मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कार्यालयलाई निःशुल्क जग्गा प्रदान गर्ने १८ दाता सम्मानित

शनिबार, ०५ कात्तिक २०७९, ०६ : ३३
शनिबार, ०५ कात्तिक २०७९

खोटाङको साकेला गाउँपालिकाले प्रशासकीय भवन, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा प्रदान गर्ने १८ दातालाई सम्मान गरेको छ । प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा निःशुल्क उपलव्ध गराउने साकेला गाउँपालिका–४ का काजीबहादुर खत्री, छ रोपनी जग्गा प्रदान गर्ने बलराम राई, पाँच रोपनी जग्गा प्रदान गर्ने भिमबहादुर सुवेदी, तीन रोपनी जग्गा प्रदान गर्ने राजकुमार सुवेदी र एक रोपनी जग्गा प्रदान गर्ने विष्णुकुमारी कटवाललाई सम्मान गरिएको हो । वडादसैँ, शुभ दिपावली, छठ, क्रिष्मस र साकेला उद्यौलीको अवसरमा  शुक्रबार शुभकामना आदन–प्रदान तथा जग्गादाता सम्मान कार्यक्रमको आयोजना गरी गाउँपालिकाले जग्गादातालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो । 

यस्तै, साकेला गाउँपालिका–२ रतन्छास्थित स्वास्थ्यचौकी रतन्छालाई सात रोपनी जग्गा निःशुल्क प्रदान गर्ने मानबहादुर राई, वडा कार्यालय रतन्छाको नाममा दुई रोपनी पाँच आना जग्गा निःशुल्क प्रदान गर्ने रुपेश राईलाई पनि सम्मान गरिएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने पदमबहादुर कामीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । साकेला आधारभूत अस्पताल निर्माणका लागि चार रोपनी आठ आना जग्गा निःशुल्क प्रदान गर्ने तुलराम राई, तीन रोपनी छ आना जग्गा प्रदान गर्ने रामकुमार राई र एक रोपनी दुई आना जग्गा उपलव्ध गराउने सञ्जय राईलाई सम्मान गरिएको छ । 

साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयको नाममा तीन रोपनी जग्गा गर्ने देउकुमार श्रेष्ठलाई, एक÷एक रोपनी जग्गा दान गर्ने प्रेमकुमार श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । आधारभूत स्वास्थ्य इकाईको भवन निर्माणका लागि तीन रोपनी आठ आना र साकेला गाउँपालिका–४ मात्तिमस्थित धनबरे खेलमैदान निर्माणका लागि चार रोपनी जग्गा निःशुल्क प्रदान गर्ने विष्णुमायाँ श्रेष्ठ सम्मानित भएका छन् । 

त्यस्तै, साकेला गाउँपालिका–४ मात्तिमस्थित आधारभूत स्वास्थ्य इकाईको भवन निर्माणका लागि एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने हिरामायाँ श्रेष्ठ र आठ आना जग्गा उपलव्ध गराउने पूर्णकुमारी श्रेष्ठलाई दोसल्ला र प्रमाण–पत्र सहित सम्मान गरिएको छ । जग्गादाताहरुलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राई, गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का, उपाध्यक्ष बिर्सिका राई र पूर्व उपाध्यक्ष सरीता खड्काले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप