सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

२० वर्षपछि पहिलो पटक विश्वमा क्षयरोग संक्रमितको संख्या बढ्यो

शनिबार, १२ कात्तिक २०७९, २० : ०६
शनिबार, १२ कात्तिक २०७९

क्षयरोग (टीबी) बाट संक्रमित व्यक्तिको संख्या झण्डै २० वर्षपछि पहिलो पटक विश्वव्यापी रूपमा बढेको पाइएको छ । योसँगै गरिबहरुलाई बढी असर गर्ने यो रोगप्रति विश्वले आवश्यक ध्यान नदिएको आरोप लागेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार २०२१ मा १ करोड ६ लाख मानिसलाई क्षयरोग भएको पत्ता लागेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशतले बढी हो ।  सन् २००० देखि २०२१ अघिसम्म नयाँ संक्रमितको संख्या औसतमा २ प्रतिशतले घटेको थियो । सन् २०२१ मा क्षयरोगबाट हुने मृत्युको संख्या लगातार दोस्रो वर्ष १६ लाख पुगेको पनि डब्लुएचओले हिजो जनाएको छ । कोभिडविरुद्ध विश्वभर लकडाउन हुँदा धेरै संक्रमित रोगको उपचार गर्न असमर्थ भएका थिए । 

स्टप टीबी​ पार्टनरसिपका कार्यकारी निर्देशक डा लुसिका डिटिउले भनिन् ,‘ क्षयरोगको मृत्युदर र संक्रमण दर बढिरहँदा सन् २०२० र २०२१ मा क्षयरोगविरुद्ध लड्ने कोष दयनिय रुपमा न्युन थियो । टीबीविरुद्धको लडाईमा यति थोरै रकम किन ? के क्षयरोगले मुख्यतया गरिब देशका गरिब मानिसलाई असर गर्ने भएकाले यस्तो बेवास्ता गर्न सहज भएको हो ?’ टीबी​ एलाईन्सका अध्यक्ष मेल स्पिगेलम्यानका अनुसार कोभिडको समयमा क्षयरोग कार्यक्रमका लागि छुट्याइएको रकम कोभिडतर्फ सारिएको थियो । यसले खोपलगायत टीबी​वरुद्धको लडाईमा नयाँ उपकरणहरूको विकासमा न्युन स्रोत मात्र बाँकी रहेको उनले बताए । 

क्षयरोगले प्रायः फोक्सोमा आक्रमण गर्छ र यो थुक, खकारका काणहरुबाट सर्छ । रोगको किटाणुले स्वास्थ्य समस्याहरू देखाउनुअघि धेरै वर्षसम्म शरिरमा अव्यक्त रहन सक्छ । सिड्नी विश्वविद्यालयका क्षयरोग अनुसन्धानकर्ता प्रोफेसर जेमी ट्रिकासका अनुसार हाल टीबीको नियन्त्रण कठिन हुनुमा यसविरुद्ध प्रयोगमा रहेको बीसीजी खोप १०० वर्षभन्दा पुरानो हो र यो वयस्कहरूमा सीमित प्रभावकारिता पाइएको छ । ट्रिकासका अनुसार केही सम्भावित खोपहरु परिक्षणको अन्तिम चरणतिर छन् तर तिनलाई विकास गर्न आवश्यक लगानी भेटिरहेको छैन ।

ट्रीटमेन्ट एक्शन ग्रुप र स्टप टीबी पार्टनरसिपको डिसेम्बर २०२१ को रिपोर्ट अनुसार, सन् २०२० मा क्षयरोग अनुसन्धानका लागि विश्वव्यापी कोष रकम ९१.५ करोड डलर थियो, जुन सन् २०१८ मा संयुक्त राष्ट्र संघले तोकेको २ अर्ब डलर लक्ष्यभन्दा धेरै कम थियो । जबकि विश्वले कोभिड खोप विकास गर्न अर्बौं डलर लगानी भएको थियो । ‘सम्भवतः यो गरिबलाई लाग्ने रोग कसरी बेवास्तामा पर्छ भन्ने कुराको उत्कृष्ट उदाहरण हो । टीबीको खोपविरुद्ध विश्वका सम्पन्न भागलाई प्रभावित बनाउने रोगको जस्तो राजनीतिक दबाब र आर्थिक प्रोत्साहन छैन,’ स्पिगेलम्यानले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप