बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु

बिहीबार, ०३ कात्तिक २०७९, १२ : २४
बिहीबार, ०३ कात्तिक २०७९

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ ।  पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ । 

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्लामा पठाइसकेको छ । 

प्रत्यक्षतर्फ १ करोड ३७ हजार मतपत्र छपाई 

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।  छापिएका मध्ये प्रतिनिधिसभा तर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेशसभा तर्फको मतपत्र ५० लाख २४ हजार रहेको निर्वाचन आयोगले जनाएको छ । 

योसँगै प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ । 

प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । 
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप