शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी–१ मा २०६४ सालदेखिका प्रतिस्पर्धी

ज्ञवालीलाई संगठनको आड, भण्डारीलाई गठबन्धनको भर
मङ्गलबार, १५ कात्तिक २०७९, १३ : ३३
मङ्गलबार, १५ कात्तिक २०७९

गुल्मी क्षेत्र नं १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी पुरानै प्रतिस्पर्धी हुन् । २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेका ​ज्ञवाली नेकपा एमालेको उपमहासचिव तथा पटक पटक मन्त्री भएका नेता हुन् भने भण्डारी नेपाली कांग्रेसको महाअधिवेशन उपसभापतिमा उम्मेदवार थिए ।

दुवै पार्टीका प्रभावशाली नेताहरू एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रेको यो पहिलो पटक भने होइन । २०५६ सालदेखि ज्ञवाली मैदानमा छन् भने भण्डारी २०६४ देखि मैदानमा गएका हुन् । यो बीचमा तीन पटकको निर्वाचन ज्ञवालीले जितेका छन् भने एक निर्वाचन भण्डारीले जितेका छन् ।

दुई जनाको प्रतिस्पर्धामा २०६४ र ०७४ को निर्वाचनमा ज्ञवालीले जितेकोमा २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने भण्डारीले बाजी मारेका थिए । २०६४ सालदेखि दुई नेताबिच मित्रवत् रूपमा चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । आफूहरू जसले जिते पनि विकासको लागि मित्रवत् रूपमा अगाडि जाने पटक पटक सार्वजनिक गरेका छन् । 

२०७४ सालमा वाम गठबन्धनको आधारमा ज्ञवालीले भण्डारीलाई पराजित गरेको थिए । अहिले भने माओवादीको साथ भण्डारीलाई रहेको छ । ज्ञवालीलाई एमालेको संगठनको भर रहेको छ । अन्य क्षेत्रको तुलनामा यहाँ एमालेभित्र आन्तरिक किचलो निकै कम छ । अधुरा कामहरू पुरा गर्ने बाचाका साथ ज्ञवाली मतदाता माझ पुगिरहेका छन् । 

एउटै गाउँपालिका घर भएका एमाले नेता ज्ञवाली र  नेपाल सरकार पूर्व मुख्य सचिव तथा चीनको लागि पूर्व राजदूत लीलामणि पौडेलको बिचको विगतको अन्तरद्वन्द्वलाई नेपाली कांग्रेसले अहिले  लाभको रूपमा लिएको स्थानीयहरू बताउँछन् । 

केपी ओलीको पालामा ज्ञवालीको कारणले आफूलाई राजदूतबाट फिर्ता बोलाएको रिस फेर्न अहिले गाउँ गाउँ पौडेल पुगेका छन् । माओवादी केन्द्रतिर लागेका पौडेलले गठबन्धनलाई खुलेर साथ दिँदा भण्डारीलाई थप मद्दत हुने आकलन गरिएको छ । उक्त क्षेत्रको ‘ख’मा गठबन्धनबाट माओवादी नेता सुदर्शन बरालको बलियो साथ भएकोले भण्डारी र ज्ञवालीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

यस्तो छ अङ्कगणित

२०७४ को निर्वाचनमा ज्ञवाली ७ हजारभन्दा बढी मतले विजयी भएका थिए । ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत पाएका थिए ।

गत निर्वाचनमा बाम एकताले जितेका ज्ञवाली अहिले आफ्नो क्षेत्रमा एमालेका मात्रै भरमा छन् । भण्डारी भने सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा समेतको साथमा अगाडि बढेका छन् । ती दलको मत भण्डारीलाई जाँदा चुनावी गणित भण्डारीको पक्षमा देखिन्छ । 

तर नेपाली कांग्रेसको संस्थापन इतर पक्षमा रहेका भण्डारीलाई आफ्नै पार्टीका नेताहरूले कति साथ दिन्छन्, त्यो भन्न सकिने अवस्था नभएको एक माओवादीका जिल्ला स्तरका नेताले रातोपाटीलाई बताए । 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा गुल्मी–१ मा एमालेले ३५ हजार ७०१ मत प्राप्त गर्दा कांग्रेसले ३१ हजार २९४ मत पाएको थियो । माओवादीले ४ हजार ९७० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले १ हजार ६ सय र नेकपा एसले ४९७ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनको मत यो क्षेत्रमा ३८ हजार ३६१ छ, जुन एमालेको भन्दा २ हजार ६ सय ६० बढी हो ।  

स्थानीय तह निर्वाचनमा ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको, चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय केही कमजोर बनेको, १२ स्थानीय तहमध्ये मध्ये ३ वटामा खुम्चिएको कारण ज्ञवालीलाई रोक्न सकिने तर्क कांग्रेस महाअधिवेशन प्रतिनिधि महेन्द्र भण्डारीले गरे ।  

तर उनले भने जस्तै सहज भने नेपाली कांग्रेसभित्र पनि भण्डारीलाई नभएको ठान्नेहरू पनि छन् । किनकि कांग्रेस नेता भण्डारी सभापति शेरबहादुर देउवाका खरो आलोचकका रूपमा परिचित छन् । देउवाको समूहका कार्यकर्ताहरू यहाँ भण्डारीलाई कति सहयोग गर्दछन् भन्नेमा भर पर्ने गठबन्धन दलका नेताहरूको बुझाई छ । 

यो क्षेत्रको प्रदेशसभा ‘क’ मा कांग्रेसका धनेन्द्र कार्की र एमाले नेता चिन्तामणि पाण्डेय बीच प्रतिस्पर्धा हुँदैछ । ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमालेका फर्शुराम पाण्डेय प्रतिस्पर्धामा छन् । प्रदेश १ (क) मा ५७ हजार ५ सय ७९ र १ (ख) मा ६१ हजार ७ सय ९ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप