बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा एमालेका गुलाबजङ्गलाई गठबन्धनका अधिकारीको चुनौती

सोमबार, १४ कात्तिक २०७९, १० : २०
सोमबार, १४ कात्तिक २०७९

सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश सहइञ्चार्ज गुलाबजङ्ग शाह दोस्रो पटक प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । ०७४ मा सल्यान (क) बाट चुनाव जितेका उनले यो पटक त्यहाँ आफूलाई सुरक्षित नठानेपछि (ख) बाट उम्मेदवारी दिएका हुन् ।

उनले २०७४ को प्रदेशसभा निर्वाचनमा १९ हजार ६५८ मत ल्याएर नेपाली कांग्रेसका एकराज डाँगीलाई पराजित गरेका थिए । तर त्यतिबेला उनले नेकपा माओवादी केन्द्रको समेत मत प्राप्त गरेका थिए ।

एमाले विभाजनको असर र अर्कोतर्फ सत्तारुढ गठबन्धन हुँदा शाहलाई अहिले त्यति सहज देखिएको छैन । शाहको प्रतिस्पर्धीको रूपमा गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश अधिकारी चुनावी मैदानमा छन् । अधिकारी यसअघि शारदा नगरपालिकाको प्रमुख थिए । उनी कांग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति पनि हुन् ।

७९ हजार ३३ मतदाता रहेको यस क्षेत्र अन्तर्गत शारदा नगरपालिकाको वडा नम्बर ५ देखि १५ सम्म, वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ देखि १२ पर्दछन् । यस्तै कालिमाटी, त्रिवेणी, छत्रेश्वरी, कपुरकोट गाउँपालिका पनि यही क्षेत्रमा पर्दछन् ।

गत वैशाख ३० को स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतअनुसार यो क्षेत्रमा एमालेको १६ हजार २२३ मत छ । यस्तै, कांग्रेसको १६ हजार १२७, माओवादी केन्द्रको ११ हजार ३२९ र एकीकृत समाजवादीको ५ हजार १७६ मत छ ।

सत्तारुढ गठबन्धनका तीन दलको मत जोड्दा ३२ हजार ६३२ हुन्छ । यो आधारमा एमालेको मतभन्दा गठबन्धनको मत दोब्बर बढी देखिन्छ ।

स्थानीय तहको मत परिणामअनुसार एमालेका शाहलाई चुनाव जित्न निकै कठिन हुने देखिन्छ । शाह–अधिकारीबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । यहाँ अहिले एमालेको सांगठनिक अवस्थासमेत कमजोर छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन पाँचौंमा आबद्ध भएर राजनीतिमा होमिएका एमाले नेता शाह पार्टीका पोलिटब्युरो सदस्यसमेत हुन् । उनी ०५७ सालमै एमालेको सल्यान सचिव भएका थिए । गठबन्धनका उम्मेदवार अधिकारी भने ०४७ सालदेखिनै कांग्रेसको राजनीतिमा आबद्ध भएर होमिएका थिए ।

अधिकारी र शाह दुवैले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । ‘यहाँ गठबन्धनविरुद्ध नै गठबन्धन छ, माथि जे–सुकै भए पनि जनतामा गठबन्धन हुँदैन,’ शाहले भने, ‘यही नै मेरो जित्न सक्ने आधार हो । म अहिले चुनावी अभियानमै छु भने उहाँहरू गठबन्धन मिलाउन व्यस्त हुनुहुन्छ ।’

अधिकारी भने गठबन्धन घटकको राम्रो प्रभाव रहेको कारण पनि आफूले जित्ने दाबी गर्दछन् ।

सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणकुमार शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका डण्डवीर पुन, जनता समाजवादी पार्टी नेपालका अशोक रेउले र स्वतन्त्रबाट निर्मल सिंह उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप