आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नमस्ते, जय नेपाल र लाल सलाम भनेर भोट माग्छन् भुसाल

शनिबार, ०५ कात्तिक २०७९, ११ : ३१
शनिबार, ०५ कात्तिक २०७९

–भुवन कार्की
नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभातर्फ रुपन्देही १ बाट स्वतन्त्र बाम उम्मेदवार बनेका नेता घनश्याम भुसाल मंसिर ४ को निर्वाचन नजिकिँदै जाँदा जनतासँग भोट माग्न ब्यस्त छन् । त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसाललाई सत्तारुढ पाँच दलीय गठबन्धनले साथ दिएको छ ।

भुसालको दैनिक आफू निकटका एमाले तथा गठबन्धनका नेता कार्यकर्तालाई भेट्ने, परामर्श गर्ने र आमसभाहरू गरेर जनतासँग भोट माग्नमै बितिरहेको छ । रुपन्देही क्षेत्र नं. १ यसअघि ०७४ सालमा पनि एमालेका उम्मेदवार छविलाल विकले जितेको क्षेत्र हो । अहिले पनि एमालेबाट विक नै उम्मेदवार बनेका छन् ।

एमालेको स्थायी कमिटी सदस्य समेत रहेका भुसालले हालैमात्र एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । भुसाललाई मन पराउने यहाँका एमाले नेता कार्यकर्ताले उनलाई भेट्ने र परामर्श गर्ने गरेको उनी निकट मनोज रिजालले जानकारी दिए । 

रिजालका अनुसार यहाँका एमालेका कैयौं नेता कार्यकर्ता खुलेर भुसालसँग हिड्न नसके पनि आन्तरिक रुपमा भुसालको समर्थक बनेका छन् । भुसालले गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेद्वारद्धय अब्दुल रज्जाक र विश्वनाथ यादवसँगै चुनावी अभियान जारी राखेका छन् । यादव १ को (क) र रज्जाक (ख) का उम्मेदवार हुन् । यहाँ रज्जाक र यादव पनि लोकप्रिय नेता मानिन्छन् । यी उम्मेदवारसँगै भुसालले क्षेत्र नं. १ का देवदह, धकधइ, रोहिणी लगायतका गाउँमा चुनावी सभा गरिसकेका छन् ।

अरूबेला सैद्धान्तिक र नीतिगत बहस जस्तो लामो भाषण गर्ने भुसालले अहिले भने चुनावी भाषण मात्र गर्ने गरेका छन् । उनी आफूले किन एमाले परित्याग गरेको भन्ने जिज्ञासा धेरैलाई भएको हुनसक्ने ठानेर जनतालाई प्रस्ट पार्ने गरेका छन् ।

उनले एमाले पार्टी अध्यक्ष केपी ओलीकै गलत कार्यशैलीका कारण आफूले एमाले परित्याग गरेको बताउने गरेका छन् । पार्टीको नीति, सिद्धान्त र समसामयिकता विरुद्ध ओलीले व्यक्तिवादी चरित्र देखाएको र पार्टीलाई कुनै निजी कम्पनी जस्तो बनाएकाले समस्या आएको उनको तर्क छ । पार्टीमा नीति आफ्नो पास भएको तर नेतृत्व फरक तरिकाले चलेपछि विभाजन शुरु भएको उनले बताउने गरेका छन् । 

शुक्रबार बुटवलमा भएको पाँच दलीय गठबन्धनको चुनावी सभामा शीर्ष नेताहरुलाई भेट्न पुगेका भुसाललाई एमालेबाट विभाजित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि भुसालले ओलीलाई ‘साबुन पानीले धोएर सफा गराउन खोजेको तर नसकेको’ भनी टिप्पणी गरेका थिए ।

ओलीलाई सुधार्न नसकिएको भुसालले मतदाता समक्ष पनि आशय ब्यक्त गर्ने गरेका छन् । देवदहको आमसभामा भुसालले भने, ‘एमालेमा ओलीको छायाँ रहुञ्जेल अब पार्टी फुल्ने, फक्रिने, फल्नेवाला छैन ।’ ओलीले एमाले पार्टी नै ध्वस्त पार्न लागेको उनको तर्क छ ।

चुनावी कार्यक्रमहरुमा भुसालले नरम, शिष्ट र सभ्य भाषा प्रयोग गर्ने गर्दछन् । आफ्नो मन्तव्यको अन्त्यमा उनले नमस्ते, जय नेपाल र लालसलाम भनेर सम्बोधन गर्ने गर्दछन् । आम मानिसले प्रयोग गर्ने आदरार्थी शब्द ‘नमस्ते’, नेपाली कांग्रेसजनले प्रयोग गर्ने ‘जय नेपाल’ र कम्युनिष्टहरुले प्रयोग गर्ने ‘लाल सलाम’ यी तीनवटै सम्बोधन भुसालले गर्ने गरेका छन् । यी उच्चारण गरेर गठबन्धनका सबै नेता कार्यकर्तालाई उनले सम्बोधन गर्ने गरेका छन् ।  

प्रदेशसभाका उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनले भुसाल जस्तो बौद्धिक नेता यो क्षेत्रले पाउनु उचित अवसर भएको बताए । मंसिर ४ को निर्वाचनमा गठबन्धनको जीत निश्चित जस्तै रहेको उनको भनाई छ । अर्का उम्मेदवार विश्वनाथ यादवले गठबन्धनका सबै दलले इमान्दारितापूर्वक मत हाल्नुपर्ने बताए । सबैले इमानदारिता देखाए जीत सहज भएको उनले उल्लेख गरे ।

चुनावी माहोल हेर्दा यस क्षेत्रमा पाँचदलीय गठबन्धनको जित सहजै हुने निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले दाबी गरे । केसी पाँचदलीय गठबन्धनका चुनावी कमाण्डर हुन् । उनले माहोल आफूहरुको पक्षमा देखिएको बताए । तीनैजना उम्मेदवारले घरदैलो र चुनावीसभा जारी राखेका केसीले जानकारी दिए । 

करिब एकलाख मतदाता रहेको रुपन्देही १ मा देवदह नगरपालिकाका १३ वटै वडा, तिलोत्तमा नगरपालिकाका ९, ओमसतिया गाउँपालिकाका ५ वटा वडा र रोहिणी गाउँपालिका पर्दछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप