महोत्तरीका विद्यार्थी खुला चौरमा पढ्न बाध्य
महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत पाँच महिनादेखि स–साना बालबालिका कक्षाकोठा र डेस्कबेञ्च हुँदाहुँदै पनि खुला चौरमा पढ्न बाध्य छन् ।
प्रदेश सरकारले उक्त विद्यालयमा गत आर्थिक वर्ष २०७८/७९ मा भौतिक निर्माणका लागि रु ५० लाख पठाएको थियो । जनप्रतिनिधिहरू जिम्मेवार नहुँदा स–साना बालबालिका चर्को घाम, वर्षा र धुलोधुवाँको सामना गर्दै खुला चौरमा पढ्न बाध्य भएका हुन् । उक्त बजेटबाट विद्यालयमा रहेको सरस्वती मन्दिरको पर्खाल, विद्यालयको मुख्यद्वारबाट मन्दिरसम्म पुग्ने एक–दुई फिट चौडाइ भएको ढलान बाटो र करिब एक सय ५० वटा गुणस्तरहीन प्लाइ लगाएर डेस्क–बेञ्च निर्माण गरिएको छ ।
गत असारदेखि कात्तिक महिना लाग्ने बेलासम्म जिल्लामा पानी परेकाले विद्यालयमा निर्माण गरिएको डेस्कबेञ्च कक्षाकोठामै राखी बाहिरबाट ताल्चा लगाइएको छ । कक्षा कोठा छ, कमसलै भए पनि डेस्कबेञ्च पनि छन् तर विद्यार्थी भित्र छिर्न पाएका छैनन् । स–साना बालबालिकालाई खुला चौरमा र चर्को घाममा पढाउँदै गरेकी शिक्षिका कल्याणी चौधरीले विगत चार–पाँच महिनादेखि बालबालिकालाई यस्तै पढाउँदै आएको जानकारी दिइन् । उनले बालबालिका खुला ठाउँमा पढ्नुपर्दा पटक–पटक बिरामी हुने, नियमित नआउने र बर्खामा पानी परेको दिन पठनपाठन ठप्प हुने बताइन् ।
यस विषयमा प्रधानाध्यापक रंजय रायले आफूहरूलाई कति बजेट आयो, कति खर्च भयो भन्नेबारेमा केही थाहा नभएको बताए । साथै उनले प्लाइको डेस्कबेञ्च बर्खाको पानीमा बिग्रिने डरले जनप्रतिनिधिले नै चारवटा कक्षाकोठमा ती डेस्कबेञ्च राखेर ताल्चा लगाइदिएका कारण बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएको बताए । उनले नगर शिक्षा ऐनका कारण विद्यालयसँग कुनै अधिकार नरहेको र जनप्रतिनिधिले आफूखुसी गर्न थालेका कारण दिनानुदिन पठनपाठन तथा विद्यालयको वातावरणमा नकारात्मक प्रभाव परिरहेको बताए ।
नगर शिक्षा संयोजक जयकुमार साहले सो विद्यालयमा कक्षाकोठा हुँदाहुँदै बालबालिका खुला चौरमा पढिरहेको तथा चारवटा कक्षाकोठामा डेस्कबेञ्च राखिएकोबारे आफूलाई थाहा नभएको बताए । उनले यस नगर शिक्षा शाखामा तीन जनाको न्यूनतम दरबन्दीमा आफू एक्लै भएका कारण विद्यालयको अनुगमन निरीक्षणसमेत गर्न नसकिएका कारण विद्यालयमा भएको समस्याबारे आफूलाई थाहा हुन नसकेको बताए । उनले मावि पर्सापतैलीमा रहेको समस्याको तत्कालै अनुगमन निरीक्षण गरेर समाधानतिर लाग्ने प्रतिबद्धता प्रकट गरे ।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण झाले उक्त विद्यालयमा भएको कामको आफूहरूलाई केवल रु ३८ लाखको मूल्याङ्कन गरी सोही बराबरको रकम भुक्तानी गरेको बताए । उनले पनि सो विद्यालयमा त्यसरी विद्यार्थीलाई खुला चौरमा र कक्षाकोठमा डेस्कबेञ्च राखिएकोबारे तत्काल पहल गरेर विद्यार्थीको समस्या समाधान गर्ने वचन दिए । नगरप्रमुख सुरेश साह सोनारले आफूकहाँ त्यस विद्यालयको गुनासो आइसकेको र गुनासोप्रति अति संवेदनशील भएको बताउँदै तत्कालै स–साना बालबालिकालाई खुला चौरमा पठनपाठन गर्न बाध्य बनाएका सम्पूर्ण पक्षलाई बोलाएर आवश्यक अनुसन्धान तथा कारबाही गर्ने प्रतिबद्धता जाहेर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण