त्रिवि र नेविसंघबीच ८ बुँदे सहमति, लामो समयदेखिको तालाबन्दी खुल्यो
त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघबीच ८ बुँदे सहमति भएको छ । त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको नेविसंघ त्रिवि नेता विष्णु बहादुर बडैलाले जानकारी दिए ।
सहमतिअनुसार व्यवस्थापन संकाय बीबीएतर्फको २२ र २५ असारमा लिइएको परीक्षाका प्रश्नपत्रहरूमा देखिएको समस्याका विषयमा अध्ययन समिति गठन गरिनेछ । त्यस्तै मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिका संयोजक प्रा डा.घनश्याम भट्टराईको प्रतिवेदनबाट दोषी देखिएका व्यक्तिहरू उपर कारवाही गर्ने सहमति भएको छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका तथा संस्थानहरूको परीक्षा प्रणालीमा त्रुटिहरु देखिएकोले सम्पूर्ण पक्षहरुलाई अध्ययन गरी डीन कार्यालयहरु र परीक्षा नियन्त्रण कार्यालयले ३ महिना भित्र कार्यविधिहरू तयार गरी कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।
विद्यार्थी छात्रवृत्तिका लागि सेन्ट्रल पोर्टल निर्माण गरी कार्यविधि ३ महिना भित्र तयार गर्ने र कार्यान्वयनमा ल्याउने, त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने, त्यसका लागि सेमेस्टर प्रणालीअन्तर्गत ३ महिनाभित्र र वार्षिक प्रणालीको ५ महिनाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने सहमति नेविसंघ र त्रिविबीच भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गर्ने कार्यहरु र प्रमाणपत्र वितरण कार्य क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु मार्फत समेत गर्ने, विश्वविद्यालयमा घटित अप्रिय घटना तथा उत्पन्न परिस्थितिप्रति दुःख प्रकट गर्दै आगामी दिनमा संवेदनशिल बनेर विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको त्रिपक्षीय सम्बन्धलाई स्थापित गर्ने र हरेक मुद्दाहरूलाई वार्ता, संवाद र सहमतिबाट समाधान गर्ने सहमति समेत गरिएको छ । यी सहमतिपछि नेविसंघले विश्वविद्यालयमा लगाएको तालाबन्दी लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैबाट फिर्ता लिएको छ ।
लामो समयदेखि नेविसंघले तालाबन्दी गर्दा पठनपाठनसँगै विश्वविद्यालयले आफ्ना गतिविधि अगाडि बढाउन सकेको थिएन । लामो समयदेखि त्रिविले मागका विषयमा कुनै सुनुवाई नगरेपछि नेविसंघ आफैंले वार्ताका लागि अग्रसरता देखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण