गत वर्षको तुलनामा भने औसतमा दैनिक १० किलोग्राम कम हो ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले हाल बजारमा दैनिक १५ किलोसम्म सुन खपत भइरहेको जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘तर, तिहारको समयमा ४/५ दिन दैनिक ३० किलोसम्म सुन खपत हुन्छ ।’ यो सामान्य अवधिमा खपत हुने सुनभन्दा बढी हो ।

खासगरी, तिहारको समयमा सर्वसाधारणले लक्ष्मी पूजा गर्ने गर्छन् । त्यस क्रममा लक्ष्मी पूजाको दिन घरमा नयाँ धातु भित्र्याएमा वर्षभरि धन आर्जन हुने जनविश्वास छ । यसैगरी, धनतेरसको दिन समेत बाहिरबाट घरमा बहुमूल्य धातु लगेर राखेमा वर्षभरि ४ गुणा बढी धनआर्जन हुने विश्वास छ । यही विश्वाससहित सर्वसाधारणले धनवन्तरी जयन्तीको दिन अर्थात् कात्तिक त्रयोदशीका दिन र लक्ष्मी पूजाका दिन सुन, चाँदी, हिरा, मणि र अद्य बहुमूल्य धातुसहितका वस्तु किन्छन् ।

सोहीकारण, तिहारको समयमा सुनचाँदी पसलमा सर्वसाधारणको घुइँचो लाग्छ । देशभरका सुनचाँदी पसलमार्फत दैनिक ३० किलोसम्म सुन खरिद हुँदा सुनचाँदीको बजारलाई नै प्रभावित पार्छ । तर, यही समयमा नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको बचाउने लक्ष्यसहित सुनको आयात दैनिक १० किलोसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ ।

यस आधारमा दैनिक हुने आयात र बजारको खपतको हिसाब मिल्दैन । यसै पनि यतिबेला बजारमा दैनिक १५ किलोग्रामसम्म सुनको खपत भइरहेको महासंघका अध्यक्ष शाक्यले बताए । ‘अहिले नै दैनिक १५ किलोसम्म खपत हुँदै आएको छ,’ उनले भने, ‘अझै तिहारको समयमा ३०/३५ किलोसम्म सुनको खपत हुन्छ ।’

यस्तो अवस्थामा व्यवसायीले यसअघि राखेको स्टकबाट बजारको माग पुरा गर्ने प्रयास गर्ने शाक्यले बताए । यस्तै, बजारबाटै सर्वसाधारणले बेच्ने सुन र पुरानो सुन ल्याएर नयाँ सुन बनाउनेहरूको माग समेत जोडिएको हुँदा आपूर्ति धान्न समस्या नहुने व्यवसायीहरूको भनाइ छ । यस्तै, यो तिहारमा करिब २ हजार किलोग्राम चाँदीको व्यापार हुने समेत महासंघले जनाएको छ । 

२ महिनामा ८ अर्ब ३५ करोडको सुन

चालू आर्थिक वर्ष २०७९/८० को २ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ । चालू वर्षको साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको १२ लाख १५ हजार ग्राम सुन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

यो सुन आयात गरेबापत आयातकर्ताले राज्यलाई १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा संयुक्त अरब इमिरेट्स र टर्कीबाट सुन आयात हुँदै आएको छ । यस अवधिमा इमिरेट्सबाट ५ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको र टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख रुपैयाँको सुन आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

यसैगरी, यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको छ । २ महिनाको अवधिमा नेपालले विश्वका ५ वटा मुलुकबाट चाँदी आयात गरेको छ । त्यसमध्ये चीन, टर्की, हङकङ, स्वीजरल्याण्ड र संयुक्त अरब इमिरेट्स हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप